बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

बजार अनुगमनलाई नगरअन्दाज नगरौँ

बिहिवार , आषाढ ३१, २०७८

दोश्रो लहरको कोरोना देखिएपछि सिन्धुलीमा कोरोना रोकथाम र नियन्त्रणकालागि जारी गरिएको निषेधाज्ञा अहिले खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलोसँगै बजार चलायमान देखिएको छ । निषेधाज्ञाको समयमा उपभोक्ताहरु मारमा परेका थिए । बजारमा अस्भाविक रुपमा मूल्यवृद्धिका कारण उपभोक्ताहरु ठगिएका थिए । अहिले पनि अवस्था ज्यूँको त्यू छ । थोक तथा खुद्रा विक्रेताले मनोमानि ढंगमा निर्माण, खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्रीमा मूल्यवृद्धि गर्दा उपभोक्ताहरु मारमा परिरहेका छन् । बजारमा अस्भाविक रुपमा मूल्यवृद्धि हुँदा पनि जिम्मेवार निकाय मौन बस्दा उपभोक्ताहरुले समस्या झेलिरहनुपरेको छ । स्थानिय तहले बजार अनुगमनलाई प्राथमिकता नदिदाँ ठगि धन्दा फस्टाइरहेको छ । जिल्लाका सबैजसो स्थानिय तहमा धेरै समयदेखि बजारको अनुगमन भएको छैन । जसले गर्दा केहि व्यापारिहरुले ब्रह्मलुटनै मचाएका छन् । विशेषगरि, थोक विक्रेताले नै चर्को मूल्य लिँदा खुद्रा व्यापारीहरु मूल्यवृद्धि गर्न बाध्य छन् । यी सबै दृशान्तसँग स्थानिय सरकार परिचित भएपनि बजार अनुगमन नहुनु दुखद हो । तसर्थ, बजार अनुगमनलाई प्राथमिकता दिदैँ उपभोक्ताको अधिकार हनन् हुन नदिन स्थानिय सरकार, जिल्ला प्रशासन, उद्योग वाणिज्य संघ लगायत जिम्मेवार निकायले छिटो भन्दा छिटो आवश्यक कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।

विगतमा बजार अनुगमन गर्दा थुप्रै कमिकमजोरिहरु देखिएको छ । थोक विक्रेतालाई भन्दा खुद्रा व्यापारीलाई कार्वाही गर्दा समस्या यथावत् देखिने गरेको छ । त्यसैले, जरैबाट समस्याको समाधान गर्नतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । तर, थोक विक्रेतालाई मात्र कानुनि दायरामा ल्याएर खुद्रा व्यापारीलाई राहत दिने भन्ने कदापि होइन । तसर्थ, बजारलाई सन्तुलित राख्नकालागि जिम्मेवार निकायले अनुगमनलाई तिव्रता दिन जरुरी छ । अतः जिल्लाका सबै स्थानिय तहमा बजार अनुगमनलाई व्यापक बनाउनकालागि सम्बन्धित निकायले आवश्यक कदम चाल्न कञ्जुस्याईँ गर्नुहुदैँन ।

प्रतिक्रिया