देशभर कोरोना महामारिका कारण इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । अनलाईन मार्फत सम्पुर्ण काम गर्नु पर्ने अवस्था छ । शैक्षिक संस्था देखि अधिकांश कार्यालयको काम इन्टरनेटकै माध्यमबाट संचालन भइरहेको छ । तर, सिन्धुलीमा इन्टरनेटको अवस्था दयनिय छ । उपभोक्ताले पर्याप्त शुल्क तिर्दा समेत इन्टरनेटको गति सुस्त छ । नेपाल बिद्युत प्राधिकरण, सिन्धुली वितरण शाखा र इन्टरनेट प्रदायक कम्पनिहरुको सेवा उस्तै छ । छिनछिनमै विद्युत कटौति भइरहन्छ भने इन्टरनेटको गति पनि निकै सुस्त छ । उपभोक्ताको अधिकार हनन् गर्दै जिल्लाका इन्टरनेट प्रदायक कम्पनिले वर्षौँदेखि चर्को शुल्क लिएर गुणस्तरहिन इन्टरनेट वितरण गर्दै आएका छन् ।
तर, जिल्ला प्रशासन, स्थानिय सरकार लगायत जिम्मेवार निकाय भने यो बेथितिसँग परिचित भएपनि मौन बसिरहेका छन् । क्षमता भन्दा बढि ग्राहक बनाएर गुणस्तरहिन सेवा दिदैँ आएका इन्टरनेट प्रदायक कम्पनिलाई न कसैले खबरदारि गरेका छन् न त कुनै कार्वाही नै । इन्टरनेट प्रदायक कम्पनि पनि जिम्मेवार निकायको मौनताको फाइदा उठाउदैँ उपभोक्तालाई पिडा थपिरहेका छन् । इन्टरनेट सुस्तहुँदा उपभोक्ताहरुमा चरम असन्तुष्टि देखिएको छ । जिल्लामा इन्टरनेट कम्पनिले ‘खाए खा नखाए घिच’ भन्ने व्यवहार लादिरहेका छन् । तसर्थ, इन्टरनेट सेवा प्रदायकप्रति उपभोक्ताको चरम आक्रोश बढिरहेको हुँदा जिम्मेवार निकायले छलफल गरि आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।
पढाईकालागि भनेर जडान गरिएको इन्टरनेट प्रयोगविहिन हुँदा विद्यार्थीहरुको पढाई पनि प्रभावित भएको अवस्था छ । इन्टरनेट सेवा प्रदायकले पनि ग्राहक मात्र बढाउने उद्धेश्य लिएपछि सेवा झनै खस्किएको छ । क्षमता भन्दा बढि ग्राहक बढाएर भएका ग्राहकलाई गुणस्तरहिन सेवा दिने कम्पनिलाई छलफलमा बोलाएर समस्याको समाधान खोज्नतर्फ सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ । जिल्लाको सदरमुकाममै इन्टरनेटको दुर्अवस्था छ । अन्य पालिकामा कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ । अतः जिल्ला प्रशासन, स्थानिय तह लगायत सम्बन्धित निकायले इन्टरनेट प्रदायकको मनोमानिलाई दुरुत्साहन गर्न कडा कदम चाल्न ढिलाई गर्नुहुदैँन