बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

रघुवीर महासेठ बिरुद्व निवेदन

आइतवार , माघ १९, २०७६

काठमाडौँ १९ माघ – नेकपाको विधानविपरित रघुवीर महासेठलाई स्थायी कमिटी सदस्य मनोनित गरिएको भन्दै उक्त निर्णय सच्याउन निवेदन परेको छ ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य श्रीप्रसाद साहले महासेठलाई स्थायी कमिटी सदस्यमा मनोनयन गर्दा विधानको पालना नभएको दावी गर्दै जारी केन्द्रीय समिति बैठकमा उजुरी दिएका छन् ।

उनले बैठकमा लिखित निवेदन प्रस्तुत गर्दै २०७५ जेठ ३ मा प्रथम ऐतिहासिक एकता बैठकबाट पारित विधानको धारा ३४ मा केन्द्रीय निकाय तथा विभागका पदाधिकारी र सदस्यको योग्यतासम्बन्धी व्यवस्था गरिएको स्मरणसमेत गराएका छन् ।

महासेठलाई स्थायी कमिटी सदस्यमा विधान विपरीत मनोनयन गरिएपछि प्रदेश २ मा कयौं नेता–कार्यकर्ताले विरोध गरेको भन्दै साहले केन्द्रीय कमिटी बैठकमा लिखित उजुरी नै दर्ज गराउनु परेको जनाएका छन् ।

‘स्मरण रहोस्, कमरेड रघुवीर महासेठ आफ्नो राजनीतिक जीवनमा एक पटकमात्र आठौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो भने दुई पटक मनोनितसम्म हुनु भएको हो, कहीँ कुनै कम्युनिस्ट घटकमा अहिलेसम्म उहाँ पोलिटब्यूरो सदस्यको जिम्मेवारी प्राप्त गर्नुभएको छैन,’ साहले लिखित निवेदनमा भनेका छन् ।

अतः पार्टी केन्द्रीय कमिटीको हाल चलिरहेको सम्मानित बैठकसमक्ष पार्टी अन्तरिम विधान २०७५ को रक्षा एवं पूर्ण कार्यान्वयनका लागि यो अवैधानिक निर्णयको अनुमोदन रोक्का गरी निर्णय सच्याइमात्र पार्टी केन्द्रीय सचिवालय र स्थायी समितिको निर्णयहरु अनुमोदन गर्न हुन विनम्रतापूर्वक आग्रह, अनुरोध र माग प्रस्तुत गर्दछु,’ साहको लिखित माग छ ।

प्रतिक्रिया