शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली अस्पतालमा सेवा प्रवाह अस्तव्यस्त

बुधवार , फाल्गुण २६, २०७७

सिन्धुली अस्पतालमा लिफ्ट सहितको सुविधा सम्पन्न अढाई तले भवन निर्माण सुरु गरिदै ।

सिन्धुली,२६ फाल्गुण – जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित सिन्धुली अस्पतालको क्षमता बिस्तारका लागि सुविधा सम्पन्न नयाँ भवन निर्माण सुरुसँगै सेवा प्रवाह अस्तव्यस्त बनेको छ । पहिले बिरामीहरुलाई सेवा प्रवाह गरेको पुरानो भवन भत्काई त्यो ठाँउमा चार वटा ब्लकमा लिफ्ट सहितको सुविधा सम्पन्न अढाई तले भवन निर्माण सुरु गरिएपछि उक्त समस्या आएको सेवाग्राहीको गुनासो पाईन्छ । ५० शैथ्या (बेड) क्षमता भएको सिन्धुली अस्पतालको भवन पुरानो भई जीर्ण हुदै गएपछि अहिले नयाँ भवन बनाउन सुरु गरिएको छ । अस्पताल विकास समितिका अनुसार उक्त अस्पतालमा दैनिक दुई सयभन्दा बढी ओपिडी र ईमर्जेन्सिका बिरामी उपचारका लागि आउने गरेका छन् । पहिले एउटै भवनको छानामुनी बिरामीले अस्पतालबाट पाउने सबै सेवा पाउदै आएकोमा अहिले उपचारका लागि टिकट काटेपछि चिकित्सकले जाँच गर्ने कोठा खोज्दै हैरान हुने गरेको अस्पतालमा उपचारको लागि आएका कमलामाई नगरपालिका–४ निवासी सुरेस मगरले गुनासो गर्नुभयो । “काम त राम्रै सुरु गरेको हो, हामीले पनि बुझेका छौं । तर भवन भत्काउनु अघि बिरामीले सहज रुपमा उपचार पाउने गरी व्यवस्थापन गरिनु पर्दथ्यो,” उहाँले भन्नुभयो । उहाँका अनुसार ओपिडी जाँचका बिरामीले निकै सयम खर्चेर लाईनमा बसेर टिकट काट्नु पर्छ । त्यसपछि आफुले जँचाउने चिकित्सकको कोठा खोज्दै आधा घण्टा जति लाग्छ । बिरामीले छिटो, छरिता र भरपर्दो उपचार सेवा पाउनु पर्नेमा नयाँ भवन निर्माणसँगै सस्ती र समस्या झेल्न बाँध्य भएका छन् । अस्पताल विकास समितिका अनुसार सङघिय सरकारको सहयोगमा भ्याट बाहेक २१ करोड ९५ लाख रुपियाको लागतमा हनुमान कन्ट्रक्सनले उक्त भवन करिब दुई महिना अघिदेखि बनाउन सुरु गरेको छ । उक्त निर्माण कम्पनिले ३० महिनाभित्र निर्माण पुरा गर्ने गरी २०७६ साल चैत ७ गते सम्झौता गरेपनि कोरोना सङक्रमण जोखिमका कारण निर्माणमा ढिलाई भएको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले पनि बिरामीलाई सेवा प्रवाह गरेको भबन भत्काएर नयाँ भवन निर्माण सुरु गरिएपछि अस्तव्यस्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रो काम गर्दा केही समस्या त हुन्छ नी । त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर लागि रहेका छौं । बिरामीलाई सहज रुपमा सबै सेवा १५ दिनभित्र एकै ठाँउबाट दिने गरी तयारी गर्दै छौं ।” अहिले ईमर्जेन्सि बिरामीलाई समेत ल्याउन लान गाह्रो भएको र दुःख भएको उहाँले सुनाउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष पोख्रेलका अनुसार अहिले सिन्धुली अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक सहित कर्मचारीको पनि अभाव रहेको छ । नौ वटा बिशेषज्ञ चिकित्सकको स्थायी दरबन्दी रहेकोमा अहिले सबै रिक्त रहेको छ । त्यो ठाँउमा करारमा आउने चिकित्सकले काम चलाएका छन् । सिन्धुली अस्पतालमा चिकित्सक, स्टाफ नर्स र अन्य कर्मचारी सबै गरी ५९ जनाको स्थायी दरबन्दी रहेकोमा अहिले २६ जना मात्रै कार्यरत रहेका छन् । उहाँले भन्नुभयो, “छात्रबृत्तिमा पढेर सरकारले पठाएका चिकित्सक निश्चित अवधि पुगेपछि हिडी हाल्छन् । फेरी त्यो ठाँउमा खोजेर ल्याउन गाह्रो छ । नौ जना चिकित्सकको खाली दरबन्दिमा करारमा १० जना भर्ना गरी काम चलाएका छौं ।” जिल्लामै एपेन्डिसाईड, हर्नियाको शल्यक्रिया हुदै आएकोमा चिकित्सकको अभावले लामो समयदेखि बन्द अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया