बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

निषेधाज्ञा खुकुलो हुँदा अवस्था भयावह नबनोस्

मंगलवार , आषाढ १५, २०७८

सिन्धुलीमा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । सार्वजनिक यातायात संचालनदेखि अन्य व्यापार व्यवसायमा समेत लचकता अपनाईएको छ । सिन्धुलीमा मात्र नभएर अन्य जिल्लामा समेत निषेधाज्ञा खुकुलो बनाउँदा अवस्था भयावह हुने हो कि भन्ने डर कायमनै छ । किनभने, नागरिकमा अझैँ पनि पर्याप्त चेत नहुँदा निषेधाज्ञा खुकुलो पश्चात् न्युनतम स्वास्थ्य मापदण्ड पनि नअपनाउने हो कि भनेर शंका गर्ने पर्याप्त ठाउँ छ । सार्वजनिक यातायात संचालनकालागि विभिन्न मापदण्डहरु त बनाइएको छ तर विगतमा जस्तो अनुगमननै नहुने हो भने जिल्ला सुरक्षा समितिको निर्णय व्यर्थै हुनेछ । तसर्थ, निषेधाज्ञा खुकुलो बनाएसँगै अब जिल्लाका सम्बन्धित निकायले कोरोना रोकथाम र नियन्त्रणकालागि विशेष जोड दिन आवश्यक छ । निषेधाज्ञाकै समयमा पनि भिडभाड नभएका होइनन् । अब निषेधाज्ञा खुकुलो भएपछि भिड हुने निश्चित छ । त्यसैले, जिम्मेवार निकायले स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउन अनुगमन र चेकजाँचलाई तिव्रता दिन जरुरी छ ।

मुख्यतः जिल्लाका स्थानिय तहले स्वास्थ्य सामाग्री जुटाउन विशेष ध्यान दिन आवश्यक छ । किनभने, निषेधाज्ञा जति खुकुलो हुन्छ त्यतिनै संक्रमितको संख्या बढ्न सक्ने संभावना हुन्छ । त्यसकालागि स्थानिय तहले पुर्वतयारी गर्नुपर्दछ । त्यस्तै, कोरोना परिक्षणको दायरालाई थप फराकिलो बनाउन पनि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । अतः निषेधाज्ञा खुकुलो भएसँगै अवस्था भयावह हुन नदिन जिम्मेवार निकाय थप सक्रिय भएर आवश्यक कदम चाल्न केन्द्रित हुनुपर्दछ ।

प्रतिक्रिया