सिन्धुली लगायत देशभर मनसुनि वर्षातसँगै बर्खे धान रोपाईँ भइरहेको छ । स्थानिय सरकारले अनुदानमा वितरण गरेको औजार तथा बिउविजनले कृषकलाई सहज बनाएको छ । जिल्लाका सबैजसो स्थानिय तहले कृषिलाई प्राथमिकता दिएका छन् । तर, कृषकहरुले भने अहिले पनि केहि अत्यावश्यक सामाग्री नपाएर समस्यामा परेका छन् । युरिया मल देखि बीउविजन सहजै नपाउँदा कृषकहरुलाई काम गर्न असहज भएको छ । जिल्लामा कृषिको प्रचुर संभावना छ । तर, स्थानिय सरकारले कृषिमा यान्त्रिकरणलाई मात्र प्राथमिकता दिदा अन्य अत्यावश्यक सामाग्रीहरुके अभाव देखिएको छ । कृषिमा सिंचाईको आवश्यकता पर्दछ । सिचाईको सुविधा प्रदान गर्न कामहरु नभएका होइनन् । तर, ती कामहरु अपर्याप्त रहेको कृषकहरुले गुनासो गरेका छन् । त्यसैगरि, राज्यले दिने सुविधामा वास्तविक कृषकले भन्दा पनि अनुदान पचाउन कृषक बनेकाहरुको हालिमुहालि बढेको छ । तसर्थ, जिल्लाको कृषि क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्नतर्फ सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।
जिल्लाका सुगम क्षेत्रका किसानहरु राज्यको सुविधासँग नजिक छन् । तर, दुर्गम ठाउँहरुमा राज्यको निकायको आँखा पुग्न सकेको छैन । कृषकहरुले अहिले पनि सामान्य सामाग्री नपाउँदा समस्या खेपिरहनुपरेको छ । बिउबिजनकै अभावका कारण खेतियोग्य जमिन बाझै राख्नुपर्ने बाध्यता छ । तसर्थ, यी सबै पक्षहरुलाई सुक्ष्म अध्ययन गरेर कृषि क्षेत्रको विकासमा जिम्मेवार निकायले सक्रियता बढाउन जरुरी छ । अतः अत्यावश्यक सामाग्री आपूर्ति गर्नतर्फ सम्बन्धित पक्षले थप अग्रसारता देखाउन आवश्यक छ ।