शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

२०७८ साल असार २९ गते मंगलवारको सिन्धुलीका मुख्य समाचार हरु

बुधवार , आषाढ ३०, २०७८

पुल वारपार गर्न भर्‍याङको सहारा

 

मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी र मकवानपुरको वाग्मती गाउपालिका जोड्ने निर्माणाधिन वाग्मती नदीको पुलवारपार गर्न भर्‍याङ प्रयोग गर्दै स्थानीय ।

हरिहरपुरगढी (सिन्धुली), – मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ र मकवानपुरको बाग्मती–४ जोड्न बाग्मती नदीमा बनेको पुल वारपार गर्न स्थानीयलाई भर्‍याङको सहारा लिनु पर्ने बाध्यता भएको छ ।

पुल निर्माणको काम ९० प्रतिशत भन्दा बढी सकिएको छ । तर सवारी साधनका लागि पुलको दुवै तर्फको छेउको सडक र स्पान्सन ज्वाइन नबनाइएकाले यो समस्या भोग्नु परेको स्थानीयको गुनासो छ ।

बिगतका बर्षमा बर्षादको मौसममा ज्यानै जाने गरी बाग्मती नदीमा हेलिएर वारपार गर्दै आएका स्थानीयहरु भने यो बर्ष भर्‍याङको सहाराले पुलमा चढेर हिडेर उक्त नदी वारपार गर्न पाउदा खुशी नै देखिन्छन् ।

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कार्साङ लामाले अब पुलको दुई तिर मुखमा मात्रै दुई वटा स्पान ढलान गर्न बाँकी रहेको र अबको तीन महिना भित्रमा गाडी हिड्न नसके पनि मानिस आवतजावत गर्न सक्ने बनाउने ठेकेदारले आश्वासन दिएको सुनाउनुभयो ।

“एक दशक भन्दा बढी समयदेखि अलपत्र हुदा पुल बन्दैन कि भन्ने चिन्ता थियो”, उहाँले भन्नुभयो, “अब भने पुल बन्नेमा आसा पलाएको छ । यो वर्षामा भ¥याङबाटै चढेर पुल माथि गएर वारपार गरेपनि पुलको मक्वानपुरतिर कसेको ड्याम हालैको बाढीले भत्काएकाले समस्या भएको छ ।”

पुल निर्माणको काम अहिले चित्त बुझ्ने गरी भई रहेको उहाँको बताउनुभयो । गाउँपालिका अध्यक्ष लामाका अनुसार पुल निर्माण शुरु भएको १० बर्षपछि बल्ल भर्‍याङको सहारामा वारपार गर्नेसम्म बनेको छ । बाग्मती नदीमा आएको बाढीमा हेलिएर वारपार गर्दै आएका स्थानीयहरु यतिखेर भ¥याङबाट पुल माथि गइ पैदल तर्ने गर्दछन् । बाग्मती नदीले सिमाना वारीपारी बनाए पनि धेरै स्थानीयको खेती र पारिवारिक साइनो भने एकै ठाउ“मा छ ।

मदन भण्डारी लोकमार्गको पश्चिम खण्ड सिन्धुली–हेटौडा कालोपत्रे सहित निर्माण भई अन्तिम चरणमा छ । लोकमार्ग हुदै आवत जावत गर्ने सवारी साधन हिउ“दयाममा जसोतसो खोलाबाटै वारपार गर्दै आएका स्थानीयको भनाई छ ।

मदन भण्डारी लोकमार्ग पश्चिम खण्ड आयोजना कार्यालय हेटौडाका अनुसार पुल २०६८ असार २९ गते स्वच्छन्द भैरव निर्माण सेवाले २१ करोड रुपैया“मा पाच वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । भ्याट बाहेक अनुमानित लागत ३८ करोड रहेको पुल २१ करोडमा ठेक्का सम्झौता भएको र पुलको लम्बाई चारसय तीन मीटर लामो रहेको छ । पुलको ११वटा स्पानमध्ये नौ वटाको काम सकिएको अवस्था छ । बा“की दुई वटा स्पान ढलानका लागि तयारी हुदैछ ।

तोकिएको समय अवधिमा काम नभएपछि २०७५ असोजसम्म म्याद थप गरिए पनि पुल बन्न नसकेको आयोजनाले जनाएको छ । पश्चिम खण्डको ११५ किमीलम्बाई मध्ये हालसम्म ९६ किमी सडक निर्माण सम्पन्न भएको र ४० वटा पुलमध्ये ३४ वटा निर्माण सम्पन्न भएको आयोजनाका ईन्जिनियर तथा सूचना अधिकारी निरन्जन थापाले जानकारी दिनुभयो । निर्माण हुन बा“की छ वटा पुलको ठेक्का लागि सकेको छ ।

बागमती पुल आगामी मंसिरसम्म सञ्चालनमा ल्याउने गरी काम भएको उहाँको भनाई छ ।

२० दिनमा १ करोड २८ लाख सहयोग संकलन

सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीको पार्टी कार्यालय निर्माण गर्नका लागी २० दिनमा १ करोड २८ लाख भन्दा वढी सहयोग संकलन भएको छ । असार ९ गते जिल्ला पार्टी अध्यक्ष तथा बाग्मति प्रदेश सांसद लेखनाथ दाहाल (राजन)ले पार्टी कार्यालय भवन को लागि जग्गा खरिद तथा भबन निर्माणका लागि सहयोगको अपिल गर्नु भएको थियो ।

मंगलबारसम्म १ करोड २८ लाख ७३ हजार ८ सय ९० रूपैयाँ सहयोगका प्रतिबद्वता आएको र २५ लाख भन्दा वढी रकम संकलन नै भई सकेको माओवादी केन्द्र सिन्धुलीका सचिवालय सदस्य ज्वाला प्रसाद न्योपाने (पुकार)ले जानकारी दिनु भयो । प्रतिवद्वता जनाएको रकम संकलन पनि तिब्र भई रहेको उहाँले जानकारी दिनु भयो । उहाँले सिन्धुलीमाढी २ नं बजारस्थित भगवति आवासिय माध्यामिक बिद्यालय नजिक ७१ लाखमा जग्गा खरिद गन बैन्ना बट्टा भइसकेको र अव चाडै पास गर्ने जानकारी दिनु भयो ।

करिव करोड लागत स्टमेटको पार्टी कार्यालय भवन निर्माणको लाागि पार्टी सदस्य तथा शुभचिन्तकको सहयोगमा नै निर्माण गर्ने लक्ष्य लिईएको पुकारको भनाई छ ।

 

बंकामा पोलिक्लिनिक सञ्चालन

 

सिन्धुली – दुधौली नगरपाािलका–१ बंकामा पोलिक्लिनिक सञ्चालनमा आएको छ । वडा कार्यालय अनुरोधमा धनुषा जिल्ला निवासी ईन्द्र साहले २० बेड सहित ईन्द्र पोलिक्लिनीक यसै साता सञ्चालनमा ल्याउनु भएको स्थानीयले जनाएका छन् ।

वडा अध्यक्ष गोबिन्द पहाडीका अनुसार मदन भण्डारी राजमार्ग सञ्चालनमा आएसँगै दैनिक जसो सवारी दुर्घट्ना भई रहेको र सामान्य उपचार नपाएर पनि कतिपयको ज्यान गई रहेकोले उक्त पोलिक्लिनिक सञ्चालनमा ल्याईएको हो ।

उक्त पोलिक्लिनिकमा एम्विविएस डाक्टर, ल्याब, एक्स्रे सहितको सुविधा सम्पन्न बनाउदै जाने योजना भएको पनि उहाँको भनाई छ ।

 

सात सय गाईभैंसिलाई सुत्केरी भत्ता बितरण

 

सिन्धुली – कमलामाई नगरपालिकाले चालु आर्थिक बर्ष ०७७/०७८ मा सात सय वटा व्याएका गाईभैसिलाई सुत्केरी भत्ता बितरण गरेको छ ।

कृषकलाई पशुपालन व्यवसायप्रति आकर्षित गर्ने उद्देश्यले बिगत तीन बर्षदेखि पालेको गाँई भैंसी ब्याउदा सुत्केरी भत्ता दिन थालिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका पशु विकास शाखाका पशु सेवा प्राविधिक मिनबहादुर थापा कृषकको आकर्षणकै कारण पहिलो चौमासिकमा सुत्केरी गाईभैंसिलाई भत्ता स्वरुप सात लाख बितरण भएको बताउनुहुन्छ । “यो बर्षका लागि सुत्केरी भत्ता दिन नगरपालिकाले १४ लाख रुपैया छुट्याएको थियो”, उहाँले भन्नुभयो, “यो बर्ष प्रति सुत्केरी पशु दुई हजार रुपियाका दरले सात सय वटा गाई र भैसिलाई उक्त भत्ता बितरण गरेका छौं ।”

सुत्केरी भत्ता लिन व्याएको पशुको बिमा भने अनिबार्य गरिएको उहाँको भनाई छ । उहाँका अनुसार व्याएका गाई भैसिलाई पहिलो बर्ष एक हजार रुपैयाका दरले उक्त भत्ता उपलब्ध गराईएको थियो । दोस्रो बर्षदेखि बिमा अनिबार्य गरि दुई हजारका रुपैयाका दरले उक्त भत्ता दिन सुरु गरिएको हो ।

