सिन्धुलीका आठवटा स्थानिय तहले आगामी आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम (बजेट) सार्वजनिक गरिसकेका छन् । स्थानिय तहहरुले केहि हदसम्म लोकप्रिय बजेट ल्याएका छन् । विगतका वर्षहरुमा पनि जिल्लाका स्थानिय तहले आकर्षित बजेट ल्याएका थिए । तर, ती निति तथा कार्यक्रमहरु कार्यान्वयनमा नआउँदा हात्तिको देखाउने दाँत सरह भएको थियो । तसर्थ, बजेट सार्वजनिक गर्नुभन्दा पनि कार्यान्वयन मुख्य चुनौति हो ।
त्यसैले, जिल्लाका स्थानिय तहले सार्वजनिक गरेको निति तथा कार्यक्रमलाई प्रभावकारी ढंगमा कार्यान्वयन गर्नतर्फ जोड दिन जरुरी छ । विगतमा ल्याइएका कार्यक्रमहरु अहिलेसम्म पनि कार्यान्वयन नभएको नागरिकले गुनासो गरिरहेका छन् । श्रोतसाधनको अभावले भन्दा पनि जनप्रतिनिधि र सरकारी प्रतिनिधिको पर्याप्त ज्ञान र अनुभवका कारण बजेट कार्यान्वयन फितलो भएको छ । त्यसैले, स्थानिय तहले बजेट कार्यान्वयनमा विशेष प्राथमिकता दिदैँ कुनै पनि सम्झौता नगरि नागरिकलाई सेवासुविधा दिलाउनतर्फ प्राथमिकता दिन आवश्यक छ ।
लोकप्रिय कार्यक्रम ल्याउन खोज्दा आकार ठूलो हुने र त्यसले वित्तीय अनुशासन नराख्ने हुँदा कार्यान्वयनमा चुनौति थपिएको हुन्छ । बजेट निर्माण र कार्यान्वायन गर्दा स्थानिय तहको आर्थिक, सामाजिक र भौगालिक अवस्थालाई मध्यनजरगरि दिगो आर्थिक वृद्धि प्राप्त गर्न राजनैतिक दुरदर्शिता, प्रशासनिक चुस्तता र वित्तीय सुशासनले नै प्रमुख भूमिका निर्वाह गरेको हुन्छ । तसर्थ, बजेट कार्यान्वयनमा स्थानिय तहले अभिभावकिय भुमिका खेल्न जरुरी छ । अतः जनप्रतिनिधहरुले लोकप्रिय बजेट ल्याएर मात्र सन्तुष्ट हुने अवस्था नभएकोले प्रभावकारी कार्यान्वयनमा पनि जोड दिन आवश्यक छ ।