बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

मनपरि भाडा असुल्नेलाई कार्वाही गर

बिहिवार , आषाढ २४, २०७८

सिन्धुलीमा दैनिकजसो बढि भाडा असुल्ने सवारीसाधनमाथि प्रहरीले कार्वाही गर्दै आएको छ । तर, मनपरि भाडा असुल्ने क्रम भने रोकिएको छैन । सिन्धुली लगायत अन्य जिल्लाबाट विपी राजमार्ग हुदैँ काठमाडौँ जानेसवारीसाधनले यात्रुहरुसँग नियमित शुल्क भन्दा दोब्बर बढि लिने गरेका छन् । त्यसैगरि, जिल्ला प्रशासनले वितरण गर्ने स्वीकृति पास समेत किर्ते गरेर सवारीचालकले गाडी चलाइरहेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै सवारीधनिले मनपरि गरिरहेका छन् । तसर्थ, सिन्धुलीमा रहेका हरेक चेकपोइन्टमा कडा निगरानि गर्न जरुरी छ । प्रहरीले हालसम्म धेरै सवारीसाधनलाई कार्वाही गरिसकेको छ तर केहि कमिकमजोरिका कारण अहिले पनि यात्रुहरु ठगिने गरेका छन् । कोरोनाको महामारीमा अत्यावश्यक बाहेक अन्य कामकालागि गाडी चढ्ने कमै हुन्छन् । त्यसैले, मनपरि शुल्क असुल्नेलाई कार्वाहीको दायरामा ल्याउन सम्बन्धित निकायले जोड दिन आवश्यक छ ।

यात्रु बोक्ने सवारीसाधनमात्र नभएर मालवाहक गाडीले समेत प्रचलित शूल्क भन्दा बढि लिइरहेका छन् । कृषिजन्य सामाग्री बोक्ने गाडीले चर्को शुल्क लिएको भन्दै कृषकहरुले गुनासो गरिरहेको अवस्था छ । तसर्थ, जिल्लामा संचालित सम्पूर्ण सवारीसाधन व्यवसायीसँग छलफल गरि समस्याको समाधान गर्नतर्फ सम्बन्धित निकायले अग्रसरता देखाउन जरुरी छ । अतः मनपरि भाडा असुल्नेलाई कार्वाहीको दायरामा ल्याई गलत प्रवृद्धि निरुत्साहित पार्न सम्बन्धित निकायले गम्भिर भएर आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।

प्रतिक्रिया