शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

प्रहरी सम्म आइपुग्दैनन् बालविवाहका मुद्धा, गाउँगाउँमा भेटिन्छन् किशोरी आमा

सोमवार , आषाढ १४, २०७८

सिन्धिुली – घ्याङलेख गाउँपालिका ३ की प्रनिशा वाइबा तीन सन्तानकी आमा हुनु हुन्छ । दुई छोरी एक छोराकी आमा प्रनिशा भने भरखरै २२ वर्षकी हुनु भयो । गाउँकै प्रकाशकुमार थिङसँग १४ वर्षको उमेरमा भागि विवाह गर्नु भएको उहाँको ७ र ३ वर्षिय छोरी र ६ वर्षका छोरा छन् । शारीरिक र मानसिक रुपमा परिपक्क नभई सानै उमेरमा विवाह गर्नु भएको प्रनिशा र प्रकाशले न त परिवारको योजना बनाउन भ्याउनु भयो न त भविष्य । बच्चालाई स्तनपान गराउने तरिका, पोषकतत्व भएको खानेकुरा खुवाउने–खाने तरिका र सरसफाइ सम्बन्धमा राम्रो जानकारी नहुँदै ३ सन्तान हुुर्काउदै छन् । २२ वर्षमै तीन वटा सन्तान होला भन्ने उहाँहरुले साच्नु भएको समेत थिएन् । हामीलाई सल्लाह दिने पनि कोही भएनन् । “जे हुनुथ्यो भइहाल्यो, हामी अहिले खुसी छौँ । अब उनिहरुलाई राम्रो लालनपालन र शिक्षा दिने हाम्रो कर्म हो ।” माइती नजिकै भएकाले सन्तान हुर्काउन केहि सजिलो भएको प्रनिशाले बताउनुभयो । उहाँहरु खेति किसानबाट जीविकोपार्जन गर्नु हुन्छ ।

कमलामाई नगरपालिका–३ चपौलीकी १९ वर्षिय अस्मिता नेपाली पनि काखमा बच्चा हुर्काउदै हुनु हुन्छ । १६ वर्षमै विवाह गरी १७ वर्षमा बच्चा जन्माएको अस्मिताले सुनाउनु भयो । सानैमा भागेर विवाह गर्नु भएको अस्मितालाई बेलाबेलामा स्वास्थ्यमा गम्भीर समस्या पनि देखिने गरेको छ । १७ वर्षको उमेरमा आमा बन्नु भएको अस्मिताले भन्नु भया्े, “पहिला थाहा भएन सानै उमेरमा भागेर विवाह गरियो । अहिले महिनावारी समयमा नि हुन्न, डाक्टरले भने अनुसार पाठेघरमा समस्या देखिएको छ ।”

शारीरिक रूपमा परिपक्व नभई आमा बन्ने प्रनिशा र अस्मिता मात्र होइनन् । जिल्लामा कम उमेरमा आमा बन्नेको संख्या धेरै छ । जिल्ला अस्पताल सिन्धुलीको तथ्यांकमा पनि जिल्लामा किशोरी आमा बन्ने क्रम बढ्दो रहेको देखिन्छ । अस्पतालको तथ्यांक अनुसार गत असार देखि जेठ महिनासम्म ११ महिनाको अवधिमा ९२ जना १६ वर्ष देखि २० वर्ष मुनिका किशोरीहरुले प्रसुती सेवा लिएका छन् । यो त जिल्लामा सञ्चालित एक मात्र प्रसूति केन्द्रको विवरण हो । जिल्लामा ३१ वटा बर्थिङ सेन्टरहरू सञ्चालनमा छन् । ती संस्थाहरूको तथ्यांकलाई समेत हेर्ने हो भने २० वर्ष नपुग्दै आमा बन्नेहरूको तथ्यांक भयावह रहेको अस्पताले जनाएको छ ।

कम उमेरमा आमा बन्दा आमा र बच्चाको ज्यान जोखिम हुने जिल्ला अस्पताल सिन्धुलीकी नर्सिङ्ग प्रमुख रामेश्वर खायमलिले बताउनु भयो । २० वर्ष भन्दा अगाडी शरीर पूर्ण रुपले विकास भइ नसकेको कारण बच्चा सानो जन्मिने, बच्चाको मानसिक विकास नहुने,रगत धेरै बग्ने लगाएतको समस्या आउने उहाँले बताउनु भयो । खायमलिका अुनसार प्रजनन अङ्ग र पाठेघरको पूर्ण रुपमा विकास भइ नसक्ने भएकाले कम उमेरमा आमा बन्दा पाठेघरलाई अड्याइ राख्ने मांसपेशी कमजोर भई कतिपयको पाठेघर नै झर्ने पनि हुन्छ ।

विभिन्न निकायबाट बर्षाैदेखि बालविवाह रोक्न पहल भइरहे पनि बालिकाहरू आमा बन्दा पनि धेरैलाई चासो छैन । अशिक्षा, चेतनाको कमि, प्रविधि र गरिवीको कारण पनि जिल्लामा बालविवाह बढेको देखिन्छ । किशोरकिशोरी चाँडै निर्णय लिन तत्पर हुने स्वभावका हुन्छन् । यो उमेरमा राम्रो शिक्षा र अभिभावकको रेखदेख नहुँदा उनिहरुमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ । सरकारले गाउँगाउँमा शिक्षा र सचेतना पु¥याउने नीति लिए पनि अहिलेसम्म बालविवाह घटेको छैन ।

