सिन्धुली,१४ चैत्र( – सिन्धुली जिल्लामा यो बर्षको होली पर्व अर्थात फागु पुर्णिमा दुर्घट्नारहित बनाउने अभियानमा प्रहरी जुटेको छ ।
जिल्ला सुरक्षा समितिको सम्पन्न बैठकले होली पर्वलाई दुर्घट्नारहित बनाउन र कोभिड–१९ लक्षित विभिन्न सुरक्षा योजना बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
होली पर्वका दिन मापसे चेक कडा गर्ने, मोटर साईकलमा तीन जना हिड्न नदिने, बढी प्रहरी परिचालन गर्ने, प्रचार प्रसार, सार्बजनिक स्थलमा भिडभाड गर्न नदिने र सामाजिक दुरी कायम गर्ने लगायतको सुरक्षा योजना बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।
उहाँले होली पर्वमा बढी मोटर साईकल लक्षित सुरक्षा योजना बनाएको सुनाउनुभयो । त्यसैगरी जिल्ला प्रशासन कार्यालयले पनि शुक्रबार नै एक सूचना जारी गरी होली पर्व भिडभाड नगरी सामाजिक दुरी कायम गरेर मनाउन आग्रह गरेको छ ।
मेला, महोत्सब तथा भिडभाड हुने कार्यक्रम हाल नगर्न, कोभिड–१९ संक्रमणको संभावनालाई मध्यनजर गरी पहिले सञ्चालन आएका क्वारेन्टिन, आईसोलेसनलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रहरुबाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक तयारी गर्ने, सेनिटाईजर , मास्क र सामाजिक दुरी कायम जस्ता स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने लगायतको सूचना कार्यालयले जनारी गरेको छ ।
कार्यालयले जारी गरेको सूचनालाई अबज्ञा गरी मास्क नलगाई हिड्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने पनि जनाएको छ ।