शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

शहरमा परिणत हुदै सिन्धुलीको दुधौली

सोमवार , आषाढ १४, २०७८

सिन्धुली – कमलामाई नदी बग्ने दुधौली फाँटको स्वरूप दुई वर्षयता फेरिएको छ । यो फाँट उत्तरतर्फ महाभारत पर्वत र दक्षिणतर्फ चुरे पहाडको बीचमा फैलिएको छ । उहिल्यैदेखि सबैले चिन्ने गरेको भित्री मधेस कमलाखोंजको फाँट हो यो ।

कमलामा पाँच वटा अन्तर्राष्ट्रिय मापदण्ड अनुकूलका पुल बनेका छन् । घोडेटो र कच्ची बाटा दुई लेन सडकमा परिणत भएका छन् । सडक सञ्जाल विस्तार भएसँगै दायाँ–बायाँ शहरी बस्ती बन्न थालेको छ । कमला नदी नियन्त्रणका लागि कमला करिडोर निर्माण थालिएको छ ।

दुधौली नगरपालिका वाग्मती प्रदेशको पूर्वी–दक्षिण सिमाना छ । २०७१ सालमा साबिक लदाभीर, दुधौली र टाँडी गाविस गाभेर दुधौली नगरपालिका बनाइयो । संघीय संरचना कार्यान्वय भएसँगै हत्पते, सिर्थौली, निपाने, हर्षाही, अरुणठाकुर, ककुरठाकुर जिनाखु गाविस समाहित गरी १४ वडामा विस्तार गरिएको छ । राजधानी काठमाडौंबाट सिधै दुधौलीसम्म यातायात चल्छ ।

मदन भण्डारी लोकमार्ग दुधौली हुँदै पूर्वतर्फ तन्किएको छ । यो तराई÷मधेसको वैकल्पिक मार्ग हो । “आफ्नो गाउँठाउँ हेर्दाहेर्दै शहर बन्दै छ,” दुधौली नगरपालि–९ का लालबहादुर थापाले भन्नुभयो, “यस्तो होला भन्ने कल्पनासमेत गरेको थिइनँ ।” काठको खाँबा र टायलले छाएका घर घट्दै छन् । सिमेन्ट, फलामे रडसँग स्थानीय गिटी, बालुवा मिसाएर आरसीसीका बिल्डिङ तीव्र रूपमा बन्दै छन् ।

नयाँ होटल, किराना पसलहरू थपिएका छन् । निर्माण व्यवसायीले दुधौलीको बदलिँदो स्वरूपलाई लक्षित गरेर नयाँ गन्तव्य बनाउन थालेका छन् । तत्कालीन जिल्ला विकास समितिका सदस्यसमेत रहनुभएका थापाको शब्दमा कमलाखोंज क्षेत्रको दुधौली, लदाभीर, सिर्थौली, हत्पते पहिले दुर्गम थिए । उहाँ सम्झिनु हुन्छ, “अब त्यस्तो स्थिति रहेन । सडक, बिजुली, पक्की पुल, स्वास्थ्य चौकी, स्कुल, क्याम्पस बनेका छन् ।”

स्थानीय पत्रकार दीपेन्द्र बुढाथोकीले दुधौली शहरोन्मुख हुनुका केही कारण सुनाउनुभयो । प्राकृतिक रूपमा कमलामाईको तीर विशाल फाँट र कृषि उर्वर भूमि हुनु पहिलो पक्ष हो । स्थानीय आदिवासी दनुवार, मुशहर, माझी, हायु, थामी लगायत हुन् । उहिल्यैदेखि पहाडबाट बसाइँ झरेकाहरूको बाहुल्य रहेको छ । लोकमार्गको उत्तरतर्फ वडा नं १० मा सहिद पार्क बन्दै छ ।

वडा नं ९ तावाखोला किनारामा रंगशाला निर्माण सुरु भएको छ । नगरपालिकाले घरवारविहीन १ सय ५० परिवार स्थानीय मुशहर परिवारलाई आवासको व्यवस्था गरिदिएको छ । कमलामाई र तावा नदीबाट सिंचाइको व्यवस्था छ ।

“प्रदेश सरकार र स्थानीय सरकारले दुधौलीको विकासमा प्राथमिकता राखेको हुँदा सम्भावित विशाल शहर बन्ने ताकमा छ,” पत्रकार बुढाथोकी भन्नुहुन्छ, “तर शहरको नाम प्राकृतिक स्रोतको दोहन र अव्यवस्थित जग्गा खण्डीकरण गरी प्लटिङ हुन थालेको छ । स्थानीय सरकारले दूरगामी संकटको आंकलन गरेर बेलैमा व्यवस्थित योजना निर्माण गर्न जरुरी छ ।”

स्थानीय शिक्षक गान्धीराज मगर विकासको गतिसँगै दुधौली बदलिँदै गएकोमा मक्ख हुनुहुन्छ । उहाँका अनुसार रोजगारीकै निम्ति अब दुधौलीवासी अन्यत्र जानु पर्दैन । स्थानीय कृषिजन्य उत्पादनले शहज रूपमा बजार पाएका छन् । बेरोजगारी समस्या कम छ ।

दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत आधुनिक प्रविधियुक्त सामूहिक चक्लाबन्दी खेती सुरु भएको बताउनुहुन्छ । त्यसैगरी जनता आवास कार्यक्रमअन्तर्गत मुशहरलगायत विपन्न समुदायका निम्ति सयौं घर निर्माण सुरु भएको छ । बृहत् खानेपानी आयोजना बन्दै छ । दुधौली नगर क्षेत्रको ऐलानी जग्गाको नापी कार्य सुरु भएको छ । रंगशाला, बसपार्क निर्माण भइरहेको छ ।

मेयर राउतका अनुसार संघीय सरकारमार्फत कमला र तावाको पुल र मदन भण्डारी राजमार्ग निर्माण भइरहेको हो । प्रदेश र स्थानीय सरकारको साझेदारीमा अन्य विकास निर्माणले गति लिएको छ । औद्योगिक ग्राम निर्माण स्थलका निम्ति जग्गा छनोट भइसकेको छ । “सबै मिलाएर सात अर्बको योजना निर्माण भइरहेको छ,” उहाँले भन्नुभयो, “स्थानीयवासीको आयस्रोत बढाउन पशुपालन, दूध, मासु, तरकारी उत्पादनमा आत्मनिर्भर होइन निर्यातकर्ता बनाउने योजना अघि बढेको छ ।”

आफ्नो कार्यकालमा कमला कोरिडोर निर्माण कार्य पूरा नहुने मेयर राउतले बताउनुभयो । तर पनि दुधौली नगर क्षेत्रका जनताले मालपोत, नापी र नागरिकताका निम्ति ८० किलोमिटर टाढा सिन्धुलीमाढी सदरमुकाम धाउनुपर्ने अवस्था छ ।

दुधौलीमा सेवा केन्द्र विस्तार गर्न मन्त्रालयसम्म पुग्दा पनि सम्बोधन हुन नसकेको मेयर राउतले गुनासो गर्नुभयो । “बाक्लो जनघनत्व रहेका दुधौली नगरपालिका र मरिण गाउँपालिकालाई लक्षित गरी सेवा केन्द्रको माग गरिएको हो,” उहाँले थप्नुभयो । सिन्धुलीमा अहिले दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटा स्थानीय तह छन् ।

प्रतिक्रिया