सिन्धुली,१९ असार – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले लकडाउनका कारण रोकिएको कार्यालयको कामकाज पहिलाकै अवस्थामा सुरु गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनका कारण रोकिएको कामकाज पुन सुरु भएको छ ।
नेपाल सरकारले कोरोनाबाट बच्न सावधानी अपनाउदै कार्यालयको कामकाज सुरु गर्ने निर्णय गरेअनुसार नै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आफ्नो नियमिति कामकाज सुरु गरेको हो ।
असार १ गतेबाट कार्यालयको नियमित कामकाज सुरु भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । नागरिकता वितरण, राहदानी वितरण,मुदा दर्ता,संघसंस्था दर्ता तथा नविकरण लगाएतका नियमिति कामहरु सुरु भएको उहाँले बताउनुभयो ।
“लकडाउन कारण रोकिएको हाम्रा सबै काम पहिलाकै अवस्थामा सुरु भएको छ । दैनिक ८ देखि १० ओटा सम्म र असार १ गते अहिले सम्म १ सय सम्म नागरिकता वितरण भईसकेको छ । नागरिक वितरण गर्दै आएका छौँ । सोही अनुसार अरु काम पनि सुरु भएको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार कोरोनाबाट बच्न सामाजिक दुरी कायम गर्ने, मास्क, सेनिटाईजरको प्रयोग लगाएत साबधानी अपनाउदै विहान ८ बजे देखि साँझ ६ बजे सम्म दुई सिफ्ट मा कार्यालयको काम भएको छ ।