शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कमलामाई नगरपालिका नगर न्यायिक समितिले एक वर्षमा २० वटा विवाद समाधान गर्‍यो

शुक्रवार , श्रावण ८, २०७८

सिन्धुली– कमलामाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय सिन्धुलीको न्यायिक समितिले एक वर्षको अवधिमा २० वटा विवाद निरुपण गरेको छ । आर्थिक वर्ष ०७७/७८ मा कमलामाई नगरपालिकाको न्यायिक समितिले २० वटा विवाद निरुपण गरेको न्यायिक समितिका संयोजक मन्जु देवाकोटाले बताउनुभयो ।

एक वर्षको अवधिमा न्यायिक समितिमा ५३ वटा उजुरी परेको थियो । जसमा २० वटा विवाद मेलमिलापको माध्यमबाट समाधान गरेको संयोजक देवकोटाले बताउनुभयो । ३३ वटा विवाद मेलमिलापकै माध्यमबाट छलफल गराउनका लागि विचाराधीन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

विचाराधीन ३३ वटा विभिन्न प्रकृतिका रहेका छन् । न्यायिक समितिमा जग्गाको साध सिमानाको विवाद, घर जग्गा मिचि घर बनाएको, लेनदेन, हातपात गरि गाली गलौज गरेको, बाटो खन्ने कार्य रोकी पाउन, घर निर्माण कार्य गर्न नदिएको सम्बन्धि, घरमा जाने बाटो नदिएको, सार्वजनिक जग्गा मिचेको, कोठा खालि गरि पाउ, मन्दिर जोगाई पाउन, घर निर्माण लागत रकम असुली गरि पाउ, कामदारको ज्याला दिलाई पाउ, चर्पि निर्माण कार्य रोक्का गरि पाउ, निर्माणधीन घर रोक्का गरि पाउ, विद्यालय जाने बाटो बन्द गरिएकोमा खुलाई पाउ, छानबिन गरि आवश्यक प्रकृयालाई अगाडी बढाई पाउ (स्कुल प्रकरण) लगाएतका उजुरी परेको न्यायिक समितिले जनाएको छ ।

कमलामाई नगरपालिकामा सामाजिक सद्भाव, मेलमिलाप, शान्ति र अमन चयनमा अभिवृद्धि गर्न, नगरबासी जनतालाई अदालत धाउदा हुने आर्थिक व्यय भार, अनुत्पादक खर्च, दुःख हैरानीलाई कमि गर्नको लागि न्यायिक समितिले काम गरिरहेको संयोजक देवकोटाले बताउनु भयो ।

स्थानीय स्तरबाट मेलमिलापको प्रकृयाबाट जनतालाई परेको पीर मार्काको उजुरीमा विवाद निरुपण गरि न्यायमा पहुँच र न्याय प्रक्रिया सुलभ र सहज हुने अभिप्रायले स्थानिय सरकार सचालन ऐन २०७४ को दफा ४७ बमोजिम न्यायिक समितिको क्षेत्राधिकार भित्र पर्न आएका मुद्धाहरु कमलामाई नगरपालिका नगर कार्यापालिकाको न्यायिक समितिले दुवै पक्षहरुलाई झिकाई अधिकतम प्रयत्नबाट मेलमिलाप गराउन लगाई विवाद समाधान गर्दै आएको न्यायिक समिति संयोजक देवकोटाले बताउनुभयो । साथै उहाँले नगरभित्र देवानी प्रकृतिका कुनै पनि विवाद भए न्यायिक समितिमा आउन आग्रह समेत गर्नु भयो ।

प्रतिक्रिया