आइतबार सिन्धुलीको कमलामाई नगरपालिका ९ स्थित भिमानमा तीर्थालुको भिडका कारण केहि घण्टाकालागि विपी राजमार्गनै अवरुद्ध हुन पुग्यो । जिल्ला विपद् कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार मठमन्दिरमा भिड हुन नदिन मन्दिर प्रवेशमा रोक लगाएपछि हजारौँको संख्यामा रहेका तीर्थालुलाई फर्काइएको थियो । त्यस्तै, गत सोमबारपनि जिल्लाका शिवालयहरुमा भिडभाड देखिएको थियो । सूचना प्रवाह नहुँदा शिवालयमा भिड देखिनु स्वभाविक हो ।
केन्द्रले गरेको निर्णयहरु नागरिकसम्म नपुग्दा कोरोना रोकथाम र नियन्त्रणको प्रयास सोचे अनुसार सफल हुन सकेको छैन । आइतबार भिमानमा प्रहरीले तीर्थालुलाई रोक लगाएपनि हजारौँको संख्यामा रहेको भिडले कोरोना संक्रमणको जोखिम बढाएको भिमानवासिले गुनासो गरेका छन् । यता, तीर्थालुहरु पनि जिल्लाका निर्णयमा बेखबर हुँदा आफूहरुले दुख पाएको भन्दै आक्रोश पोखेको अवस्था थियो । सूचना प्रवाहमा जिल्लाका जिम्मेवार निकायको सुस्तताले कोरोना संक्रमणको जोखिम बढाएको छ । तसर्थ, माइकिङ, संचारमाध्यमको सहयोग वा अन्य जुनसुकै माध्यमबाट भएपनि सूचना प्रवाह गर्न सम्बन्धित निकायले कञ्जुस्याईँ गर्नुहुदैँन ।
कोरोनाले विश्वलाई नै आक्रान्त बनाएको धेरै समय भइसकेको छ । तर, अहिले पनि कोरोनाको जोखिमबाट बच्ने उपाय, आईशोलेसनमा ख्याल गर्नुपर्ने कुराहरु लगायत कोरोनाबाट बच्ने न्युनतम सावधानिका बारेमा समेत नागरिक सचेत छैनन् । त्यसैले, जिल्लाका जिम्मेवार निकायले नागरिकलाई सचेत गराउकालागि व्यापक प्रचारप्रसारमा ध्यान केन्द्रित गर्न जरुरी छ । अतः सूचना प्रवाहमा कञ्जुस्याई नगरि कोरोनाको रोकथाम र नियन्त्रणमा सबैको एक्यबद्धता आजको आवश्यकता हो ।