प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालीकराम जम्कट्टेल श्रमजिवी पत्रकार ऐन अनुसार पत्रकारले सेवा सुविधा पाउनु पर्ने बताउनु भएको छ ।
सिन्धुली जिल्लाको ऐतिहासिकस्थल सिन्धलीगढीमा सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासं (फोनिज) को ४५ औ राष्ट्रिय भेलाको उद्घाटन समारोहमा उहाँले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, “श्रमजिवी पत्रकार ऐन अनुसार पत्रकारले सेवा सुविधा किन नपाउने ?” पत्रकार र राजनीतिक दलसँगै लडेर गणतन्त्र आएको चर्चा गर्दै उहाँले अहिलेको संविधान र व्यवस्था ल्याउन पत्रकारको पनि रगत बगेको बताउनुभयो ।
“यो व्यवस्था ख्याल ख्यालैमा आएको होईन, व्यवस्थाप्रति गवै गरौं,” उहाँले भन्नुभयो, “सरकारको आलोचना गर्दा व्यवस्थाको बिरोध नगरौ । संविधानमाथि कोही पनि छैन ।” मन्त्री जम्कट्टेलले भन्नुभयो, “सञ्चार संबन्धि अहिले वनेका ऐन कानूनबाट कोही पनि आत्तिनु पर्दैन ।”
संविधान अनुसार प्रेस स्वतन्त्रता प्रयोग गरेका छौ भने कोही पनि आत्तिनु नपर्ने उहाँको भनाई थियो । उहाँले पृथ्वीनारायण शाह र बंगु गुरुङको शालिक सिन्धुलीगढीमा बनाईनु पर्ने चर्चा गर्दै सबैको ईतिहासलाई सम्मान गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारहरुसँग नै व्यापाक छलफल गरी ३ नम्बर प्रदेश सरकारले सञ्चार ऐन बनाएको छ । त्यो कार्यान्वयनको अवस्थामा रहेको छ ।”
पत्रकारको बिमा र उपचार कोषको लागि कार्यविधि भर्खरै पास भएको उहाँले बताउनुभयो ।
कमलामाई नगरपालिकाका मेयर खडगबहादुर खत्रीले सिन्धुलीगढीमा भएको आदिवासी जनजाति पत्रकारको राष्ट्रिय भेलाले गरिमा बढेको चर्चा गर्दै पर्यटन प्रबद्धनमा निकै सहयोग पुग्ने बताउनुभयो । उहाँले सिन्धुलीगढीको ऐतिहासिक महत्वमाथि प्रकास पार्दै स्थानीय सरकार आएपछि गढीको संरक्षण र सम्बद्र्धन हुदै आएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रता र मौलिक अधिकारको संरक्षणका लागि नेपाल पत्रकार महासंघ प्रयासरत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने खालका ऐन, कानून नबनाउन सरकारलाई खबरदारी गर्छौ ।”
न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले समितिले दुई वर्षको कार्यकालमा पत्रकारको न्युनतम पारिश्रमिक बृद्धि गरेको, पारिश्रमिक भुक्तानीको सुनिश्चितताको लागि बैंकिङ प्रणाली लागू जस्ता महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अवको आवश्यकता भनेको पत्रकारको क्षमता अभिबृद्धि र मिडियाको सबलीकरण नै भएकोले स्थानीय, प्रदेश र केन्द्रिय सरकारको ध्यान जानु पर्ने बताउनुभयो ।”
उक्त कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले अहिले पनि पत्रकारले समाचार लेख्दा थुरथुर काम्नु पर्ने अवस्था रहेको चर्चा गर्दै राजा फालेर गणतन्त्र ल्याउदा धेरै राजा जन्मिएका बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको पत्रकारीता र प्रेस स्वतन्त्रता खुम्चिदो अवस्थामा रहेको छ ।”
फोनिजका बरिष्ठ उपाध्यक्ष गजुर्धन राईले ओझेलमा परेका डाँडा, थुम्का, गढी र पाटीपौवा जस्ता ऐतिहासिक ठाँउको पर्यटन प्रबद्र्धन र विकासका लागि फोनिजले राष्ट्रिय भेला गर्दै आएको बताउनुभयो ।
फोनिजका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गोलन्जोर गाँउपालिका अध्यक्ष पुष्पबहादुर कार्की, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन कार्की लगायतले भेलाको महत्वमाथि प्रकास पार्नु भएको थियो ।
“सञ्चारमा समावेशिता कानुन चाहियो, व्यवहार पनि चाहियो” भन्ने मूल नाराका साथ सुरु भएको दुई दिने उक्त भेलामा फोनिजका ५६ जिल्लाका जिल्लाका अध्यक्ष, संघिय समिति, सल्लाहाकार समिति र सात वटै प्रदेशका अध्यक्षको सहभागिता रहेको आयोजकले जनाएको छ । सिन्धुलीगढी घोषणपत्र जारी गर्दै फेला सकिने फोनिज सिन्धुलीका जिल्ला अध्यक्ष नबिन श्रेष्ठले जानकारी दिनुभयो ।