बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

अर्थ तथा सञ्चार तथा सूचना प्रविधि खतिवडाले राजीनामा दिए

मंगलवार , फाल्गुण २०, २०७६

काठमाडौं २० फागुन - अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। स्वतः मन्त्री पदबाट मुक्त हुनु केही घन्टाअघि उनले राजीनामा दिएका हुन्। उनी आज राति १२ बजेदेखि स्वतः पदमुक्त हुँदै थिए। मन्त्री खतिवडाले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत् राष्ट्रपतिसमक्ष राजीनामा दिएको बुझिएको छ। खतिवडाले मुख्यसचिव रेग्मीलाई केही समयअघि सिंहदरबारस्थित अर्थमन्त्रालयको आफ्नै कार्यकक्षमा बोलाएर राजीनामा दिएका हुन्। मन्त्री खतिवडाको राजिनामा आजै राष्ट्रपतिले स्वीकृत गर्नेछिन्।

राजीनमा दिए पनि खतिवडा आगामी ६ महिनासम्म मन्त्री हुन पाउनेछन्। यही संवैधानिक प्रावधान अनुसार खतिवडालाई बुधबार पुन: मन्त्रीमा नियुक्त गर्न लागिएको हो। खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमा पुन:नियुक्त गर्ने जानकारी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले दिएका छन्। संवैधानिक व्यवस्था अनुसार सांसद नभए पनि खतिवडाले मन्त्रीका रुपमा ६ महिनासम्म काम गर्न पाउनेछन्। स्रोतका अनुसार उनको पुन: नियुक्ति र सपथ भोलिमात्र हुनेछ ।

खतिवडा मन्त्रीमा कायमै रहेको अवस्थामा नयाँ आर्थिक वर्षको बजेट पनि ल्याउनेछन्। खतिवडासँग सेयर बजार असन्तुष्ट छ। उनी हट्ने संकेत पाएसँगै केही दिनअघि सेयर बजार बढेको थियो। तर खतिवडाले निरन्तरता पाउने खबरले सेयर बजार पुन: ओरालो यात्रामा छ। मन्त्री खतिवडा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गर्ने कोटाबाट राष्ट्रिय सभामा आएका थिए। तर केही दिनअघि नेकपा सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनित गर्ने कोटामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ। तर उक्त निर्णयलाई पार्टीका एकजना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरिदिएका छन्। यही विवादका कारण राष्ट्रियसभामा को जाने भन्‍ने समस्या नेकपाभित्र कायमै छ।

सम्बन्धित विषय:

प्रतिक्रिया