सिन्धुलीमा सुख्खा पहिरो खस्दा बिहान साढे पाँच बजेबाट सडक जाम भएको छ । जिल्लाको गोलन्जोर गाउँपालिका १ स्थित कलिया क्षेत्रमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । सडक विभाग, ठेकेदार कम्पनि लगायत ग्वाल्टार प्रहरी चौकीबाट खटिएको टोलीले पहिरो पन्छाइरहेको सिन्धुली प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभएको छ । उहाँका अनुसार मध्यपहाडी लोकमार्ग निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनको डोजर प्रयोग गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।
अवरुद्ध सडकको माटो पन्छाउने काम बिहानै देखि भएपनि सुख्खा पहिरो झरिरहेकोे हुँदा सडक खुलाउन नसकिएको डिएसपि लामाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन सय देखि चार सयको हारहारीमा गाडीहरु जाममा परेका छन् । उहाँले भन्नुभयो, ‘सडक खुलाउन जनशक्ति परिचालन गरिएको छ । तर, सुख्खा पहिरो झरिरहेको हुँदा पहिरो झर्न रोकिएपछि मात्र बाटो खोलिनेछ ।’
सडक अवरुद्ध हुँदा हजारौँ यात्रुहरु अलपत्र परेको माओवादी केन्द्र गोलन्जोर गाउँपालिकाको इन्चार्ज केपी पोख्रेलले बताउनुभयो । उहाँका अनुसार वडा नं १ कालिया क्षेत्रदेखि वडा नं ३ ग्वालटारसमम गाढीहरुको लाईन रहेको छ । हजारौँको संख्यामा रहेका यात्रुहरु ग्वालटार क्षेत्रमा आएर खाजा नास्ता गरेको पोख्रेलले बताउनुभयो ।
तराई छिचोलेर बनेको पूर्व–पश्चिम (महेन्द्र) राजमार्गको विकल्प मानिएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल–भारत सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ । यो लोकमार्गले मध्य पहाडका २४ जिल्ला र २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्षरुपमा फाइदा पुग्नेछ ।
मध्य पहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ । त्यस्तै काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ ।
यो मार्गको मध्यविन्दू नुवाकोटको पाती भन्ज्याङलाई बनाइएको छ । शुरुमा काठमाडौं जोड्ने भनिए पनि पछि काभ्रेको पाँचखालबाट सिन्धुपाल्चोक हुँदै नुवाकोटतिर लगिएको हो ।