सिन्धुली,– झण्डै एक दशक अघिसम्म विघाकै ५० हजार रुपैयाँमा पाइने जग्गाको मूल्य हाल आनाकै आठ लाख रुपैयाँसम्म पर्छ भन्दा विश्वास नलाग्न सक्छ । तर सिन्धुली जिल्लामा मध्यपहाडी लोकमार्गका कारण जग्गाको मूल्य बढ्दै गएको छ ।
स्थानीयका अनुसार उक्त लोकमार्ग निर्माण हुनुअघि सिन्धुलीको गोलन्जोर र फिक्कल गाँउपालिका अन्तर्गतका बाशेश्वर, भुवनेश्वरी, डुडभन्ज्याङ, खाङसाङ लगायतका दर्जन बढी ठाँउमा जग्गाको मूल्य नै थिएन । एक विघा बेच्दा ५० हजार रुपैयाँ हात लाग्न गाह्रो थियो । तर, हाल मध्यपहाडी लोकमार्गले छोएको त्यहीं ठाउँमा जग्गाको मूल्य प्रतिआना पाँच लाखदेखि आठ लाख रुपैयाँसम्म पुगेको छ ।
लोकमार्गमा होटल तथा विभिन्न व्यवसाय चल्ने देखेपछि बाहिरका मान्छे आएर जग्गा किन्ने क्रम बढेको छ । जग्गा किनबेचको क्रम बढेसँगै मूल्य बढेको स्थानीयको भनाई छ ।
करिब दुई दशकअघि गोलन्जोर गाँउपालिका–६ बाशेश्वरकी शुष्मा श्रेष्ठ विवाह भएर कोशीनजिकै घरमा पुग्दा निराश बन्नु भएको थियो । उहाँले भन्नुभयो, “कोशीको तिरैमा घर, सिँचाइ सुविधा नभएको थोरै बारी । अबको दिनचर्या त्यहीँ बिताउनु पर्दा नआत्तिने कुरै आएन ।” जसोतसो सोही ठाँउमा दिन कटाएकी श्रेष्ठलाई अहिले भने नसोंचेको खुसी मिलेको छ ।
घरमुनीबाट बनेको मध्यपहाडी लोकमार्गमा दायाबायाँ बारी परेपछि त्यो निराश एक दशकमै हर्षमा परिणत भएको उहाँले सुनाउनुभयो । पहिले खानसमेत नपुग्ने बारीबाट अहिले उहाँलाई घडेरी बेच्दा करोड हात पर्ने अवस्था सिर्जना भएको छ ।
स्थानीयका अनुसार लोकमार्ग निर्माणले यस क्षेत्रका बासिन्दाको आयस्रोत बढेको छ । पूर्वी पहाडका जिल्लालाई समेट्ने गरी बनेको मध्यपहाडी आसपासमा जग्गा भएका स्थानीयका लागि करोडौं आम्दानी गर्नसक्ने स्रोत बनेको छ । लोकमार्ग निर्माणका क्रममा मुआब्जाको विषयमा संघर्ष गरेका स्थानीयलाई हाल मुआब्जा नपाएकोमा कुनै गुनासो छैन ।
बीपी लोकमार्गको तुलनामा निकै ठूलो लोकमार्ग बनेपछि गाउँमै व्यापार व्यवसाय गरेर आम्दानी गर्न सकिने स्रोत खुलेको छ । ओखलढुंगाका अमर घिसिङले होटल व्यवसायका लागि गोलन्जोर गाँउपालिका–३ ग्वाल्टारलाई रोज्नु भएको छ । उहाँले ग्वालटारको लोकमार्ग नजिकैको जग्गा भाडामा लिएर होटल व्यवसाय सुरु गर्नु भएको छ । “वार्षिक लाख पैया भन्दा बढी तीरेर जग्गा भाडामा लिएर होटल सुरु गरेको छु,’ उहाँले भन्नुभयो, ‘लोकमार्गले जग्गाधनीसँगै अरुलाई पनि फाइदा पु¥याएको छ ।”
उहाँले लोकमार्गले गाउँको मुहार फेरिदिएको सुनाउनुभयो । “लोकमार्ग आसपासका जग्गा धेरै महंगिएको छ,” ग्वाल्टारकै सुदीप कार्कीले भन्नुभयो, “केही महिनाअघिसम्म साढे पाँच लाख रुपैयाँ प्रतिआनामा कारोबार हुने जग्गालाई अहिले आठ लाखसम्म भन्न थालेका छन् ।”
लोकमार्गअन्र्तगत खुर्कोट–घुर्मीखण्ड ६० किलोमिटर सडक निर्माण सम्पन्न भई यातायातका साधन सञ्चालन हुन थालेको पाँच बर्षभन्दा बढी भई सकेको छ ।
लोकमार्ग निर्माणपछि स्थानीय उत्पादनले समेत सहजरुपमा बजार पाएका छन् । स्थानीयस्तरमा उत्पादित दूध, दही, तरकारी तथा अन्य फलफूल राम्रो मूल्यमा व्यापार हुने गरेको स्थानीय बताउँछन् । “अहिले तरकारी गाउँमै बिक्री हुन्छ । गाउँकै होटल र पसलमा पुर्याउन सकेका छैनौं” बाशेश्वरकी किसान शोभा रम्तेलले भन्नुभयो, “गर्न सक्नेलाई आम्दानी ढोकैमा छ ।”