सिन्धुली, – कमलामाई नगरपालिका–४ निवासी गृहणी बिष्णु चौलागाईलाई तरकारीको आकासिदो मूल्यले चिन्तित बनाएको छ । दैनिक उपभोगका लागि बजारमा किन्न पाईने तरकारीको मूल्य दिनदिनै बढ्दै गएको उहाँको गुनासो छ ।
“तरकारी किन्न जाँदा एक पटकमा पाँच सय रुपैयाभन्दा घटि त लिएर जानै पर्दैन,” उहाँले भन्नुभयो, “तरकारी किन्यो । पैसा सकिन्छ, तर किनेको तरकारी आखै लाग्दैन । दिन दिनै भान्सा मँहगो बन्दै छ ।” तरकारीको आकासिदो मूल्य बृद्धिले भान्साको जीवन कष्टकर बन्दै गएको उहाँको भनाई छ ।
उहाँका अनुसार गत बर्षसम्म पाँच सय रुपैया लिएर तरकारी किन्न जाँदा कम्तीमा पनि एक साताको लागि पुग्थ्यो । तर अहिले दुई छाकदेखि तीन छाक पुग्दैन । अहिले बजारमा काउली प्रति केजी एक सय, टमाटर ११०, बोडी १००, काउली भन्टा ८० रुपिया रहेको उपभोक्ता बताउछन् ।
मल्लागाउँ निवासी गृहणी चौलागाईलाई मात्र यो समस्या होईन, सदरमुकामस्थित ढुंग्रेबास बजार निवासी होटल व्यवसायि असोक जोशीको गुनासो पनि उस्तै छ ।
तरकारीको बढ्दो मूल्यले व्यवसाय धान्न नै कठिन हुदै गएको होटल व्यवसायि जोशी बताउनुहुन्छ । “तरकारीको भाउ बढ्यो भनेर ग्राहकसँग दिन दिनै खानाको मूल्य पनि बढाउन मिलेन,” उहाँले भन्नुभयो, “एउटै तरकारीको भाउ दिनदिनै फरक–फरक हुन्छ । ग्राहकले खानासँगै तरकारी पनि थप्छन, छैन भन्न मिल्दैन ।”
अहिले बेमौसी तरकारी उत्पादन हुने र बर्षाका कारण कुहिएर नोक्सान हुने जस्ता समस्याले तरकारीको मूल्य बढेको तरकारी व्यापारी बताउछन् ।
“अघिल्लो बर्षको मूल्य पछिल्लो बर्षसँग कहिल्यै मिल्दैन,” तरकारी बिक्रेता भरत देवकोटा भन्नुहुन्छ, “जिल्लामा तरकारी कम उत्पादन भएपछि अहिले उपभोक्ताको माग धान्न तराईका जिल्ला, दोलखाको जीरी र राजधानी काठमाडाँैबाट समेत ल्याउने गरिएको छ । तर कोरोनाका कारण बाहिरी जिल्लाबाट तरकारी थोरै मात्र छ । ठाँउ र ढूवानी अनुसार मूल्य फरक–फरक पर्न जान्छ ।” गत बर्षको तुलनामा यो बर्ष मूल्य भने त्यती धेरै फरक नभएको व्यापारी देवकोटाको भनाई छ ।
सदरमुकाम आसपासका गाउँमा तरकारी खेती व्यवसायिक रुपमा हुन थालेकोले बाहिरी जिल्लाको आयात भने घट्दो अवस्थामा रहेको व्यापारीहरु बताउछन् । “केहि बर्ष पहिलेसम्म अहिलेको सिजनमा बाहिरबाट मात्रै तरकारी ल्याउनु पर्ने अबस्था थियो,” ढुंग्रेबास बजारमा १० बर्षभन्दा बढी समयदेखि तरकारी बेच्दै आउनु भएका व्यापारी यदु धमला भन्नुहुन्छ, “अहिले जिल्लामै प्रशस्त मात्रामा काउली, बन्दा, टमाटर, आलु, भाण्टा, मुला लगायतका तरकारी उत्पादन हुन थालेको छ ।”
तरकारीको स्थानीय उत्पादनले उपभोक्ताको माग धान्न नसकेकाले बाहिरी जिल्लाबाट आयात गर्नु परेको कृषि उपज बजार सञ्चालक समितिले जनाएको छ । समितिका अनुसार जिल्लाभित्र तरकारी खेती गर्ने कृषकको संख्या बर्सेनि बढ्दै गएकोले बाहिरी जिल्लाको आयात भने घट्दो अवस्था छ ।