शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको हरिहरपुरगढीमा बन्दैछन् पर्यटन पुर्वाधार

आइतवार , आषाढ २०, २०७८

चौधौं शताब्दीमा बनेको हरिहरपुरगढीमा भौतिक पूर्वाधार निर्माणले तीब्रता

सिन्धुली, – चौधौं शताब्दीमा बनेको सिन्धुलीको ऐतिहासिक स्थल हरिहरपुरगढीमा भौतिक पूर्वाधार निर्माणले तीब्रता पाएको छ ।

हरिहरपुरगढीलाइ गाँउँपालिका–१ स्थित हरिहरपुरगढीलाई संरक्षण गरि पर्यटक भित्र्याउने उद्देश्यले सामाजिक विकास मन्त्रालय भौतिक पूर्वाधार निर्माण गरि संरक्षण गर्न सुरु गरिएको हो । हरिहरपुरगढी संरक्षण समितिका अध्यक्ष कमलजंग राईले गुरु योजना नै बनाएर हरिहरपुरगढीको संरक्षण सुरु गरिएको बताउनुभयो ।

बाग्मती प्रदेश सरकारको ६५ लाख रुपैया सहयोगमा गेट, कुरुवा घर बनाउने काम भई रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार हरिहरपुरगढीमा अतिथि गृह, पिकनिक स्पट, खानेपानी व्यवस्थापन तथा निर्माण भई सकेको छ । हरिहरपुरगढीमा बिगत तीन बर्षदेखि भौतिक पूर्वाधार निर्माण गरि संरक्षण गर्न सुरु गरिएको हो । उक्त गढी संरक्षणमा अहिलेसम्म अढाई करोड रुपैयाभन्दा बढी खर्च भई सकेको छ ।

उहाँले भन्नुभयो, “यो बर्ष बागमती प्रदेश सरकारले एक करोड रुपैया बिनियोजन गरेको थियो । टेण्डर हुदा ६५ लाख रुपैयामा ठेक्का लागेको छ । सामाजिक विकास मन्त्रालयकै सहयोगमा सिंढी बनाउने, स्टिलको रेलिङ हाल्ने, पिकनिक स्पोर्ट निर्माण र सोलार सिस्टमबाट लिफ्ट गरि खानेपानीको व्यवस्था गर्ने कार्य भई सकेको छ ।”

“हरिहरपुरगढीको जस्तो बनौट र संरचना नेपालमा अन्यत्र कही छैन । नेपालभन्दा बाहेक भारत र रुसमा एक/एक ठाँउमा छ,” उहाँले भन्नुभयो, “बास्तुकला अनुसार बनेका यी चिजलाई प्रचार प्रसार गरी पर्यटक भित्र्याउने लक्ष्य छ । चौधौ शताब्दीमा नै नेपालका अन्य गढी र किल्लाभन्दा फरक तरिकाले हरिहरपुरगढी किल्ला बनेको हो । भत्किएर भग्ना बशेषमा परिणत हुदै गएको यो गढीलाई ढिलै भएपनि संरक्षण गर्न सुरु भएको छ ।”

संरक्षण समितिका अध्यक्ष राईका अनुसार हरिहरपुरगढी सिन्धुलीगढीको भन्दा पुरानो ईतिहास बोकेको किल्ला हो । बाराको सिम्रौनगढमा बंगाल मुसलमान भिषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालिन राजा हरिसिंह देव विं.सं. १३७८ मा सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए । त्यही किल्लाले राज्यको रुप लिएको थियो । यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भनेर भन्न थालियो । झण्डै छ सयबर्ष अघि बनेको हरिहरपुरगढीका किल्ला अहिलेपनि पुरानो स्वरुपमा जस्ताको तस्तै रहेको छ ।

ऐतिहासिक र पुरातात्विक महत्व बोकेको यस किल्लाको संरक्षणमा चासो नपुग्दा ओझलमा परेको हरिहरपुरगढीको अहिले भने संरक्षणमा सबैले चासो दिन थालेका छन् । दुई ऐतिहासिक स्थल हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोड्न ७५ किलोमिटर लामो पदमार्ग पनि निर्माण भएकोले यसको अझ महत्व बढेको स्थानीय बासिन्दा बताउछन् ।

हरिहरपुरगढीको संरक्षण गर्न गाँउँपालिकाले पनि १५ लाख रुपैया बजेट दिएको गाँपालिकाका अध्यक्ष कार्साङ लामा बताउनुहुन्छ । “हरिहरपुरगढीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरी गाँउँपालिकाको पनि प्रमुख आम्दानीको स्रोत बनाउने लक्ष्य छ,” उहाँले भन्नुभयो, “गाँउपालिकाले दिएको बजेटबाट घेरबेरा गर्ने कार्य सम्पन्न भई सकेको छ ।” गाँउपालिकाले गढी किल्लाको बाहिरी संरचना मर्मत गरेको छ भने पुरातत्व विभागले भित्रि संरचनाको संरक्षणका लागि चासो दिएको छ । उहाँले भन्नुभयो, “किल्लाको भित्रि संरचनामा हाम्रो अधिकार नहुने रैछ । त्यसैले हामीले बाहिरी संरचना मर्मत गर्दै छौं ।”

जिल्लाकै विकट गाँउँपालिकाका रुपमा चिनिएको हरिहरपुरगढी गाँउँपालिका पर्यटन मार्फत आर्थिक समृद्धिको खोजीमा छ । ऐतिहासिक स्थल हरिहरपुरगढी, कुण्ड पोखरी र लसुन पोखरी जस्ता पर्यटकीय क्षेत्र यही पर्छ । ती पर्यटकीय क्षेत्रहरुको संरक्षण र प्रवद्र्धन गाँउपालिका जुटेको हो ।

ऐतिहासिक तथा पुरात्ताविक सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्न सके पर्यटन व्यवसाय फस्टाउने गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो ।

उहाँकमा अनुसार ऐतिहासिक हरिहरपुरगढी क्षेत्रका सम्पदाको संरक्षण, विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित अतिथि गृह पनि निर्माण थालिएको छ । हरिहरपुरगढी घुम्न आउने पर्यटकलाई बस्ने सुविधाका लागि बसेरीमा कम्तिमा पनि २५ वटा होमस्टे सञ्चालनको तयारीसँगै अतिथि गृह निर्माण गरिएको हो ।

प्रतिक्रिया