वि.सं.२०७८ साल असार ३० गते बुधबार । ईश्वी सन् २०२१ जुलाई १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि–चतुर्थी,बिहान ०६ बजेर ३० मिनेट उप्रान्त पञ्चमी । नक्षत्र– पूर्वाफाल्गुनी, रातको ०२ बजेर ५२ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग– व्यातिपात, दिउसो ०१ बजेर ३४ मिनेट उप्रान्त वरियान । करण– भद्रा,बिहान ०३ बजेर ३० मिनेट उप्रान्त बव, बेलुकी ०६ बजेर ०१ मिनेट उप्रान्त बावल । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि– सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेट । दिनमान ३४ घडी १४ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्न सक्छ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक कामको योजना प्रारम्भ गर्न सकिनेछ। उद्योग र व्यापारमा पनि फाइदा हुनेछ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। आफ्ना कमजोरीबाट फाइदा उठाउनेहरू भने सक्रिय रहनेछन्। उपलब्धि जोगाउन अलि सावधान रहनुहोला।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) :- आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको करकापमा गरिएको कामले पनि फाइदा उठाउन सकिनेछ। अध्ययनका सन्दर्भमा भ्रमण हुन सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने वा आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। केही खर्च लागे पनि प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको विश्वास गर्दा धोका पाइनेछ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापट तथा कर्जामा केही धन बाहिरिन सक्छ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले केही समस्या पनि निम्त्याउन सक्छ, सजग रहनुहोला।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन्। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै फेला पर्नेछन्। होसियारीसाथ काममा जुट्नुहोला। शुभचिन्तकहरूले भने राम्रै सहयोग जुटाउनेछन्। सामाजिक कामको जिम्मेवारी बढ्नेछ। फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। तत्काल फाइदा नभए पनि स्रोत पहिचान गर्न सकिनेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट फुर्सद पाइनेछ। यात्रा, खानपान, मानोरञ्जन र पहिरनको सोख पनि पूरा हुने समय छ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। तापनि चुनौती चिर्दै काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूबाट केही सावधान भने रहनुपर्ला।
तपाईँको दिन शुभ रहोस् ।
२०७८ साल ३० गते बुधबारको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर-पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भएको छ।
बुधबार दिउँसो :- देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
बुधबार राती :- देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, प्रदेश नं २,बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।