बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा सडक मर्मतलाई प्राथमिकतामा राख

बिहिवार , श्रावण २८, २०७८

मनसुन सक्रिय भएपछि निरन्तर वर्षातको कारण सिन्धुलीका सडकहरुको अवस्था बेहाल छ । ठाउँठाउँमा सडक बिग्रदा यातायात संचालनमै समस्या देखिएको छ भने यात्रुहरु कष्टकर र जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् । प्राकृतिक विपत्तिका कारण सडक भत्कनु स्वभाविक हो तर जिल्लामा धेरै सडकहरु गुणस्तरहिन छन् । पुर्वाधार निर्माणको समय र निर्माण पश्चात स्थानिय सरकार, सडक डिभिजन लगायत जिम्मेवार निकायबाट अनुगमन भएपनि भत्ता पचाउनकैलागि मात्र अनुगमन हुने गरेको भन्दै स्थानिय आक्रोशित बनेको अवस्था छ ।

सडकको गुणस्तरीयता जाँच लगायत प्राविधिक पक्षलाई नजरअन्दाज गर्दै ठेकेदार कम्पनिको हो मा हो मिलाउने प्रवृद्धिले गुणस्तरहिन कामले प्रोत्साहन पाइरहेको छ । स्थानिय सरकारको ठूलो लगानी सडक निर्माणमा खर्च भएपनि टिकाउ काम नहुँदा जिल्लामा क्षणिक विकासमात्रै भइरहेको छ । तसर्थ, पुर्वाधार निर्माणको सवालमा जिम्मेवार निकाय गम्भिर भएर गुणस्तरहिन काममा कुनै पनि सम्झौता गर्नुहुदैँन ।

प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीमाढीमै स्थापना भइसकेको अवस्थामा सडक डिभिजनले जिल्लाभित्रका भत्किएका सडकहरुको मर्मतमा विशेष पहल गर्न आवश्यक छ । जिल्लाका ग्रामीण सडक देखि राजमार्गकै केहि खण्ड भताभुंग छ ।

वर्षातका कारण कालोपत्रे उप्किएको छ भने खाल्डाखुल्डि पनि धेरै भएका कारण सडक जोखिमपुर्ण बनिरहेको छ । तसर्थ, जिल्लाको सडक संजाललाई मजबुत बनाउनकालागि सम्बन्धित सबै पक्षले गहन अध्ययन गरेर दिर्घकालिन समाधान निकाल्न जोड दिनुपर्छ । अतः जिल्लामा भत्किएका सडकहरुको तत्काल मर्मत गर्दै दिर्घकालिन विकासलाई सम्बन्धित निकायले प्राथमिकता दिनुपर्छ ।

प्रतिक्रिया