काठमाडौ, १८ माघ – पूर्वसभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको अभियोगमा करिब तीन महिनादेखि पुर्पक्षका लागि थुनामा हुनु हुन्छ । कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उहाँलाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ ।
उहाँलाई भेट्न आउनेहरू प्रायः जनमानसमा परिचित र शीर्षनेताहरू होलान् भन्ने धेरैलाई लाग्न सक्छ । तर उहाँलाई भेट्न सामान्य कार्यकर्ता र आफन्तबाहेक भिआइपी भने जाँदैनन् । “अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेताहरू आइरहेका हुन्छन,” कारागार प्रशासनका एक कर्मचारीले भन्नु भयो, “तर महराज्यूलाई भेट्न शीर्ष नेताहरू कोही नआएको देख्दा अनौठो लागेको छ ।”
राज्यको पाँचौं वरीयताका व्यक्ति जबर्जस्ती करणीको मुद्दामा जेल चलान भएको यो नै पहिलो रेकर्ड हो । त्यसकारण पनि महराले अप्ठेरो महसुस गरेको जनाइएको छ ।
कारागार स्रोतका अनुसार महरा स्वयं पनि बाहिरी व्यक्तिसँग भेट्न रुचि राख्नु हुदैन । कारागारका कर्मचारीले ‘कस्तो छ ?’ भनेर सोध्दा उहाँ टाउको हल्लाएर ठीक रहेको संकेत गर्नु हुन्छ ।
कारागारभित्र महराको बिहान ६ बजेदेखि दैनिकी सुरु हुन्छ । उठ्नेबित्तिकै उहाँ केही बेर ओछ्यानमै योग गर्नु हुन्छ । एकछिन हातपाखुरा र जिउ तन्काएपछि कारागारकै कम्पाउन्डमा चाररपाँच फन्को मार्नु हुन्छ । लगत्तै तातोपानी, चिनीबिनाको चिया र रोटी, फलफूल आदि खानु हुन्छ ।
उहाँका लागि प्रायः घरबाटै खानेकुरा आइपुग्छ । बिहान ९ बजेतिर पत्रपत्रिका पढ्न पुस्तकालय छिर्नु हुन्छ । १० बजे खाना खान कोठाभन्दा बाहिरपट्टि कुर्सीमा आउँनु हुन्छ । कहिलेकाहीं भने कारागारभित्रकै क्यान्टिनमा खानु हुन्छ ।
कोठामा छिरेर केही बेरको आरामपछि उहाँ ११ बजे आगन्तुक भेट्न र घाम ताप्न बाहिर निस्कनु हुन्छ । दिउँसो २ बजे आफन्तसँगै खाजा खानु हुन्छ । त्यसपछि ५ बजेसम्म कोठाबाहिरै बस्नु हुन्छ ।
साँझ परेसँगै खाना खाएलगत्तै उहाँ सुगर र प्रेसरको औषधि सेवन गर्नु हुन्छ । महराले आफ्नो सिरानीनजिक केही पुस्तक राख्नु भएको छ । उहाँ आफन्त नआएका बेला किताब र पत्रपत्रिका पढनु हुन्छ । बेलुकी ९ बजे उहाँको सुत्ने समय हो ।