सिन्धुलीका केहि सहकारी लगायत निजी संस्थाले काम अनुसारको दाम नदिएको गुनासो कर्मचारीहरुले गरिरहेका छन् । नेपाल सरकारले श्रमको सम्मान गर्नुपर्ने भन्दै बारम्बार आदेश दिइरहदा पनि जिल्लाका केहि निजी संस्थाले भने श्रमको अपमान गर्दै कर्मचारीलाई उचित तलब नदिएको गुनासो व्यापक आइरहेको छ । २०७७\०७८ को आर्थिक वर्षको अन्त्यमा रातको ११ बजेसम्म काम गर्नकालागि सहकारीले दबाब दिएको भन्दै कर्मचारीहरुले दुखेसो पोखेका छन् । त्यस्तै, अन्य निजि संस्थाले पनि कर्मचारीलाईकाम अनुसारको तलब नदिएको भन्दै आलोचना भइरहेको छ । समयमा तलब नदिने लगायत विभिन्न बाहानामा श्रमिकलाई काममा मात्र केन्द्रित गराउने निजी संस्थाको परिपाटिले श्रमको सम्मान हुन सकिरहेको छैन । तसर्थ, यस्तो प्रवृद्धिलाई निरुत्साहित पार्न सम्बन्धित निकायले विशेष ध्यान दिन जरुरी छ ।
कर्मचारीलाई सुविधा दिन कञ्जुस्याईँ गर्ने, समयमा तलब नदिने, काम अनुसारको दाम नदिने लगायत कयौँ गुनसोहरु निजी संस्थाका कर्मचारीहरुले गरिरहेका छन् । संस्थाको आयआर्जन धेरै भएपनि कर्मचारीलाई भने सधैँ दबाब दिने संस्थाको पहिचान गरि आवश्यक कार्वाही गर्नतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ । त्यसैगरि, संस्थामा रहेको नेतृत्व समूहले पनि कर्मचारीहरुको समस्या बुझ्नतर्फ जोड दिन आवश्यक छ । अन्यथा, आगामी दिनमा समाजमा दुर्घट्ना नहोला भन्न सकिन्न ।