सिन्धुली अस्पतालले बुधबार १२३ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गर्न धुलिखेल पठाएको रिपोर्टमा ४५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
कन्ट्रयाक ट्रेसिङ, सिन्धुली अस्पतालका स्वास्थ्यकर्मी र बिदेशबाट आई भु–संरक्षण भवन क्वारेन्टिनमा बस्दै आएका १२३ जनाको बुधबार स्वाब संकलन गरि पठाइएको थियो । स्वाब पठाइएको ज्येष्ठ नागरिकमध्य ६८ वर्षिया पुरुषमा पनि कोरोना देखिएको छ । ६६ वर्षिया महिलामा पनि कोरोना संक्रमण देखिएको हो । कोरोना पोजिटिभ देखिएका ४५ जनानै कमलामाई नगरपालिकाका हुन् । संक्रमित मध्य २३ जना पुरुष र २२ महिला छन् ।
सिन्धुली जिल्लामा यो सहित कोरोना संक्रमित व्यक्तिको संख्या १८२ पुगेको छ । जिल्लामा अहिलेसम्म उपचारपछि सन्चो भएर ८५ जना सङक्रमित व्यक्ति घर गई सकेको अस्पतालले जनाएको छ । पछिल्ला समयमा जिल्लामा संक्रमित बढेसँगै आइसोलेसन बेडको अभाव भएको छ । कोभिड १९ उपचार केन्द्र एपोलो अस्पताल र सिन्धुली अस्पतालमा रहेको ३९ वेडको आइसोलेसन भरिएपछि सङक्रमितहरुलाई होम आइसोलेसनमा राख्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।