बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सावधानि अपनाऔँ, हेलचेक्राई नगरौँ

मंगलवार , आषाढ २९, २०७८

सिन्धुली लगायत देशभर निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल शुरु भएको छ । कोरोना संक्रमितको संख्या नघटेपनि अर्थतन्त्रलाई चलायमान बनाउनकालागि निषेधाज्ञा खुकुलो बनाइएको हो । यता, जनमानसमा भने कोरोनाको जोखिम घटेकाले सरकारले निषेधाज्ञा खुकुलो बनाएको गलत सन्देश पुगिरहेको छ । निषेधाज्ञामा लचकता अपनाएसँगै जोखिम बढेको छ । नागरिकहरु न्युनतम स्वास्थ्य मापदण्डनै नअपनाई हिँड्डुल गरिरहेका छन् । यता, राजनैतिक खिचातानिका कारण पनि सिन्धुली लगायत देशभर कोरोनाको जोखिम व्यापक बढेको छ । बारम्बारको समूहगत आन्दोलन र विरोधले गर्दा अवस्था भयावह हुने देखिन्छ । न्युनतम सावधानि पनि नअपनाई भिडभाड गर्नेको संख्या बढिरहेको छ । तसर्थ, त्यस्ता व्यक्तिलाई सम्झाईबुझाई कुनै पनि हेलचेक्राई नगर्न आग्रह गर्नुपर्छ । त्यस्तै, सम्झाईबुझाई गर्दा पनि नियम उल्लंघन गर्नेलाई कानुनको दायरामा ल्याउन सम्बन्धित निकायले ढिलाई गर्नुहुदैँन ।

जिल्लाका हरेक जसो स्थानिय तहमा न्युनतम सावधानि पनि नपअपनाई निर्धक्क हिँड्डुल गर्नेको संख्या बढिरहेको छ । महामारीकै बिच प्रधानमन्त्री र राष्ट्रपतिको विरोध गर्दै बारम्बार सडक संघर्ष त कहिले प्रधानमन्त्रीको समर्थन गर्दै भिडभाडको साथ हुने र्‍यालीले कोरोना रोकथाम र नियन्त्रणमा चुनौति थपिदिएको छ । तसर्थ, सर्वसाधरण लगायत राजनैतिक दलका नेता, कार्यकर्ताले अहिलेको भिषम परिस्थितिमा अनावश्यक नाटक देखाएर कोरोनाको जोखिम बढाउने भन्दा पनि विरोध र समर्थनको नयाँ तरिका अवलम्बन गर्न जरुरी छ । अतः सावधानि अपनाउन कञ्जुस्याई नगरौँ, आफू पनि सुरक्षित बसौँ, अरुलाई पनि सुरक्षित बनाऔँ ।

प्रतिक्रिया