शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

ऐतिहासिक स्थल सिन्धुलीगढीको युद्ध संग्रालय साउन १४ गते उद्घाटन

मंगलवार , श्रावण ५, २०७८

सिन्धुली – ऐतिहासिक स्थल सिन्धुलीगढीमा युद्ध संग्रालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यहि साउन १४ गते उद्घाटन गर्ने गरि युद्ध संग्रालयको काम भइरहेको कमलामाई नगरपालिकाले जनाएको छ । २०७३ कार्तिक २४ गते पुर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले युद्ध संग्रालयको शिलान्यास गरेसँगै निर्माणले तीव्रता पाएको संग्रालयको निर्माण कार्य हाल अन्तिम चरणमा पुगेको हो ।

भवन निर्माण तथा संरचनाको काम पुरा भइसकेको छ । हाल मुर्ति जडान, पुस्तकालय व्यवस्थापन लगाएत युद्ध कालमा प्रयोग भएको हातहतियार संकलन गर्ने काम भइरहेको कमलामाइ नगरपालिकाका सुचना अधिकारी निर्मल लामाले बताउनुभयो । करिब चार करोड पचास लाख रुपैयाँ बजेटमा युद्ध संग्रालय निर्माण भएको बर्दबहादुर गणले जनाएको छ ।

इस्ट इण्डिया कम्पनीका सेनालाई पराजित गरि ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी किल्लामा नेपाली सेनाले युद्ध संग्रालय बनाई ऐतिहासिक झल्को दिने संग्रालय बनाउन लागेको हो । युद्ध संग्रालयमा नेपालको रक्षा गर्न विरपुर्खाहरुले प्रयोग गरेका सम्पुर्ण सामाग्री रहने छ । यस्तै युद्ध संग्रालयमा विरपुर्खाले प्रयोग गरेका भाडा, युद्धमा सहभागि भएका योद्धाहरुको शालिक, सिन्धुलीगढीको चलचित्र समेत हेर्न मिल्ने बनाइएको कमलामाई नगरपालिकाले जनाएको छ । युद्ध संग्रालयमा बनाइएको शालिक, हातहतियार, पुस्तक लगाएतको सजावटको काम बाँकी रहेको सूचना अधिकारी लामाले बताउनुभयो ।

इतिहासको जगेर्ना गर्दै युवापुस्तालाई इतिहासको महत्व बुझाउनका लागि सिन्धुलीगढी र यहाँ बन्ने युद्धसंग्रालयले महत्वपुर्ण भुमिका खेल्ने ऐतिहासिक स्थल सिन्धुलीगढीका अन्वेषक तथा नेपालको इतिहासमा सिन्धुलीगढी पुस्तकका लेखक सागरकुमार ढकालले बताउनुभयो । कमलामाई नगरपालिका ३ मा रहेको सिन्धुलीगढीमा पर्यटन भित्र्याउन संग्रालयले महत्वपूर्ण भुमिका खेल्ने कमलामाई नगरपालिका जनाएको छ । गढीमा रानीदरबार, आडाबाट ठुलो गढी सम्मको बाटो र युद्ध संग्रालय निर्माण भएपछि धरै पर्यटकले सिन्धुलीगढी दरबार क्षेत्र अवलोकन गर्ने र वार्षिक ३ करोड सम्म आम्दानी हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ ।

नेपाल एकिकरणका बिं. सं. १८२४ असोज १५ गते सिन्धुलीगढीको युद्धमा काठमाण्डौ कब्जा गर्न ईष्टईण्यिा कम्पनिका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएर बिरासत कमाएको इतिहास सिन्धुलीगढीले बोकेको छ ।

वि.स १८२४ कातिक २४ गते इस्ट इण्डिया कम्पनिका कप्तान किनलोकनको नेतृत्वमा आएको २ हजार चार सय अंग्रेजी फौजलाई राजा पृथ्वीनारायण शाह फौजका बंशु गुरुङको नेतृत्वको नेपाली फौज सिन्धुलीगढीबाट पराजित गरी भगाएको इतिहास रहेको छ । जतिबेला झण्डै एक हजार ६ सय अग्रेज सेनाहरु हताहत भएका थिए । अग्रेजहरु विरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अंग्रेजहरुको पहिलो पराजय पनि यहि सिन्धुलीगढीबाट नै भएको थियो ।

वि.सं.१३६७ मा सिम्रौनगढका (डोयहरु) सेनाहरुले काठमाडौँमा ब्यापक लुटपाट गरी वनेपा हुँदै फकिर्दा सिन्धुलीगढीको बाटो भएर विदेह राज्य (जनकपुर–सितामाढी) फकिर्एका थिए भन्ने ऐतिहासिक प्रमाण भएको खोजकर्ताहरुले दावी गरेका छन् जुन प्रमाणले पनि त्यस समयमा सिन्धुलीगढीको बाटो प्रयोग भएको प्रमाणित हुन्छ ।

प्रतिक्रिया