संसद सचिवालयकी महिला कर्मचारीलाई जबरजस्ती करणी प्रयास गरेको अभियोगमा निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंको आदेशमा कात्तिक १८ गते पुर्पक्षका लागि जेल चलान हुनु भएकोछ ।
महरा डिल्लीबजार सदरखोर कारागारमा बन्दीका रुपमा जेल जीवन बिताइरहनु भएकोछ । जेल अन्य भीआईपी कैदीबन्दीभन्दा महराको दिनचर्या सामान्य रहेको डिल्लीबजार कारागार सदरखोरकी शाखा अधिकृत सीता अधिकारीले बताउनु भयो ।
“महराज्यूको आनीबानीको बारेमा मैले आजै बुझेकी थिएँ, उहाँ सामान्य रुपमा दिनचर्या बिताइरहनुभएको छ,” शाखा अधिकृत अधिकारीले भन्नु भयो , “उहाँमा अन्य भीआईपी कैदी जस्तो घमण्ड पनि देखिएन ।”
डिल्लीबजार कारागारमा बन्दी ढड्डाको ३४३ नम्बर बन्दीका रुपमा कृष्णबहादुर महराको नाम दर्ता छ । पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी र पूर्व प्रहरी नायव महानिरीक्षक रञ्जन कोइराला महराका जेलका साथी बन्नु भएकोछ ।
महरा हरेक दिन बिहान ४ बजेदेखि ५ बजेसम्म ब्यूझिने गरेका कारागारका चौकीदार दिपक गिरीले बताउनु भयो । “राति ९ बजे महरा सरको सुत्ने समय हो,” चौकीदार गिरीले भन्नुभयो, “उहाँ उठिसकेपछि अन्य साथीहरूलाई पनि उठाउनुहुन्छ । उठौं साथीहरू उज्यालो भइसक्यो भनेर अरूलाई पनि भन्नुहुन्छ ।”
डिल्लीबजार कारागारमा कृष्णबहादुर महरासँगै निलम्बित सांसद रेशम चौधरी, डीबी कार्की, रमेश चन्द ठकुरी, रञ्जन कोइराला, शम्भु भारतीसहित ६ जना भीआईपी कैदीबन्दी हुनुहुन्छ । महरा लगायत भीआईपीलाई अन्य कैदीबन्दीसँग नराखेर छुट्टै सानो समूहमा राखिएको शाखा अधिकृत अधिकारीले बताउनु भयो । “सुरक्षाको हिसाबले उहाँहरूलाई ठूलो समूहमा नराखेर छुट्टै सानो समूहमा राखिएको छ,’ अधिकारीले भन्नु भयो ।
महराले बिहान उठ्ने वित्तिकै नित्यकर्म सकेपछि घाम ताप्ने र फलफूल खाने गर्नु हुन्छ । उहाँको दिनचर्या धेरैजसो किताब पढेर बित्ने गरेको शाखा अधिकृत अधिकारीलेबताउनु भयो । “उहाँले धेरैजसो किताब पढेर दिन बिताउनुहुन्छ, अहिले पनि उहाँ सामान्य जीवनशैली बिताइरहनुभएको छ,’ अधिकारीले भन्नु भयो ।
हप्ताको २ दिन मात्रै महराले भात खानु हुन्छ । अन्य ५ दिन कारागारको मेसमा रोटी खाने गरेको अधिकारीले बताउनु भयो । “महराज्यूको लागि मेसमा रोटीको व्यवस्था गरिएको छ, बाहिरबाट ल्याउने अन्य व्यवस्था गरेका छैनौं,” अधिकारीले भन्नु भयो ।
महराले जेलभित्र सामान्य बन्दीसरह व्यवहार गर्न भन्नु भएको छ । “अरू कैदीबन्दी जस्तै म पनि उस्तै हुँ,” महराको भनाइ उदृत गर्दै चौकीदार दिपक गिरीले भन्नुभयो, “मलाई अन्य कैदीबन्दीहरूलाई जस्तै व्यवहार गर्नुहोला, म पनि अरू जस्तै नै हुँ ।”
महराको लागि जेलमा एउटा ‘सिङ्गल बेड’को व्यवस्था गरिएको छ । महरालाई जेलभित्र अन्यभन्दा फरक सुविधा दिइएको ‘बेड’ मात्र भएको शाखा अधिकृत सीता अधिकारीले बताउनु भयो । महराका परिवारका सदस्यले फलफूल ल्याउने गरेको चौकीदार गिरीले बताउनु भयो ।
“उहाँलाई अन्य भेट्न आएको मैले थाहा पाएको छैन । मैले नचिनेको पनि हुनसक्छ । परिवारका सदस्यहरू भने आइरहनुभएको छ,” गिरीले भन्नु भयो ।