शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका सामुदायिक विद्यालयमा कम्प्यूटर आकर्षण बढ्दै

बिहिवार , आषाढ १७, २०७८

गोलन्जोर गाउँपालिका–४ स्थिती बत्सला मावि किराँतेमा भर्खर स्थापना गरिएको कम्प्युटर प्रयोगशाला ।

सिन्धुली, – सिन्धुली जिल्लामा सामुदायिक विद्यालयमा कम्प्युटर र ईन्टरनेट आकर्षण बढ्दै गएको छ ।

साुमदायिक विद्यालयलाई प्रविधि मैत्री र पठनपाठन कार्यलाई सहज बनाउन विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना तथा ईन्टरनेट जडान कार्य धमाधम भई रहेको छ । सङघिय सरकारको अनुदान र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कम्प्युटर ल्याब (प्रयोगशाला) स्थापना र ईन्टरनेट जडान कार्य भई रहेको विद्यालयले जनाएका छन् ।

कमलामाई नगरपालिका–२ भद्रकालीस्थित जनजागृती मावि निबुवाटारले पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र बागमती प्रदेश सरकारको सहयोगमा भर्खरै कम्प्युटर ल्याब स्थापना गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद देवकोटाले विद्यालयको पठनपाठन कार्यलाई सहज र प्रविधि मैत्री बनाउन उक्त कार्य गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो सयमा विद्यार्थीहरुको कम्प्युटरप्रतिको आकर्षण पनि बढ्दै गएको पाईन्छ । त्यसैलाई मध्यनजर गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र बागमती प्रदेश सरकारकोमा १८ वटा डेक्सटप कम्प्युटर र आठ वटा ल्यापटप खरिद गरी पठनपाठनको व्यवस्था मिलाईएको छ ।”

अहिले कोभिडका कारण विद्यालय बन्द भएपनि पठनपाठन कार्यका लागि बैकल्पिक विधि अप्नाउन र विद्यालय सञ्चालन भएपछि विद्यार्थिहरुलाई प्रयोगात्मक (प्राक्टिकल) कक्षा सञ्चालन गर्ने योजना रहेको प्रधानाध्यापक देवकोटाले सुनाउनुभयो ।

त्यस्तै सोही वडा निवासी कक्षा ८ मा अध्ययनरत सोनु तामाङलाइ पनि कम्प्यूटरको अगाडि पर्दा ढक्क आङ फुलेर आउथ्यो । दुई बर्षअघिसम्म कम्प्यूटरको नाम नसुनेकी सोनुले झन् देख्ने त कुरै आएन । “अब के गर्ने होला भन्ने लाग्थ्यो,” स्थानीय मावि पिपलभन्ज्याङकी छात्र सोनु भन्नुभयो, “तर चलाउन जानेपछि त गजब हुदो रहेछ ।”

यतिखेर सोनु नेपाली, अंग्रेजीमा टाइपिङ गर्ने, प्रोग्रामहरुमा एक्सेल, फोटोसप, पावरप्वाइन्ट लगायत चलाउन जान्ने बन्नु भएको छ । ‘अब कम्प्यूटर चलाउन कुनै समस्या छैन्’, उहाँले थप्नुभयो । अमेरिकामा पढ्ने विद्यार्थीहरुको संस्था यूथफर नेपालले उक्त विद्यालयलाइ आठ थान कम्प्यूटर, इन्भटर सहयोग गरेपछि फुर्सदको समयमा विद्यार्थीहरु झुम्मि हाल्ने विद्यालयले जनाएको छ ।

सिन्धुली जिल्लामा यो बर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विभिन्न स्थानीय तहका ५१ वटा विद्यालयलाई परेको छ । ती मध्ये कमलामाई नगरपालिकाको छ वटा, सुनकोसी गाउँपालिकाको चार वटा र तीनपाटन गाउँपालिकाका दुई वटा विद्यालयलाई कम्प्युटर प्रयोग सञ्चालनका लागि छ लाख ५० हजार रुपैयाका दरले बजेट परेको शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ ।

कमलामाई नगरपालिकाले अहिले सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने र ईन्टरनेट जडान गर्ने अभियान नै सञ्चालन गरेको नगरपालिका शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखा अधिकृत हितकुमारी पौडेल माध्यमिक तहका सबै विद्यालयमा कम्प्युटर ल्याब र ईन्टरनेट पु¥याउने काम भई रहेको जानकारी दिनुहुन्छ ।

अहिलेको कोभिडलाई लक्षित गरि विद्यालयमा ईन्टरनेट जडानका लागि सङघिय सरकारको अनुदानमा १२ हजार रुपैया दिने काम भई रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिका भित्रका १८ वटा मावि र दुई वटा माविमा कम्प्युटर ल्याब स्थापना भई सकेको छ । सबै २६ वटै माविमा ईन्टरनेट जडानको अभियान सञ्चालन गरिएको छ । प्रावि र निमावि गरी अरु १७ वटा विद्यालयले पनि ईन्टरनेट जडानका लागि विद्यालय व्यवस्थापन समितिको निर्णयसहित उक्त शाखामा निबेदन पेस गरेका छन् ।

प्रतिक्रिया