शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा सार्बजनिक यातायात मंगलबारदेखि सञ्चालन हुने

सोमवार , आषाढ १४, २०७८

सिन्धुली, – सिन्धुली जिल्लामा कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि डेढ महिनाभन्दा बढी समयदेखि लगाएको निषेधाज्ञाका कारण बन्द गरिएको सार्बजनिक यातायात मंगलबारदेखि सञ्चालनमा आउने भएको छ ।

जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले सार्बजनिक यातायात स्वास्थ्य मापदण्ड अप्नाई सिट क्षमताको ५० प्रतिशत यात्रु बोक्न पाउने गरी जिल्ला भरि मात्र सञ्चालन गर्न दिने अनुमती दिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । उहाँले उक्त निषेधाज्ञा असार २१ गते राती १२ बजेसम्मलाई निरन्तरता दिएको पनि बताउनुभयो ।

उहाँका अनुसार यस अघि जारी गरेको निषेधाज्ञा सोमबार राती १२ बजेदेखि सकिदै थियो । जिल्लामा कोरोना संक्रमण दर बढेपछि मानिसको भिडभाड नियन्त्रण गर्न बैशाख २२ गतेदेखि निषेधाज्ञा लगाउन सुरु गरिएको थियो । यसअघि सातौ पटकसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

त्यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाउदै यसअघि दिउसो ३ बजेसम्म सञ्चालन गर्न दिएको व्यापार व्यवसाय बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाउने समय थप गरिएको प्रजिअ न्यौपानेले सुनाउनुभो । यस अघि जारी गरिएको निषेधाज्ञामा दुई पाङग्रे तथा चार पांग्रे (रातो प्लेटको) नीजि सबारी साधान सञ्चालन गर्न पाउने अनुमति दिईएको थियो ।

उहाँका अनुसार यसअघि बन्द अवस्थामा रहेको होटल व्यवसायलाई भने बनाएको परिकार होमडेलिभरी (घरमा पठाउने गरी) गर्ने तर ग्राहक राखेर खुवाउन नपाउने गरी सञ्चालन गर्ने अनुमति दिईएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि डेढ महिनाभन्दा बढी समयदेखि सबै व्यवसाय बन्द हुनेगरी निषेधाज्ञा जारी गरिदा उपभोक्ता र व्यापारीलाई समेत अप्ठेरो परेकाले यस पटक निषेधाज्ञा अझ खुकुलो बनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यसअघि बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा सात दिन थप्न सिफारिस गरेपछि जिल्ला सुरक्षा समितिको बैठक बसी त्यसलाई अनुमोदन गरेको हो ।

सार्बनिक यातायातमा यात्रु, सबारी चालक र सहचालकले अनिबार्य मास्क लगाउनु पर्ने जनाईएको छ । जिमखाना, शैक्षिक संस्था, ट्युसन सेन्टर, पार्टी प्यालेस र हाटबजार बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया