सिन्धुलीको कमलामाई नगरपालिकाको ९ औँ नगरसभामा पत्रकार समाचार संकलन गर्न निषेध गरियो । बुधबार नगरसभाामा जिल्लाका पत्रकारहरुलाई कोरोनाको जोखिम भन्दै कार्यक्रममा सहभागी हुन दिइएन । देशको चौथो अंगलाई नगरप्रमुखले गरेको व्यवहार लोकतन्त्र विरोधि हो । किनभने, नागरिकलाई सूचनाको हकबाट वञ्चित गराउन खोज्ने नगरप्रमुखको दंभमिश्रित व्यवहारले आगामी दिनमा संचार क्षेत्रमा थप जटिलता निम्तने देखिन्छ । कार्यपालिकाको बैठकमा बिना मास्क कार्यक्रममा बस्दा कोरोना नफैलिने तर कोरोनाविरुद्ध भेरोसिल भ्याक्सिन लगाइसकेका पत्रकारलाई भने नगरसभामा सहभागि नगराउने प्रवृद्धिले विभिन्न आशंका उब्जाएको छ । नगरसभाको कार्यक्रम मात्र नभएर अन्य समयमा पनि जिल्लाका जनप्रतिनिधिहरु पत्रकारसँग तर्किने गरेको संचार क्षेत्रमा कार्यरत पत्रकारले बताउने गरेका छन् ।
जनप्रतिनिधिको गलत कदम वा सम्बन्धित स्थानिय तहको बारेमा आएका गुनासोहरु आफू कार्यरत संचारगृहबाट सार्वजनिक गरेपछि अरु समयमा सम्पर्क गर्दा जनप्रतिनिधिले कुनै प्रतिक्रिया नदिने गरको पत्रकारले गुनासो गरिरहेका छन् । तसर्थ, हामीले पत्रकारको अधिकारमा बन्देज लगाएर के उपलब्धि हासिल गर्न खोजिरहेकाछौँ, त्यसको जवाफ जनप्रतिनिधिले दिन जरुरी छ ।
पछिल्लो समय पत्रकारमाथि सूचना प्रवाहमा पुर्याइएको बाधा अवरोधले गर्दा नागरिक सूचनाको हकबाट वञ्चित भइरहेका छन् । पत्रकार समाजको आवाज हो । पत्रकारले समाजको राम्रा तथा नराम्रा पक्षलाई उजागर गर्नु उसको कर्तव्य हो । तसर्थ, जनप्रतिनिधिले पत्रकारमाथि अंकुश लगाउने काम गर्नुुहुदैँन ।