नायिका केकी अधिकारीले आफ्नो नयाँ चलचित्रका लागि कपाल मुण्डन गरेकी छिन् । विपश्यनाले अनुशासन सिकाउँछ: केकी अधिकारी मलाई १० वर्ष अघिदेखि विपश्यनामा जान मन लागेको थियो । स्कुलमा अध्ययन गर्दा एकपटक गएकी पनि थिएँ । तर, ३ दिन पनि बस्न सकिनँ र फर्किएँ । त्यसपछि मैले विपश्यनाको विषयमा विभिन्न लेखहरू पढेँ, निकै सकारात्मक लाग्यो ।
तर, १० दिनको समय निकाल्न निकै गाह्रो भयो । समय मिलाउन सकिरहेकी थिइनँ । यसपटक लकडाउनको समयमा फुर्सद नै फुर्सद भयो । यही बेलामा समयलाई सही सदुपयोग गरौं भन्ने लाग्यो । मैले आफूलाई ध्यानमा राख्नुपर्छ भनेर विपश्यना रोेजेकी होइन । ११ दिनसम्म बस्न सक्छु कि सक्दिनँ भनेर गएकी हुँ ।
विपश्यनामा अनुशासन छ । बिहान ४ बजे उठ्नुपर्ने र ९ बजे सुत्नुपर्ने हुन्छ । विपश्यनामा जोडिएको चौथो दिनदेखि भने त्यहाँ गरिने हरेक क्रियाकलापलाई बानीमा ढाल्न सकिने रहेछ । पलेटी कसेर बस्दा केही मिनेटमा नै खुट्टा चलाउन थालिन्छ । तर विपश्यनामा पलेटी कसेर बस्दा बिस्तारै बानी पर्छ । दुखे पनि सहनुपर्छ ।
हामी चलचित्रमा काम गर्ने कलाकारहरूमा नकारात्मक कुरा बढी सुन्ने, सोच्ने बानी हुन्छ । यो बानीलाई परिवर्तन गर्न सकियो भने धेरै फाइदा हुने रहेछ । तर, हामीले बाच्ने समाज यही नै हो । फेरि, घृणा, तनाव सुरु हुन्छ । यसैले, यसलाई निरन्तरता दिन भने गाह्रो हुने रहेछ । विपश्यनामा ११ घण्टासम्म म ध्यानमा बसेकी थिएँ । अहिले पलेटी कसेर बस्छु भन्दा १५ मिनेटमै खुट्टा चलाउन मन लाग्छ । मैले, विपश्यनाबाट फर्किएपछि सामाजिक सञ्जालबाट माफी मागेँ । उसो त, म विपश्यना नगएकी भए पनि माफी माग्थेँ होला । किनकि म यस्तै स्वभावकी मानिस हुँ ।
वैशाखबाट छायांकनमा जाने चलचित्रका लागि केकीले एक महिना अगाडि नै कपाल मुण्डन गरेकी छिन् । कपाल काटेपछि मानिसहरुबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने आफूलाई वुझ्न मन लागेकाले तस्वीर सार्वजनिक गरेको केकीले बताइन् । उनले भनिन्, ‘मलाई मानिसहरुले मेरो यो गेटअपलाई कसरी लिन्छन् भन्ने पनि हेर्नु थियो । गेटअप सार्वजनिक भएपछि कसैले मलाई विरामी हो कि भनेर सोचे, कसैले मानसिक रुपमा तनाव भएको हो कि भनेर सोचे । कसैले केटा जस्तो देखियो भनेर प्रतिक्रिया दिए त कसैले टाउको कती मिलेको रहेछ भनेर प्रतिक्रिया दिए । मानिसहरुको प्रतिक्रियाले मलाई झनै उत्साहित बनाएको छ ।’