उहाँका अनुसार कृषकले पशुको सुत्केरी भत्ता लिन व्याएको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयको सिफारिस, पशुधनी र व्याएको गाईभैसिको बच्चासहित देखिने फोटो र नागरिकताको प्रतिलिपि सहितको निबेदन नगरपालिकामा दर्ता गर्नु पर्ने हुन्छ । यसरी उपलब्ध गराएको भत्ताबाट सम्बन्धित कृषकले व्याएको पशुलाई पौष्टीक आहार र खाद्यान्न किनेर खुवाउनु पर्नेछ ।

 

सिन्धुलीमा १५ जनामा कोरोनामा संक्रमित थपिए

 

सिन्धुली, – सिन्धुलीमा मंगलवार१५ जनामा कोरोना संक्रमित थपिएका छन । मंगलवार ६८ जनामा पिसिआर तथा एन्टीजेन्ट बिधि मार्फत गरिएको परिक्षणमा ६ महिला र ९ पुरुष सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै जिल्लामा कोरोना भाईरसको दोस्रो लहर सुरुभए पश्चात कोरोना संक्रमित हुनेको संख्या २ हजार ३ सय ९३ पुगेको स्वास्थ्य कार्यलय सिन्धुलीले जनाएको छ । अहिलेसम्म पिसिआर बिधिमार्फत परिक्षण गरिएकोमा १ हजार ७ सय ६८ र एन्टिजेण्ट मार्फत परिक्षण गरिएकामा ६ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा अहिले १६ जना संस्थागत आइसोलेसनमा उपचाररथ छन भने ४ सय ३४ जना होम आइसोलेसनमा रहेका छन । यस्तै हालसम्म ३४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

 

यस बर्ष सिन्धुलीको गडतिर क्षेत्रमा धान रोपाईमा सहज

 

सिन्धुली, – यस बर्ष गएको बर्षहरुको तुलनामा बढी पानी पर्दा सिन्धुलीको गडतिर क्षैत्रमामा समयमै धान रोपाइ समयमै सकिन लागेको छ ।

बिगतका केही बर्षहरुमा जिल्लाको गोलन्जोर गाउँपालिकाको खुर्कोट, सुनकोशी गाउँपालिकाको खाल्टे, मुल्कोट, झागाझोली रातमाटा क्षेत्रमा प¥याप्त पानी नपर्दा रोपाई गर्न समस्या हुने गरेको भए पनि यस बर्ष समयमै बर्षा भएको कारण रोपाईगर्न सहज भएको सुनकोशी गाउँपालिका ६ खाल्टेका स्थानिय गोपाल श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार पहिला पहिला समयमै बर्षा नहुदा धानको ब्याड खेतमै हुर्किने तथा रोपाईको लागी साउनको अन्त्य सम्म पनि कुर्नु पर्ने अबस्था रहेको भए पनि यस बर्ष रोपाई करिब करिब सकिन लागेको छ ।

कृषि ज्ञानकेन्द्र सिन्धुलीले अहिले सम्म जिल्लाको सवै पालिकाको ८२ प्रतिशत रोपाई सकिएको बताएको छ । जिल्लाको समग्र धान उत्पादन हुने १५ हजार ९ सय हेक्टर जमिनमा ८२ प्रतिशत रोपाई सकिएको कृषि ज्ञानकेन्द्र सिन्धुलीका प्रमुख भरत प्रसाद बिडारीले जानकारी दिनु भयो ।

घ्याङलेकका कागती खेती गर्ने किसानसंग निवेदन माग

सिन्धुली, – घ्याङलेख गाउँपालिका सिन्धुलीले कागती खेती गर्न इच्छुक किसानसंग निवेदन माग गरेको छ । घ्याङलेख गाउँपालिकाकाको आर्थिक बर्ष २०७७÷७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अनुदानमा फलफुलको बिरुवा बितरण गरिने हुनाले किसानसंग आवेदन माग गरिएको हो ।

गाउँपालिकाको को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अनुदानमा कागति, जुनार, सुन्तला, एभोकाडो, किवि, लिचि, अलैँचीको विरुवा वितरण कार्यक्रम अन्तर्गत कागतिको विरुवा आइसकेकाले कागतिको व्यवसायिक खेति गर्न इच्छुक कृषक, कृषक समुह, कृषि सहाकारी तथा निजि फर्महरुले २ दिन भित्र माग सहितको निवेदन गाउँपालिकाको कृषि विकास शाखामा दर्ता गराउन पालिकाले आग्रह गरेको छ ।

कृषकले कम्तीमा ५० बोट बिरुवा माग्न पाउने छन । बिरुवाको लागि वडा कार्यलयको सिफारिस, व्यवसायिक कृषकको हकमा नागरिताको प्रतिलिपि, समूह तथा सहकारीको हकमा माग सहितको निर्णय, स्थायी लेखा नम्बर, कर चुक्ता र दर्ता प्रमाणपत्रको प्रतिलिपि र व्यवसायिक खेति गर्ने जग्गाको लाल पुर्जाको प्रतिलिपि सहितको निवेदन पेश गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया