सिन्धुली,०३ – नेपालकै लोपोन्मुख जातिमध्ये एक हायु समुदायको बसोबास रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका–२ स्थित बस्ती अहिले सरसफाइ, सामाजिक अनुशासन र आर्थिक आत्मनिर्भरताको उदाहरणका रूपमा स्थापित भएको छ । विगतमा गरिबी, अशिक्षा र पछौटेपनसँग जोडेर हेरिने हायु समुदायले आफ्नो जीवनशैली र सामुदायिक अभ्यासमार्फत फरक पहिचान निर्माण गरेको छ ।
करिब २० घरपरिवारको बसोबास रहेको उक्त बस्तीमा प्रवेश गर्नेबित्तिकै व्यवस्थित र सफा वातावरणले ध्यान खिच्छ । घरआँगनदेखि भान्सासम्म सफाइमा विशेष ध्यान दिइएको छ । प्रत्येक घरमा शौचालय र खानेपानीको सुविधा छ भने आँगनमा फूल रोपेर वातावरणलाई थप आकर्षक बनाइएको छ ।
स्थानीयवासीका अनुसार विकट भौगोलिक अवस्थाबीच पनि टोल सुधार समिति गठन गरी नियमित रूपमा सरसफाइ अभियान सञ्चालन गरिँदै आएको छ । स्थानीय सरकार र दातृ निकायको सहकार्यमा ‘स्वच्छ तथा सफा टोल घोषणा’ अभियान सञ्चालन भएपछि बस्तीको स्वरूप थप व्यवस्थित बनेको हो ।
स्थानीय सुशिला हायुका अनुसार समुदायमा सरसफाइप्रतिको चेतना पहिलेदेखि नै थियो, पछिल्लो समय विभिन्न कार्यक्रममार्फत जनचेतना अझ बढेपछि त्यसले सकारात्मक परिणाम दिएको छ । “हामी पहिलादेखि नै सफा बस्नुपर्छ, सफा बनाउनु पर्छ भन्नेमा थियौँ। पछिल्लो समय थप जनचेतना अभिवृद्धिले घरआँगन सफा बनाउन मद्दत पुगेको हो,” उनले भनिन् । उनका अनुसार बस्तीमा मदिरा सेवन गरेर आर्थिक स्रोत नष्ट गर्ने वा पारिवारिक विवाद निम्त्याउने प्रवृत्ति छैन । “यहाँ मदिरा खाएर मातिने, पैसा सक्ने र घरझगडा हुनेजस्ता समस्या छैनन्,” उनले थपिन् ।
हायु समुदायले राज्यबाट प्राप्त हुने लोपोन्मुख जातिको सामाजिक सुरक्षा भत्तामा मात्र निर्भर रहने बाटो रोजेको छैन । अधिकांश परिवार व्यवसायिक कृषि र फलफूल खेतीमा संलग्न छन् । विशेषगरी जुनार खेती यहाँको प्रमुख आम्दानीको स्रोत बनेको छ ।
बस्तीबाट करिब दुई घण्टाको सवारी दूरीमा रहेको विपी राजमार्गसम्म सहज पहुँच भएपछि उत्पादित फलफूलले बजार पाउने अवस्था बनेको स्थानीयको भनाइ छ । बस्ती वरिपरि फैलिएका जुनारका बगैँचाले त्यस क्षेत्रलाई हराभरा र आकर्षक बनाएका छन् ।
स्थानीय मानबहादुर हायु सामूहिक प्रयासकै कारण बस्ती नमुना बन्न सफल भएको बताउँछन् । “लोपोन्मुख जाति भनेर हामीलाई सरकारले भत्ता त दिन्छ, तर त्यसले हाम्रो खर्च पुग्दैन। त्यसैले थप कृषिलाई व्यवसायिकता दिएका छौँ,” उनले भने । उनका अनुसार समुदायले शिक्षा क्षेत्रमा पनि ध्यान दिएको छ । “छोराछोरीलाई राम्रो शिक्षा दिएका छौँ,” उनले बताए ।
सरकारबाट प्राप्त हुने भत्ताको उपयोगबारे पनि समुदाय सचेत रहेको उनको भनाइ छ । “हामीले मदिरा पिएर भत्ता सकाएका छैनौँ। विभिन्न संघसंस्थाले जनचेतना दिएसँगै हामीले त्यसको सदुपयोग गर्दै थप आर्थिक उपार्जनमा लागेका हौँ,” उनले भने ।
वडा अध्यक्ष जीवन बुर्जाका अनुसार हायु समुदायको परिवर्तनको मूल आधार आत्मअनुशासन र सामुदायिक जिम्मेवारीबोध हो । “हायु बस्ती भए पनि आफ्नो गाउँ–टोल आफैं स्वच्छ राख्नुपर्छ भन्ने जनचेतना भएकाले बस्ती सफा र स्वच्छ छ,” उनले भने ।
उनका अनुसार लोपोन्मुख जातिका रूपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गरे पनि त्यसको दुरुपयोग नगरी उत्पादनशील क्षेत्रमा लगानी गरेकाले समुदाय उदाहरणीय बनेको हो। “लोपोन्मुख जाति भएकै आधारमा उहाँहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध छ । तर भत्ता दुरुपयोग नगरी सदुपयोग गर्दा हायु समुदाय उदाहरण बनेको हो,” उनले भने, “हायु गाउँ नै सुन्दर छ । सबैले हेर्न र यहाँबाट सरसफाइ तथा स्वच्छ गाउँ कस्तो हुन्छ भनेर सिक्न सकिन्छ ।”