गाउँघरमा बालिका आमा बन्ने संख्या ठूलो देखिएकाले स्वास्थ्य शिक्षा थप प्रभावकारी बनाउन आवश्यक रहेको बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गदै आएका रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गा पौडेलले बताउनु भयो । “हामिले जिल्लाका विभिन्न पालिकामा बालबालिकाको क्षेत्रमा काम गरिरहँदा मुख्य समस्य बालविवाह रहेको पायौँ । उहाँले भन्नु भयो, “ किशोरी उमेरमा नै आमा बन्ने धेरै छन् । उनिहरुमा स्वास्थ्यसम्बन्धी चेतनाको पनि अभाव छ ।” वालविवाह न्यूनिकरणको लागि रिलिफ नेपालले गाउ–ँगाउँमा जनचेतनाको कार्यक्रम सञ्चालन गरिरहेको रिलिफ नेपालले जनाएको छ ।

कम उमेरका आमाहरूले गर्भवती अवस्थामा पनि पोषणयुक्त खाना पाउँदैनन् । गर्भवती अवस्थामा गर्नुपर्ने नियमित स्वास्थ्य परीक्षण गर्दैनन् । अझ सहरबाट टाढा रहेका स्वास्थ्य संस्थाहरूमा उनीहरूको पहुँच रहन्न । यसको असर यी कलिला आमाहरूले ठूलो स्वास्थ्य जोखिम व्यहोरिरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले आफूहरूले बालविवाह न्यूनिकरण गर्ने कार्यक्रम गरिरहेको बताउनु भयो । कार्यालयले रेडियो, पत्रपत्रिका र अन्य कार्यक्रममार्फत स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । उनले स्वास्थ्य संस्थामा गर्भवती जाँच गर्न आउने आमाहरूलाई अवस्था हेरेर थप सचेतना र शिक्षामुलक जानकारी दिँदै आएको बताउनु भयो । कार्यालयले दुर्गम क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न थप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ । सरकारले ग्रामीण क्षेत्रका महिलालाई सानैदेखि शिक्षा र स्वास्थ्यमा प्रभावकारी कार्यक्रम सञ्चालन नगर्ने हो भने पछिल्लो दिनमा मातृ मृत्युदर र कुपोषित बालबालिकाको संख्या अझ बढ्ने देखिएको प्रमुख शाहले बताउनु भयो । अशिक्षा र चेतनाको कमीका कारण धेरै बालिका सानो उमेरमा आमा बन्ने गरेको उहाँको भनाई रहेको छ । यस्तै सामाजिक र जातीय संस्कारले पनि बालविवाहलाई सघाएको देखिन्छ । खासगरी आदिवासी जनजाती, दलित र गरिब समुदायमा यसको प्रभाव धेरै रहेको विभिन्न अध्ययनहरुले देखाउछ ।

यसैविच बालविवाहले व्यक्तिगत घटना दर्ता र प्रशासनिक कार्य गर्न बाधा सिजर्ना हुने कमलामाई नगरपालिकाका प्रशासकीय अधिकृत विशकसेन ढकालले बताउनुभयो । विवाह दर्ता र छोराछोरीको जन्मदर्ता गर्न आउँदा नागरिकता नभएकाले प्रशासनिक क्षेत्रमा समस्या हुने गरेको ढकालले बताउनु भयो ।

यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बालविवाहको कारण जिल्लामा जवरजस्तीकरणीका मुद्धा वढी आइरहेको छ । जिल्लामा १० महिनाको अवधिमा ३४ वटा जवरजस्तीकरणीका मुद्धा दर्ता भएको जिल्ला प्रहरीले जनाएको छ सानै उमेरमा भागेर विवाह गर्ने र अभिभावकाले थाहा पाएपछि जवरजस्तीकरणीमा जाहेरी दिने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोजकुमार लामाले जानकारी दिनु भयो । तर प्रहरीमा बालविवाह कै मुद्धा भने कमै मात्रामा आउने गरेको देखिन्छ । १० महिनाको अवधिमा ३ वटा बालविवाहको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । तर सिन्धुली अस्पतालमाको तथ्यांक हेर्ने हो भने ११ महिनाको अवधिमा ९२ जना २० वर्ष भन्दा कम उमेरका किशोरीले प्रसूति सेवा लिएका छन् ।

भदौ १ गतेबाट जारी भएको मुलुकी संहितामा केटाकेटी दुबैले २० वर्ष नपुगी विवाह गर्न नपाउने उल्लेख गरेको कमलामाई नगरपालिका कानुन अधिकृत टंक विक्रम थापाले बताउनु भयो । यदि कसैले २० वर्ष भन्दा अगाडी आफू खुसी विवाह गर्छ वा घर परिवारले नै विवाह गरिदिन्छु भने केटा केटी र विवाह गरिदिने अभिभावक दुबैलाई ३ वर्षको कैद र २० हजार रुपैया जरिवानाको व्यवस्था रहेको साथै विवाह पनि बदर हुने उहाँले बताउनु भयो ।

प्रतिक्रिया