शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको कनपा र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

शुक्रवार , श्रावण १, २०७८

काठमाडौं – काठमाडौं विश्वविद्यालय र कमलामाई नगरपालिकाबीच सभझदारीपत्रमा हस्ताक्षर भएको छ । नगरको विद्यालय शिक्षामा शैक्षिक नेतृत्व विकास, सहभागितामूलक सामुदायिक संजाल सुदृढीकरण तथा शिक्षामा समता र समावेशिकरण हासिल गराउने प्रयोजनार्थ NICfor School Leaders Towards Equity and Inclusion Project समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारी पत्रमा काठमाडौ विश्वविद्यालयका सामुदायिक परिचालन महाशाखाका सल्लाहकार प्रा.डा. बालचन्द्र लुईटेल र कमलामाई नगरप्रमुख खड्गबहादुर खत्रीले संयुक्तरुपमा हस्ताक्षर गर्नु भयो ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै नगरप्रमुख खत्रीले भन्नु भयो, “कमलामाई नगरपालिकाको समग्र शैक्षिक उन्नयनमा यो परियोजना कोशेढुंगा सावित हुनेछ ।”

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले संस्था स्थापनाकालदेखि समुदायसँगको सहकार्यबाट सञ्चालित हुँदै आएको र यो परियोजनाले समुदायसँग थप नजिक पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।

परियोजना संचालनबाट नगर क्षेत्र अन्तर्गतका सामुदायिक विद्यालयहरुमा कार्यरत ३० जना प्रधानाध्यापकहरुले करिव २७ महिनासम्म शैक्षिक नेतृत्व विकास कार्यक्रममा सरिक भइ नेतृत्व क्षमता विकास गर्ने अवसर प्राप्त हुने कुरा काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिंगका डीन प्रा.डा. मनिष पोखरेलले बताउनु भयो ।

त्यसैगरी, परियोजनाले नगरपालिकाको शैक्षिक नेतृत्वकर्ताहरुमा सामुदायिक संजाल सुदृढीकरण , सूचना तथा प्रविधी सम्वन्धी सक्षमता विकास लगायत NIC Hub मा आवद्ध भइ नेतृत्व क्षमता विकास गर्ने र अन्तर्देशीय अनुभव आदान प्रदानका अवसर प्राप्त हुने कुरा कमलामाई नगरपालिकाका शिक्षा सहजकर्ता जगत आलेले बताउनु भयो ।

काठमाडौं विश्वविद्यालयमा आयोजित कार्यक्रमको संचालन काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक सुशिल श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रममा कनपा नगर शिक्षा अधिकारी शंकरराज लुईटेल, काठमाडौं विश्वविद्यालयका रजिष्टार प्रा.डा. सुवोध शर्मा लगायत विश्वविद्यालय र नगरपालिका सम्वद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया