शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

२०७८ साल असार ३० गते बुधवारको सिन्धुलीका मुख्य समाचार हरु

बिहिवार , आषाढ ३१, २०७८

सिन्धुलीमा लकडाउन कडाई गरिने भन्ने हल्ला मात्रै

सिन्धुली, – प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सिन्धुलीमा साउन देखी लकडाउनमा कडाई गरिने भन्ने हल्ला हल्ला मात्रै रहेको जानकारी दिनु भएको छ । अहिले जारी रहेको निषेधाज्ञा जारीनै रहेपनि थप कडाई गरिने भन्ने कुरा नभएको न्यौपानेले बताउनु भयो ।

जिल्लामा कोरोनाको संक्रमण दरमा केही सुधार जस्तो भए पनि भिडभाड जन्य कार्यक्रम, हाट बजार, बिद्यालय भने अहिले खुलाउने अबस्था नरहेको उहाको भनाई छ । उहाले अहिले खुलेका बाहेक निषेध गरिएको सम्पुर्ण कुरा अझै लम्बिने बताउनु भयो । यस अगाडी थप गरिएको निषेधाज्ञा आज राती १२ बजे देखी सकिदै छ ।

यसै बिच सिन्धुली अस्पताल सिन्धुलीका ब्यवस्थापन समितीका अध्यक्ष प्रलाद कुमार पोख्रेलले अहिले कोरोनाको संक्रमण दर घट्यो भनेर ढुक्क नहुन आग्रह गर्नु भएको छ । अस्पतालको अहिलेको अबस्थालाई हेर्दा कोरोनाको जोखिम उत्तिकै रहेको पोख्रेलले बताउनु भएको हो ।

उहाको अनुसार जिल्लाको मरिण गाउँपालिका, तिनपाटन गाउँपालिक, घ्याङ्लेख गाउँपालिक, दुधौली नगरपालिका लगाएतका पालिकाको ग्रामिण भेगमा कोरोना संक्रमण दर उच्च रहेको छ । अझै साबधानी नअपनाउने हो भने जिल्लामा कोरोनाले ठुलो बिकराल रुप समेत लिन सक्ने चेतावनी दिनु भएको छ । पोख्रेलले स्वास्थ्यका सम्पुर्ण मापदण्डलाई पालना गर्न सबैमा अनुरोध समेत गर्नु भएको छ ।

सिन्धुलीमा झाडापखालाका बिरामी बढे

सिन्धुली, – सिन्धुली अस्पताल सिन्धुलीमा झाडापखालाका बिरामीको चाप बढेको छ । केहि समय अगाडी देखी लगातार भएको बर्षातका कारण खाने पानी दुषित हुदा झाडापखालाका बिरामी बढेको अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष प्रलाद कुमार पोख्रेलले जानकारी दिनु भयो ।

केहिदिन अगाडी सिन्धुली अस्पतालले जिल्लाको बिभिन्न ठाउको खानेपानीको नमुना जम्मा गरेर परिक्षण गर्दा पानीमा दुषित जीबाणु फेला परेको उहाँले बताउनु भयो । फेला परेको दुषित जीवाणु कस्तो किसिमको हो भनेर थप परिक्षणको लागी नमुना काठमाडाँै पठाउने तयारी गरिएको समेत उहाँको भनाई छ ।

उहाँले अहिले झाडापखालाका बिरामी सदाको जस्तो नभै धेरै खतरनाक रहेको बताउनु भयो । अहिलेको झाडापखालाको बिरामी निको हुन धेरै समय समेत लागेको पोख्रेलको भनाई छ । उहाँले सबैलाई खाने पानी तताएर मात्रै पिउन समेत अनुरोध गर्नु भएको छ ।

 

सिन्धुली सार्वजनिक सवारी साधनमा मनलाग्दी भाडा

सिन्धुली – सिन्धुलीका यातायात व्यवसायीले मनलाग्दी भाडा असुल्ने गरेको यात्रुहरूले गुनासो गरेका छन् । जिल्ला भित्र चल्ने तथा जिल्लाबाट जिल्ला बाहिर चल्ने सवारी साधनले मनपरी भाडा लिने गरेको यात्रुले गुनासो गरेका हुन् ।

कमलामाई नगरपालिका ६ की पूर्णिमा भुजेलले सिन्धुलीबाट काठमाडौँ सम्म पुगेको एक हजार ५ सय भाडा तिरेको बताउनुभयो । सिन्धुलीबाट छुटेको बिपी यातायात समितिको सुमोले टिकट नदिई १५ सय भाडा लिएको उहाँले बताउनुभयो । निषेधाज्ञाको कारण भाडा बढेको भन्दै १५ सय भाडा लिएको सुमो चालकले बताएको भुजेलले जानकारी दिनुभयो ।

सिन्धुलीबाट काठमाडौँ सम्म पुग्न अरू बेला सुमोले ६ सय भाडा लिने गरेका थिए । दुधौलीबाट सिन्धुलीमाढी सम्म आइपुगेको बसले एक जनाको ४ सय रुपैयाँ भाडा लिएको यात्रुले गुनासो गरेका छन् । अरू बेला १ सय रुपैया तिरेर सिन्धुलीमाढी आउने यात्रीले अहिले ५ सय सम्म तिर्नु परेको गुनासो गरेका छन् ।

निषेधाज्ञाको मौका छोपी बढी भाडा लिने गरेको यात्रुले बताएका छन् । पेट्रोलको मूल्य बढेको, फर्किदा यात्रु नहुने र ट्राफिकले बाटो मै जरिवाना गर्ने गरेको कारण बढी भाडा लिन बाध्य भएको यातायात चालकहरु बताउछन् । सिट क्षमता भन्दा ५० प्रतिशत यात्रु राखेर यातायात सञ्चालन गर्दा आफूहरूले घाटामा व्यहोर्नु परेको उनीहरू बताउँछन् ।

यस्तैसुनौलो बिपी यातायात समितिका अध्यक्ष कान्छामान बलले बढी भाडा लिने सवारी साधनलाई कारबाही गरिने बताउनु भएको छ । समितिले गाडी भाडा आधिकारिक रूपमा नबढाएको उहाँको भनाई छ ।

“यातायात चालकले बढी भाडा लिँदैनन् ।” उहाँले भन्नुभयो, “काउन्टरमा बस्ने केही व्यक्तिले यात्रुसँग बढी भाडा लिने अनि गाडी चालकलाई आधि पैसा दिने गर्छन् ।”

समितिले अनुगमन गरिरहेको उहाँको भनाई छ । साथै उहाँले बढी भाडा लिएको भेटिएमा कारबाही गरिने बताउनुभयो ।

यता जिल्ला प्रशासन कार्यालय सिन्धुली पनि बढी भाडा लिने सवारी साधनलाई कारबाही गरिरहेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो । बढी भाडा लिने सवारी चालकलाई एक हप्ता सम्म जेल राखेको प्रजिअ न्यौपानेले जानकारी दिनुभयो । साथै उहाँले हाल सवारी चेकजाँचमा समेत कडाइ गरिएको बताउनुभयो ।

सिन्धुलीमा बढी भाडा लिने सात वटा सवारी साधन

कारबाहीमा

सिन्धुली– सिन्धुलीमा बढी भाडा लिने ७ वटा सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ ।

कमलामाई नगरपालिका वडा ६ माझिटार र कमलामाई नगरपालिका ९ भिमान, सिन्धुलीमाढी बजारमा खटिएको प्रहरी र ट्राफिक सहितको सयुक्त चेकिङ टोलिले बुधबार सवारी साधन चेकजाँच गर्ने क्रममा बढी भाडा लिने सात वटा सवारी साधनलाई कारबाही गरेको हो ।

पुर्वबाट काठमाडौँ जादै गरेको वढी भाडा लिने सात वटा सवारी साधन कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी उपरिक्षक मनोज कुमार लामाले बताउनु भयोे ।

उहाँका अनुसार पुर्बबाट काठमाडाँै तर्फ जादै गरेको बा ४ ख ४१६९ हाईस, मे १ ज २६११ सुमो, बा ५ ख १४४८ हाईस, बा ५ ख ६५७६, ग २ प १०६ न.को पर्यटक गाडि, बा ५ ख ७२८ र बा ३ ख ८२६५ हाईसले वढी भाडा लिएको पाइएको हो ।

नेपाल सरकारले तोके भन्दा वढी भाडा लिएकोमा यात्रुको बढी भाडा फिर्ता गराई ७ (सात) वटा बिभिन्न सवारी साधनलाई ट्राफिक जरिवाना गरी गतन्तव्य तर्फ पठाईएको नायब उपरिक्षक लामाले जानकारी दिनुभयो ।

सिन्धुलीमा गरगहना र मोबाइल चोरी गर्नेलाई पक्राउ

सिन्धुली – सिन्धुलीमा गरगहना र मोबाइल चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । दुधौली नगरपालिका ७ का १९ वर्षीय विशाल कार्कीलाई चोरी गरेको सामान सहित प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले गत असार २७ गते कमलामाई नगरपालिका ४ ढुंग्रेवासको केश खड्काको घरमा भाडामा बस्ने फिक्कल गाउँपालिका ३ का तिर्थराज पहाडीको कोठाको ढोका फोडि सुनको सिक्री,तिलरी सहित मोबाइल चोरी गरेको थिए । पहाडीको कोठाबाट ८ आनाको सिक्री एक थान, ४ आनाको सुनको तिलहरी एक थान, रेडमी मोबाईल ईस्कीन टर्च एउटा, रिचार्ज कार्ड ५०को एक थान र एउटा किप्याड मोबाइल चोरी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । चोरी गर्ने कार्कीलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

किशोरीलाई व्यक्तिगत सरसफाई सामाग्री वितरण

सिन्धुली – जिल्लाका सामुदायिक विद्यालयका किशोरीलाई महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी व्यक्तिगत सरफाइ सामाग्री वितरण गरिएको छ ।

रिलिफ नेपाल सिन्धुली र वल्ड भिजन नेपालको साझेदारीमा किशोरी परियोजना अन्तगर्त श्री बेन्कटेश्वर मा.वि तिनपाट गाउँपालिका ८, बाहुनतिल्पुङ्, श्री मा.वि हलिडाँडा तिनपाट गाउँपालिका ११ र कालिकादेवी निम्न मा. वि. फिक्कल गाउँपालिका ५ जाङ्जाङका किशोरीलाई व्यक्तिगत सरसफाई सामाग्री वितरण गरिएको हो ।

फिक्कल, तिनपाटन र गोलन्जोर गाउँपालिकाको तिन वटा सामुदायिक विद्यालयको किशोरीलाई सरसफाइको सामाग्री सहित बृहत्तर यौनिकता शिक्षाको किताब वितरण गरेको किशोरी परियोजनाका संयोजक पंकराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार २ सय ९१ जना विद्यालयका किशोरीलाई उक्त सामाग्री सहित किताब वितरण गरिएको छ ।

किशोरीहरुलाई ७ लाख ९७ हजार ४ सय १२ रुपैयाको महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी व्यक्तिगत सरफाइ सामाग्री वितरण गरिएको संयोजक पाण्डेले बताउनुभयो ।

एक जना किशोरीलाई २ हजार ७ सय ४० रुपैयाका सामाग्री वितरण गरिएको हो । परियोजनाले उक्त विद्यालयमा किशोरी महिनावारी भएमा विद्यालय मै आराम गर्ने मिल्ने सुविधा सम्पन्न आराम कक्षको समेत स्थापना गरेको छ ।

विद्यालय आएका किशोरी महिनावारी भएमा पढाइ नै छोडेर घर जानु पर्ने समस्या भएकाले विद्यालय मै आराम कक्षको स्थापना गरेको संयोजक पाण्डेले बताउनुभयो । आराम कक्ष स्थापना भए सँगै महिनावारी भएको समयमा पढाई छुटई घर जानु पर्ने किशोरीको समस्याको समाधान भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार परियोजनाले कक्ष व्यवस्थापनका लागि कार्पेट, कुर्सी, पानी उमाल्ने केट्ली, सिरानी र खोल, सिरक, बोतल, गिलास, जग, चम्चा, ओछ्यान गद्दा, खाट (पलङ्ग), पर्दा, फिल्टर, चप्पल, स्टिल टेबल, तारपिन तेल, किला, स्यानिटरी प्याड लगाएतको सामाग्री व्यवस्था गरेको हो ।

यस्तै किशोरी परियोजना अन्र्तगत श्री बेन्कटेश्वर मा.वि तिनपाट गाउँपालिका ८ र कालिकादेवी निम्न मा. वि. फिक्कल गाउँपालिका ५ जाङ्जाङमा अपाङ्गमैत्री र किशोरीमैत्री शौचालय निर्माण गरिएको छ । साथै श्री मा.वि हलिडाँडा तिनपाट गाउँपालिका ११ मा अपाङ्गमैत्री र किशोरीमैत्री शौचालयको र्ममत गरिएको संयोजक पाण्डेले बताउनुभयो । परियोजना अन्र्तगत उक्त तीन वटा सामुदायिक विद्यालयका शिक्षक,अभिभावक र किशोरीलाई महिनावारी स्वाच्छता सम्बन्धी विभिन्न तालिमको समेत आयोजना गरिएको उहाँले बताउनुभयो ।

यस्तै विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन कोष समेत स्थापना गरेको छ । तिन वटै विद्यालयमा १० हजारको दरले कोष स्थापना गरेको पाण्डेले जानकारी दिनुभयो । महिनावारी भएको समयमा चाहिँने आवश्यक सामाग्री कोष बाट व्यवस्थापन गर्ने सकिने र विद्यालय नै उक्त कोषलाई निरन्तता दिने उदेश्यले कोष स्थापना गरिएको परियोजना संयोजक पाण्डेले बताउनुभयो ।

आर्थिक अवस्था कम भएको बालबालिकालाई स्कुल ब्याक

वितरण

सिन्धुली – जिल्लाका आर्थिक अवस्था कम भएको बालबालिकालाई स्कुल ब्याक वितरण गरिएको छ । रिलिफ नेपाल र वल्ड भिजनको साझेदारीमा बाल स्पोन्सरसिप परियोजना अन्र्तगत फिक्कल,गोलन्जोर र तिनपाटनका आर्थिक अवस्था कम भएको परिवारको बालबालिकालाई स्कुल ब्याक वितरण गरिएको हो ।

तिन वटा पालिकाका लगभग ४ हजार ५ सय बालबालिकालाई ब्याक वितरण गरिसकेको स्पोन्सरसिप परियोजना संयोजक पंकजराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार उक्त पालिकाका ५ हजार ३ सय बालबालिकालाई ब्याक वितरण गरिने लक्ष रहेको छ ।

तिन वटा पालिकाको १६ वटा वडाका बालबालिकालाई ब्याक वितरण गरिएको हो । संयोजक पाण्डेका अनुसार गोलन्जोर गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ६ का बालबालिकालाई ब्याक वितरण गरिएको हो । त्यस्तै तिनपाट गाउँपालिकाको वडा नम्बर ४, ५, ६, ७, ८, १०, ११ र फिक्कल गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ५ का विपन्न तथा आर्थिक अवस्था कम भएका परिवारको बालबालिकालाई ब्याक वितरण गरिएको हो ।

प्राविधिक शिक्षा अध्ययन गरेका र विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

सिन्धुली –सुनकोशी गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गरेका र अतिविपन्न तथा अनाथ विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । प्रतिस्पर्धि, रोजगारमूलक, प्रविधिमैत्री तथा उत्पादनमुखी शिक्षाको माध्यमले सुनकोशी गाउँपालिकालाई समृद्ध बनाउने उदेश्य अनुसार छात्रवृत्ति वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

सुनकोशी गाउँपालिकाको २०७८ असार १ गतेको सूचना अनुसार पालिका भरिबाट निवेदन माग गरि छनोटको आधारमा परेका प्राविधिक शिक्षा अध्ययन गरिरहेका १० जना, नर्सिङ कोर्ष अध्ययन गरिरहेका ४ र अति विपन्न तथा अनाथ ५९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनुभयो ।

