शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

२०७८ साल साउन ०५ गते मंगलवारको सिन्धुलीका मुख्य समाचार हरु

बुधवार , श्रावण ६, २०७८

महिला संघ सिन्धुलीको महिला सहभागिता व्यापक बनाउन माग

सिन्धुली– नेपाली काँग्रेसको भातृ संघ नेपाल महिला संघ, जिल्ला कार्यसमिति सिन्धुलीको मंगलवार आसन्न काँग्रेस महाधिवेशनको पूर्व सन्ध्यामा बैठक तथा वृहत्तर भेला सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।विविध कारणले गर्दा लामो समयपछि महाधिवेशनको पूर्व सन्ध्यामा बसेको बैठकमा महाधिवेशन कसरी सफल बनाउने र महिलालाई बृहत्तर रुपमा पार्टी नेतृत्वमा कसरी सामेल गराउन सकिन्छ भन्ने विषयमा आफूहरुले छलफल गरेको नेपाल महिला संघ सिन्धुलीका सभापति गंगा दाहालले बताउनुभयो । गाउँ–गाउँमा सक्रिय भूमिका निर्वाह गरेका काँग्रेसमा आस्था राख्ने महिलालाई नेतृत्वमा स्थापित गर्न सके समाजमा रहेको ठूलो लैङ्गिक विभेद अन्त्य हुने,महिलाको सक्रियता र अधिकार संस्थागत गर्न सकिने नेतृ सभापति दाहालले बताउनु भयो ।

यसै बिच मंगलवार नेपाल महिला संघ जिल्ला कार्यसमितिको आयोजनामा नौ वटा स्थानिय तहको अगुवा महिला भेला गरि आसन्न अधिवेशनमा हरेक तह र तप्कामा महिला सहभागिता ५१ प्रतिशत साथै पदाधिकारीमा समान नेतृत्व प्रदान गराउन नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्ज्वल प्रसाद बराललाई दबाब स्वरुप ज्ञापन पत्र बुझाइएको छ । यो विषय कार्यान्वयन यथाशिघ्र हुने भन्दै सभापति दाहालले विश्वास व्यक्त गर्नुभयो ।महिलाहरु केवल महिलामात्र भएर होइन सुझबुझ, सक्रियता र राजनीतिक विचारकै आधारमा पार्टी नेतृत्वमा स्थापित हुनसक्छ्न भन्दै नेपाल महिला संघ सिन्धुलीकी सचिव सीता तामाङले पार्टीको महाधिवेशन सफल बनाउन महिला संघले भरपुर सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा महिला संघ सिन्धुलीकी सभापति गंगा दाहाल,सचिव सीता तामाङ, नेतृ शुशीला थिङ लगायत सबै स्थानीय तहका सक्रिय महिला कार्यकर्ताहरुको उपस्थिति रहेको स्वस्तिका बख्रेलले जानकारी दिनुभयो ।

चँदाह नदिमा आएको बाढीले झोलुँगे पुल भत्कियो

सिन्धुली – चँदाह नदिमा आएको बाढीले झोलुँगे पुल भत्काएको छ । बाढीले तिनपाटन गाउँपालिका १ र २ जोड्ने झोलुंगे पुल भत्काएको हो । सोमबार राती आएको अविरल वर्षाको कारण चँदाह नदिमा आएको बाढीले निर्माणधीन पुल भत्किाएको तिनपाट गाउँपालिका १ का वडा अध्यक्ष गोविन्द राउतले बताउनुभयो । उहाँका अनुसार चँदाहा नदीमा आएको बाढीले धार परिवर्तन गर्दा निर्माणधीन पुलको पिलर भत्किएको हो ।

नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय सिन्धुलीको समन्वयमा उपभोक्ता समिति मार्फत निर्माण भईरहेको ११९ मिटर लामो उक्त फलामे पुल डोलिडारको ८८ लाख १७ हजार ८ सय ९१ रुपैंया लागत र स्वीस रेडक्रसको प्राविधिक सहयोगमा निर्माण भईरहेको थियो ।वि.सं. २०७६ जेठ १७ गते सम्झौता गरिएको उक्त पुल डोलिडारको क्षेत्रगत कार्यक्रम मार्फत निर्माण सुरु भएको थियो ।२०७८ असार मसान्तमा निर्माणको काम सम्पन्न गर्नुपर्ने भए पनि लकडाउनका कारण निर्माण सम्पन्न हुन ढिलाई भएको अध्यक्ष राउतले बताउनुभयो । १ सय २० मिटर लम्बाई रहेको उक्त पुल निर्माण सम्पन्न भएपछि करिब ३ सय घरधुरी स्थानिय लाभान्वित हुनेछन् ।

सिन्धुलीमा मंगलबार थप १९ जनामा कोरोना संक्रमण

पुष्टि

 

सिन्धुली –सिन्धुलीमा मंगलबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको अनुसार ७ जना महिला र १२ जना पुरुष गरि १९ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ५ सय ८९ पुगेको छ ।यस्तै हाल होम आईसोलेसनमा ३ सय ४२ जना र सस्थागत आईसोलेसनमा १२ जना गरि ३ सय ५४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । यस्तै हाल सम्म २ हजार १ सय ९७ जना संक्रमित उपचारपछि स्वस्थ भएका छन् भने ३८ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया