शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

हिमतालको मौन खतरा : नेपालका सयभन्दा बढी हिमतालताल फुट्ने जोखिममा

शुक्रवार , भाद्र १२, २०८३


काठमाडौँ,१२ भदौ –जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिमनदी पग्लिँदै जाँदा नेपालका सयभन्दा बढी हिमताल फुट्ने जोखिममा रहेको विज्ञहरूले बताएका छन् । म्यानमारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दकुश हिमालय क्षेत्रमा उच्च जोखिममा रहेका हिमतालको संख्या नेपाल र तिब्बतमा सबैभन्दा धेरै रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

चाइनिज एकेडेमी अफ साइन्सेजबाट हिमतालसम्बन्धी विषयमा विद्यावारिधि गरेका वैज्ञानिक डा. नितेश खड्काका अनुसार नेपाल र तिब्बती क्षेत्रमा हिमतालको जोखिम अन्य मुलुकको तुलनामा बढी छ । हिन्दकुश हिमालय भारतलगायतका मुलुकमा समेत फैलिएको भए पनि त्यहाँ जोखिमयुक्त हिमतालको संख्या तुलनात्मक रूपमा कम रहेको उनको भनाइ छ ।

“हिन्दकुश हिमालय क्षेत्रमा रहेका तालको अवस्थाबारे सन् २०२० तिर अध्ययन भएको थियो । त्यसपछि खासै अध्ययन भएका छैनन्,” डा. खड्काले भने, “बढ्दो तापक्रमका कारण दैनिकजसो हिउँ पग्लिने र नयाँ हिमताल बन्ने क्रम बढेकाले जोखिम पनि निरन्तर बढिरहेको छ ।”

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले सन् २०२० मा प्रकाशित गरेको प्रतिवेदनमा नेपालका हिमाली क्षेत्रमा रहेका २१ वटा हिमताल जुनसुकै बेला फुट्न सक्ने जोखिममा रहेको उल्लेख गरिएको थियो । तर, पछिल्लो अवस्थाको विश्लेषण गर्दा जोखिमयुक्त हिमतालको संख्या कम्तीमा सयभन्दा बढी पुगेको डा. खड्काले बताए ।

“हिमताललाई उच्च, मध्यम र सामान्य जोखिमका तहमा वर्गीकरण गर्न सकिन्छ । ती तालको अध्ययन गरी समयमै जोखिम न्यूनीकरण गर्नुपर्छ,” उनले भने । नेपालमा दुई हजार तीन सयभन्दा बढी हिमताल रहेको तथ्यांक सार्वजनिक भइसकेको उल्लेख गर्दै उनले प्रत्येक ताललाई समान रूपमा सुरक्षित ठान्न नसकिने बताए ।

हिमपहिरोले बगाएर ल्याएका माटो, ढुङ्गा र गेग्रान थुप्रिएर बनेका ताल दीर्घकालीन रूपमा स्थिर नहुने भएकाले कुनै पनि बेला फुट्न सक्ने उनको भनाइ छ । त्यसैले २१ वटा ताल मात्र जोखिममा छन् भन्नु अहिलेको अवस्थामा अपूर्ण हुने उनले बताए । उपलब्ध सबै वैज्ञानिक अध्ययन र अनुसन्धानपत्रको समग्र विश्लेषण गरी थप अध्ययन आवश्यक रहेको उनको सुझाव छ ।

इसिमोडको अध्ययनमा संलग्न वरिष्ठ जलवायु विज्ञ तथा हिमताल अध्येता डा. अरुणभक्त श्रेष्ठले हिमतालको जोखिम सधैँ कायम रहने भएकाले तत्काल न्यूनीकरणका काम अघि बढाउनुपर्ने बताए । सम्भावित क्षति घटाउन पूर्वसूचना प्रणालीको विकास र विस्तारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

नेपालले यसअघि उच्च जोखिममा रहेका इम्जा र छ्यो रोल्पा हिमतालको जोखिम घटाउने काम गरिसकेको छ । यूएनडीपीको आर्थिक सहयोगमा नेपाली सेनाले इम्जा हिमतालको जलसतह घटाउँदै पानी निकासका लागि पक्की संरचना निर्माण गरेको थियो । तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणालीसमेत जडान गरिएको छ । डा. श्रेष्ठले अन्य जोखिमयुक्त तालमा पनि यही काम चरणबद्ध रूपमा विस्तार गर्नुपर्ने बताए ।

सन् २०२० को प्रतिवेदनले नेपाल, तिब्बत र भारतमा गरी ४७ वटा हिमताललाई जोखिमको सूचीमा राखेको थियो । त्यसमध्ये तिब्बतमा २५, नेपालमा २१ र भारतमा एउटा ताल रहेको थियो । यद्यपि पछिल्लो समय तिब्बततर्फ पनि जोखिमयुक्त तालको संख्या उल्लेखनीय रूपमा बढेको डा. खड्काले बताए ।

नेपालमा सबैभन्दा बढी जोखिम कोसी जलाधार क्षेत्रमा देखिएको छ । त्यसअन्तर्गत दूधकोसी जलाधारमा जोखिमयुक्त हिमतालको संख्या बढी रहेको उहाँले जानकारी दिए । नेपालका अधिकांश ठूला हिमनदीको मुहान तिब्बतमा रहेकाले त्यहाँका ताल फुट्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्नेछ ।

“अरुण, दूधकोसी, तामाकोसी, भोटेकोसी, बूढीगण्डकी, मस्र्याङ्दी र हुम्ला कर्णाली नदीका पानीका मुहान तिब्बतमा छन्,” डा. खड्काले भने, “तिब्बतमा हिमताल फुटेमा भोटेकोसी बाढीका क्रममा भएको जस्तै ठूलो क्षति यी नदी जलाधार क्षेत्रमा हुन सक्छ ।”

हिमतालका अर्का अध्येता प्राडा. रिजनभक्त श्रेष्ठले जोखिमलाई अत्यन्त गम्भीर र संवेदनशील विषयका रूपमा लिनुपर्ने बताए । विश्वव्यापी तापक्रम वृद्धि भइरहेकाले हिउँ पग्लिने र हिमताल बन्ने क्रम जारी रहने हुँदा नेपाल सधैँ जोखिममा रहने उनको भनाइ छ । हिमताल फुट्नुअघि नै जोखिम न्यूनीकरणका काम, विशेषगरी प्रभावकारी पूर्वसूचना प्रणाली, विकास गर्न सके तल्लो तटीय क्षेत्रमा हुने सम्भावित जनधनको क्षति उल्लेखनीय रूपमा घटाउन सकिने उनले बताए ।

प्रतिक्रिया