प्राविधिक शिक्षा अध्ययन गरिरहेका लाई प्रति विद्यार्थी ६० हजार, अति विपन्न तथा अनाथ विद्यार्थीहरुलाई प्रति विद्यार्थी ४ हजार र स्वास्थ्य तथा नर्सिङ्ग तर्फ अध्ययनरत विद्यार्थीहरुलाई प्रति विद्यार्थी २५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको छ

।

गाउँपालिकाको अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने, सुनकोशी गाउँपालिका दलित सेवा समाज अध्यक्ष केशब लोहार लागायत बिद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

 

सिन्धुलीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली – सिन्धुलीमा चौविस घण्टामा थप २ जना संक्रमित थपिएका छन् । १५ जनामा गरिएको स्वाव परिक्षणमा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ३ सय ९५ पुगेको छ ।

यस्तै जिल्लामा हाल होम आईसोलेसनमा ४ सय ३६ जना र संस्थागत आईसोलेसनमा १६ जना गरि ४ सय ५१ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म सिन्धुलीमा १ हजार ९ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

 

घ्याङ्लेख गाउँपालिकाका कृषकलाई आर्थिक सहयोग

सिन्धुली – घ्याङलेख गाउँपालिकाद्वारा पकेट विकास कार्यक्रमको लागि ५० प्रतिशत लागत साझेदारिमा रकम हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले कृषि विकास शाखाको आ.व. २०७७/७८ को पकेट विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत लागत साझेदारिमा रकम हस्तान्तरण गरेको हो । घ्याङलेख गाउँपालिकाको विभिन्न कृषि समुहलाई शाखाको अदुवा र तरकारि पकेट विकास कार्यक्रम अन्तर्गत कृषकलाई बुधवार उक्त रकम हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष जगत भोलन तथा उपाध्यक्ष दुर्गादेवी सुनुवारलले पालिकाको ४ वटा कृषि समुहलाई रकम प्रदान गर्नु भयो । जस अन्तर्गत अदुवा पकेट विकास कार्यक्रमका लागि वडा नं. –२, को श्री नवजागरण चन्दनपुर कृषक समूहलाई ५ लाख ६२ हजार ९९ रुपैयाँ, वडा नं. –१ को प्रगतिशिल कृषक समुहलाई ५ लाख ६२ हजार, वडा नं.–२, को गणेशटार कृषक समुहलाई ५ लाख ७८ हजार ६ सय रुपैयाँ प्रदान गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत किशोर वाइबाले जानकारीदिनु भयो ।

त्यस्तै वडा नं. –४ को नेत्रकाली कृषि सहकारि संस्थालाई तरकारि पकेट विकास कार्यक्रमको लागि ५ लाख ७८ हजार ६ सय प्रदान गरिएको उनले बताए। कृषि समुह तथा सहकारीले पकेट विकास कार्यक्रमको लागि गाउँपालिकाको सरह रकम लगानी गरी उत्पादन गर्नुपर्ने प्रावधान रहेको गाउँपालिकका अध्यक्ष जगत भोलनले बताउनु भयो । गाउँपालिकाको कृषि उत्पादनमा वृद्धि गरी स्थानीयको आर्थिक स्थिति उकास्ने उद्देश्यले कृषकलाई पकेट विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत लगानीमा रकम हस्तान्तरणा गरिएको अध्यक्ष भोलनकोे भनाई थियो ।

यसै बिच घ्याङ्लेख गाउँपालिकाले कृषकहरुलाई कागतिको विरुवा वितरण गरेको छ । घ्याङ्लेख गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को विरुवा वितरण वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कागतिको विरुवा वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्कीले बताउनुभयो ।

उहाँका अनुसार किसानलाई वितरण गर्ने गाउँपालिकाले २ हजार वटा कागतिको विरुवा खरिद गरेको छ । ईच्छुक कृषकलाई एक जना बराबर १५ बोट कागतिको विरुवा वितरण गरिएको कार्कीले बताउनुभयो ।

प्रतिक्रिया