सिन्धुली – दुधौली नगरपालिका १२ जिनाखुका फडिन्द्र राय पहिरोले बेच्ने बेला भएको कुखुरा सहित फर्म बगाए पछि कहिले नगरपालिका त कहिले प्रहरी कार्यालय धाई रहेका छन् ।
अविरल वर्षाको कारण असार १६ गते राति १ बजे पहिरोले उहाँको कुखुरा र माछाको फर्म सहित लगभग १५ सय कुखुरा नष्ट भएको छ । फर्म र कुखुरा सहित ९६ लाख भन्दा वढी क्षती भएको रायले गुनासो गर्नुभयो । फडिन्द्र भन्नुहुन्छ, ‘ऋण लिएर गाउँमै केहि गर्ने सोचले कुखुरा व्यवसायी सुरु गरे । ऋण चुक्ता गर्न नपाउदै पहिराले सबै बगायो ।”
काठमाडौँमा तरकारी बेच्ने काम छोडेर गाउँमा सफल व्यवसायी बन्ने सोच्ले कुखुरा व्यवसायमा लागेका फडिन्द्रको सपना पहिरोले पुरा हुन दिएन । “यत्रो ऋण छ । अब कसरी तिर्नु ” आँखाभरि आसु बनाउदै रायले भन्नुभयो, “अहिले त मेरो होस नि हराएको छ । यहि तनाबले दुइ दिन सम्म अस्पताल नै भर्ना भएर बस्नु पर्यो । ”
लाखौ लगानीमा निर्माण गरेको फर्म र दुःख गरेर हुर्काएको बेच्ने बेला भएको कुखुरा पहिराले बगाए पछि फडिन्द्रको दिनरातको निद्रा हराएको छ । “चार दिन भयो मैले खाना खाएको छैन ।” उहाँले भन्नुभयो, “अव के गर्ने कहाँ जाने केहि सोच्न सकेको छैन ।”
फडिन्द्र राय कृषि पशुपक्षी तथा माछा पालन फर्म जिनाखु कै नमुना फर्मको रुपमा परिचित थियो । पहिलेको दिनलाई सम्झिदै उहाँले भन्नुभयो २५ सय कुखुरा एक लट बेच्दा ३ लाख सम्म नाफा हुन्थ्यो । परिवार पाल्न, छोराछोरी पढाउन सबै कुखुरा व्यवसायबाट पुराउने गरेको उहाँले सुनाउनु भयो । “१२ जनाको परिवार छ ।” उहाँले भन्नुभयो, “सबैलाई लगाउन खान, पढ्न त्यही कुखुरा व्यवसायबाट पुग्थ्यो । ” विस्तारि व्यवसाय राम्रो हुदै गएको थियो । अब त ऋण छिटै तिर्छु भनेर दिनरात काम गर्ने गरेको उहाँले सुनाउनुभयो ।
पहिराले यसरी फर्म नै बगाउ छ भन्ने कल्पना समेत नगरेको उहाँ बताउछन् । “दिउँसो पहिरो गएको भएपनि केहि कुखुरा त बचाउन सक्थे होला ।” उहाँ भन्नुहुन्छ, “रातको समयमा पहिरो गयो कहि थाहा पत्तो पाएन । ” सफल व्यवसायी बन्ने सपना पुरा नहुने भन्दै उहाँ अव कुखुरा पालन तिर फकर्ने सोच नहरेको बताउनु हुन्छ ।
स्थानिय सरकारले केहि सहयोग गर्छन् कि भन्ने आशमा उहाँ अहिले दिन रात नभनि नगरपालिका र प्रहरी कार्यालय धाइरहेका छन् । “चार दिन भयो । कहिने नगरपालिका जान्छु । कहिले प्रहरी कार्यालय जान्छ ।” उहाँ भन्नुहुन्छ, “केहि सहयोग पाइन्छ कि भनेर कुदेको कुदै छु । खै अब त कसैले सहयोग गर्छन् कि भन्ने आश हराउन थाल्यो । ” “नगरपालिका गयो नगरपालिकाले प्रहरीको सिफारिस माग्छ । प्रहरी कार्यालय गयो तपाईको कति क्षेती भयो हेर्न आउछु भन्ने गर्नुहुन्छ । न प्रहरी हेर्ने आउछ । न नगरपालिका ।” उहाँले भन्नुभयो ।