सिन्धुलीमा राज्यले उपलब्ध गराउने भूकम्पको दोश्रो किस्ताको रकम पीडितले पाइरहेका छन् । जिल्लाका स्थानिय तहमा वडास्तरबाटै रकम बाँडिएको छ । यता, केहि बिचौलियाहरुले भूकम्प पीडितसँग पैसा लिएर रकम सहजै उपलब्ध गराउने भन्दै मोलतोल गरेको पीडितले गुनासो गरेका छन् । राज्यले उपलब्ध गराउने रकममा समेत बिचौलिया हावि हुदाँ समाजमा बिचौलियाको दबदबा कतिसम्म छ भन्ने बुझ्न सकिन्छ । वडाकै केहि पढेलेखेका सदस्यले गाउँका भूकम्प पीडितहरुलाई पहिचान गरि तीनिहरुसँग मोलतोल गरिरहेका छन् । सोझा नागरिकले उनीहरुलाई पैसा दिएर राज्यले उपलब्ध गराएको रकम भुक्तानि गरिरहेका छन् । यसको मतलब सोझा नागरिकले कसरी पैसा लिने र कसरी प्रक्रिया पुरा गर्ने भन्नेसमेत पर्याप्त जानकारी पाएका छैनन् । पहिलो किस्ताको रकम प्राप्त गर्दा पनि पीडितले बिचौलियालाई रकम दिएका थिए । प्रक्रिया झन्झटिलो भएकै कारण पीडितहरु बिचौलियासँग मिल्न बाध्य भएको सहजै बुझ्न सकिन्छ । तसर्थ, भूकम्प पीडितको रकम उपलब्ध गराउँदा वडा देखि नगरले सहजीकरण गर्न जरुरी छ ।
बिचौलियालाई सल्बलाउन नदिन राज्यकै निकाय चनाखो हुन आवश्यक छ । जनप्रतिनिधिलेसमेत पीडितले पाउने रकममा र्याल काँडेको आरोप लागिरहेको छ । तसर्थ, खबरदारी गर्न सरोकारवाला निकाय चुक्नुहुदैँन । अतः सोझा नागरिकलाई लुटिनबाट जोगाउन जिम्मेवार पक्ष गम्भिर भएर आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।