शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

२०७८ साल साउन २६ गते मंगलबारको राशिफल र मौसम

मंगलवार , श्रावण २६, २०७८

वि.सं.२०७८ साल साउन २६ गते मंगलबार । ईश्वी सन् २०२१ अगष्ट १० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– द्वितीया, बेलुकी ०६ बजेर १० मिनेट उप्रान्त तृतीया । नक्षत्र– मघा, बिहान १० बजेर ५४ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– परिध, बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त शिव । करण– बालव, बिहान ०६ बजेर ३० मिनेट उप्रान्त कौलव, बेलुकी ०६ बजेर १० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काल योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४४ मिनेट । दिनमान ३३ घडी ०१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- काममा केही अलमल हुन सक्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। परिस्थितिवश लक्ष्यमा पुग्न विलम्ब हुनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। समाजबाट सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अप्रिय समाचारले निराश तुल्याउन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला। हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। परिस्थिति अलि प्रतिकूल रहला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि आंशिक लाभ मिल्नेछ। आर्थिक लेनदेनमा भने अलि होसियार रहनुहोला।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने समय छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला, फाइदा हुनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूकाेे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा पनि परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुने समय छ। सानाे प्रयासले नै काम बन्नेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। प्रयत्न गर्दा यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- मेहनतअनुसार राम्रै परिणाम प्राप्त हुनेछ। आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। थोरै लगानीबाट पनि लाभ उठाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिसमेत अनुकूल बन्दै जानेछन्। तर, अधिक फलको आकांक्षाले केही समस्या समेत निम्त्याउन सक्छ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्ने देखिन्छ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर नयाँ काम प्रारम्भ गर्ने बेला छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। सानो प्रयत्नले अप्ठ्यारो स्थितिबाट जोगाउन सक्छ। आफ्नो वर्चस्व पनि बढ्नेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ। नियमलाई बेवास्ता गर्दा समस्या आउन सक्छ। वादविवादमा अघि नसर्नुहोला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले सताउलान्। पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ। पहिलेका कमजोरी सुधार्ने मौका पाइनेछ। स्वास्थ्य भने प्रतिकूल रहननेछ। आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा असमझदारी निम्त्याउनेछ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। तापनि, पहिलेको सफलताले उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन गर्न सकिनेछ। सानाे प्रयासले नै काम बन्नेछ। भेटघाट गर्न केही समय प्रतीक्षा गर्नुहाेला।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो परे पनि मिहिनेतकाे प्रतिफल प्रप्त हुनेछ। अधिकारका लागि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। तापनि मिहिनेतले नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ। भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। परिस्थितिले नयाँ कर्मतर्फ अग्रसर भइनेछ।

तपार्ईँको दिन शुभ रहोस् ।

०७८ साल साउन २६ गते मंगलबारको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका अधिकांश भूभागमा सामान्य देखी पूर्ण बदली रहेको छ साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा वर्षा भइरहेको छ।

मंगलबार दिउँसो :- देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

मंगलबार राती :- देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

विशेष मनसुन बुलेटिन

मिति २०७८/०४/२७ बाट बिस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने र सो प्रणालीका कारण देशभरी मनसुन सकृय भई बिहिबार देखि केही दिन धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

बिहिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको तथा शुक्रबार, शनिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनि प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसम पूर्वानुमान महाशाखाले उक्त प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध छ।

प्रतिक्रिया