प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका भएपनि कार्य व्यस्तताका कारण मन्त्रिमण्डल पुनर्गठनको काम बिहीबारका लागि सरेको छ । बालुबाटारमा बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठक लगत्तै मन्त्रीमण्डल हेरफेर गरेर आजै सपथ हुने बताइएको थियो ।
बालुबाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली व्यस्त भएका कारण बुधबार मन्त्रीहरुको हेरफेर हुन नसकेको हो । यद्यपि मन्त्री बन्ने सबैको टुंगो लागि नसकेको हुँदा मन्त्रिमण्डल पुनर्गठनको काम बुधबार नभएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओली र दाहालबीच मन्त्रिमण्डल हेरफेरको सम्बन्धमा बुधबार बिहान छलफल भएको छ । त्यसलगत्तै दुबै अध्यक्ष थप छलफलका लागि राष्ट्रपति भवन शितल निवास पुगेका थिए ।
यसैबीच प्रधानमन्त्री ओलीले हेरफेर हुने मन्त्रीहरुको नामावली आजै टुंगो लगाउने तयारी गरेको प्रधानमन्त्री निकट श्रोतको भनाइ छ । “प्रधानमन्त्रीले मन्त्रिहरुको नाम आजै टुंगो लगाउँनु हुन्छ,” श्रोतले भन्यो,“तर शपथ भने भोलि हुने सम्भावना छ ।”