एउटा विचार, जसले पुस्तालाई प्रेरित गर्छ ,एउटा विचार, जसले लोकतन्त्रलाई जीवन दिन्छ , एउटा विचार, जो कहिल्यै मर्दैन ।
इतिहासले कहिलेकाहीँ यस्ता व्यक्तित्व जन्माउँछ, जसको मूल्यांकन उनी बाँचेको समयले मात्र होइन, आउने पुस्ताले पनि गरिरहन्छ । जननायक विश्वेश्वरप्रसाद (बीपी) कोइराला त्यही दुर्लभ व्यक्तित्वमध्ये एक हुन् । उहाँको निधन भएको ४४ वर्ष बितिसकेको छ, तर उहाँले उठाएका प्रश्न, देखाएका सपना र स्थापित गरेका मूल्यहरू आज पनि नेपाली समाज र राजनीतिमा उत्तिकै जीवन्त छन् । त्यसैले बीपीलाई सम्झँदा एउटा कुरा सहजै मनमा आउँछ—बीपी एउटा नाम होइन, कहिल्यै नमर्ने विचार हुन् ।
नेपालमा लोकतन्त्रको इतिहास लेख्दा बीपीको नाम उल्लेख नगरी कुनै पाना पूरा हुँदैन । १०४ वर्षे राणा शासनविरुद्ध जनतालाई संगठित गर्ने, नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गर्ने, २००७ सालको क्रान्तिलाई निर्णायक मोडमा पुर्याउने र नेपाली जनतालाई आफ्नै मतबाट सरकार छान्ने अधिकार दिलाउने आन्दोलनमा उहाँको योगदान आधारशिला सरह छ । वि.सं. २०१५ सालको पहिलो आमनिर्वाचनमा नेपाली काँग्रेसले ऐतिहासिक जनादेश प्राप्त गर्नु र त्यसपछि बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नु केवल एउटा राजनीतिक उपलब्धि थिएन, त्यो नेपाली जनताको सार्वभौम अधिकारको विजय थियो ।
प्रधानमन्त्रीका रूपमा उहाँले बिताएको समय छोटो थियो, तर सोच निकै ठूलो थियो । भूमिसुधारको सुरुवात, बिर्ता प्रथा अन्त्य गर्ने निर्णय, किसानमुखी नीति, प्रशासनलाई जनउत्तरदायी बनाउने प्रयास, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने दृष्टिकोण—यी सबैले उहाँ तत्कालीन समयभन्दा धेरै अगाडि सोच्ने नेता हुनुहुन्थ्यो भन्ने प्रमाण दिन्छ । उहाँ विकासलाई केही सीमित वर्गको सुविधा होइन, सामान्य नागरिकको अधिकारका रूपमा हेर्नुहुन्थ्यो ।
तर इतिहासले उहाँलाई सहज यात्रा दिएन । २०१७ साल पुस १ गते निर्वाचित सरकार अपदस्थ गरियो, प्रजातन्त्र खोसियो र बीपीलाई जेल हालियो । वर्षौँ जेल र निर्वासनमा बिताउँदा पनि उहाँको विश्वास कहिल्यै डगमगाएन । धेरैले सम्झौता गरेर सुविधा रोज्ने अवस्थामा उहाँले सिद्धान्त रोज्नुभयो । यही कारण उहाँको राजनीतिक उचाइ सत्ता वा पदले होइन, त्याग र अडानले मापन गरिन्छ ।
बीपीको राजनीतिक जीवनको सबैभन्दा परिपक्व अध्याय राष्ट्रिय मेलमिलापको नीति हो। देशको राष्ट्रियता कमजोर हुँदै गएको महसुस भएपछि उहाँले व्यक्तिगत पीडा र राजनीतिक प्रतिशोधभन्दा माथि उठेर सबै नेपालीलाई एकताको सन्देश दिनुभयो । राष्ट्र बलियो भए मात्रै लोकतन्त्र बलियो हुन्छ भन्ने उहाँको विश्वास आज पनि नेपालको राजनीतिक यथार्थसँग मेल खान्छ । विचार फरक हुन सक्छन्, तर देशभन्दा ठूलो कुनै स्वार्थ हुन सक्दैन भन्ने शिक्षा बीपीले आफ्नो जीवनबाट दिनुभयो ।
बीपीको अर्को असाधारण पक्ष उहाँको बौद्धिक व्यक्तित्व हो। उहाँ राजनीति गर्ने मात्र होइन, राजनीति बुझ्ने नेता हुनुहुन्थ्यो । साहित्य, दर्शन, अर्थशास्त्र, मनोविज्ञान र समाजबारे उहाँको अध्ययन गहिरो थियो । त्यसैले उहाँका भाषणमा विचार हुन्थ्यो, निर्णयमा दूरदृष्टि हुन्थ्यो र लेखनमा जीवनको यथार्थ देखिन्थ्यो । ’सुम्निमा’, ’तीन घुम्ती’, ’नरेन्द्र दाइ’, ’दोषी चस्मा’ वा ’जेल जर्नल’ पढ्दा एउटा नेता मात्र होइन, संवेदनशील लेखक र चिन्तक पनि भेटिन्छ ।
आज हामी लोकतन्त्रमा छौँ, तर लोकतान्त्रिक संस्कारको परीक्षा अझै जारी छ । भ्रष्टाचार, अवसरवाद, राजनीतिक अस्थिरता, युवाको विदेश पलायन, बेरोजगारी र जनविश्वासको संकटले मुलुकलाई चुनौती दिइरहेको छ । यस्ता बेला बीपीका विचार झन् आवश्यक देखिन्छन् । उहाँले कल्पना गर्नुभएको राजनीति सेवा, नैतिकता, उत्तरदायित्व र जनविश्वासमा आधारित थियो । दुर्भाग्यवश, आजको राजनीतिमा यिनै पक्ष सबैभन्दा कमजोर देखिन्छन् ।
हामी युवा पुस्ताले बीपीलाई केवल स्मृति दिवसमा सम्झिने व्यक्तिका रूपमा सीमित राख्नु हुँदैन । उहाँलाई बुझ्नुपर्छ, पढ्नुपर्छ र उहाँका विचारलाई व्यवहारमा उतार्नुपर्छ। लोकतन्त्र केवल मतदान गरेर पूरा हुँदैन; लोकतन्त्र नागरिकको चेतना, नैतिक नेतृत्व र उत्तरदायी शासनबाट बलियो हुन्छ । बीपीले यही शिक्षा दिनुभएको थियो ।
आज उहाँको ४४औँ स्मृति दिवसमा फूल अर्पण गर्नु सम्मानको एउटा माध्यम हुन सक्छ, तर त्यो पर्याप्त होइन । उहाँका आदर्शलाई व्यवहारमा उतार्ने, सत्यको पक्षमा उभिने, अन्यायको विरोध गर्ने, राष्ट्रलाई दल र व्यक्तिभन्दा माथि राख्ने तथा राजनीतिलाई सेवाको माध्यम बनाउने संस्कार विकास गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
बीपीको शरीर २०३९ साल साउन ६ गते अस्तायो, तर उहाँको विचार कहिल्यै अस्ताएको छैन । जबसम्म नेपालमा लोकतन्त्र, स्वतन्त्रता, सामाजिक न्याय, राष्ट्रिय एकता र नैतिक नेतृत्वको खोजी भइरहन्छ, तबसम्म बीपी जीवित रहिरहनुहुनेछ । किनकि केही मानिस इतिहास बन्छन्, तर केही विचार इतिहासभन्दा पनि लामो समय बाँचिरहन्छन् । बीपी त्यही अमर विचारको नाम हो ।