शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको मरिणमा सुत्केरी महिलालाई कुखुराको भाले बितरण

शनिवार , आषाढ १२, २०७८

सिन्धुलीको मरिण गाँउपालिकामा एक गर्भवती महिला अण्डा खानको लागि लोकल कुखुराको पोथि बुझ्दै ।

सिन्धुली, – सिन्धुलीको मरिण गाउँपालिकाले यो बर्षदेखि बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुत्केरी महिलालाई दुई केजीको कुखुराको भाले बितरण गर्न सुरु गरेको छ । पालिकालाई कुपोषणबाट मुक्त बनाउने सुत्केरी महिला, गर्भवती महिला र जन्मेको छ महिनादेखि एक बर्षभित्रका शिशुलाई पौष्टिक आहार बितरण गर्न सुरु गरेको उक्त गाउँपालिकाले जनाएको छ । गाउँपालिका स्वास्थ्य शाखा संयोजक मधुसुन लाखेले गाउँपालिकाका सात वटै वडामा सुत्केरी महिला, गर्भवती महिला र जन्मेको छ महिनादेखि एक बर्षभित्रका शिशुलाई पौष्टिक आहार बितरण सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुत्केरी महिलालाई कम्तिमा पनि दुई केजीको लोकल भालेसहित पोषिलो झोला बितरण गरिएको छ । पोषिलो झोलमा एक केजी ध्यु, केराउ, बोडी, राज्मा, मुगको दाला एक÷एक केजी, साबुन र बच्चाको लागि प्रयोग हुने स्वास्थ्य सामग्री रहेको छ । बच्चालाई भने सर्बोत्तम पिठो उपलब्ध गराइएको छ । त्यस्तै गर्भवती महिलालाई दैनिक रुपमा अण्डा खानका लागि लोकल जातको एउटा पोथि उपलब्ध गराईएको उहाँले सुनाउनुभयो । उक्त पालिकाका सात वटै वडामा गरी हाल ८५ जना सुत्केरी महिला रहेकोमा छ वटा वडाका ७५ जनाले कुखुराको भाले र पोषिलो झोला पाई सकेका छन् । त्यस्तै सबै वडामा गरी ४७५ जना गर्भवती महिला रहेकोमा ४३७ जनाले अण्डा खानाको लागि कुखुराको पोथि र ५२५ जना छ महिनादेखि एक बर्ष भित्रका बालबालिका रहेकोमा ४८५ जनाले सर्बोत्तम पिठो पाएको स्वास्थ्य संयोजक लाखेले जानकारी दिनुभयो । बर्षादको मौसमका कारण गाडी जान नसकेकाले वडा नं. १ मा उक्त पौष्टिक आहार बितरण गर्न बाँकी रहेको र छिट्टै बितरण गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया