सिन्धुली,३१ जेठ — विद्यालयबाहिर रहेका बालबालिकालाई पुनः शिक्षाको मूलधारमा जोड्ने उद्देश्यसहित सिन्धुलीमाढीमा आइतबार विद्यालयका प्रधानाध्यापकहरूको सहभागितामा समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । ‘हर बालबालिकाको अधिकार, शिक्षामा समान पहुँच र अवसर’ भन्ने मूल नारालाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा विद्यालयबाहिर रहेका तथा बीचमै अध्ययन छाडेका बालबालिकालाई पुनः विद्यालयसम्म कसरी ल्याउने भन्ने विषयमा विस्तृत बहस गरिएको थियो ।
कमलामाई नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा ह्यान्ड्स नेपाल र प्लान इन्टरनेसनल नेपालको सहयोग रहेको थियो । ‘विद्यालय बाहिर रहेका बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन निर्देशिका, २०८२’ को प्रभावकारी कार्यान्वयन तथा स्थानीय तहमा यसको व्यवहारिक पक्षबारे समीक्षा गर्न कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान, विद्यालय छाड्नुका कारणहरूको विश्लेषण, पुनः भर्ना प्रक्रिया तथा विद्यालयमा टिकाइराख्ने उपायहरूबारे सरोकारवालाबीच गम्भीर छलफल भएको थियो। सहभागीहरूले गुणस्तरीय शिक्षाको सुनिश्चिततासँगै प्रत्येक बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन आवश्यक रणनीतिहरूमाथि धारणा राखेका थिए।
कार्यक्रमका मुख्य सहजीकर्ताका रूपमा कमलामाई नगरपालिकाका निमित्त शिक्षा शाखा प्रमुख सर्जित तामाङले सहजीकरण गरेका थिए। उनले ‘विद्यालय बाहिर रहेका बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन निर्देशिका, २०८२’ को प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, विद्यालय र समुदायबीचको समन्वयलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए। साथै विद्यार्थीको विद्यालय पहुँच वृद्धि गर्न अपनाउन सकिने व्यावहारिक उपायहरूबारे पनि जानकारी गराएका थिए।
समीक्षा कार्यक्रममा जीएसएस परियोजना र उज्जवलता परियोजनामार्फत नगरभित्रका २४ वटा विद्यालयमा गरिएको अध्ययन तथा तथ्यांक संकलनको प्रतिवेदन प्रस्तुत गरिएको थियो । ह्यान्ड्स नेपालकी परियोजना संयोजक कमला लामाले उक्त अध्ययनको समीक्षा गर्दै विद्यालयबाहिर रहेका बालबालिकाको अवस्था, उनीहरूले विद्यालय छाड्नुका प्रमुख कारण तथा पुनः शिक्षामा सहभागी गराउने सम्भावनाबारे जानकारी प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रमका सहभागीहरूले विद्यालयबाहिर रहेका बालबालिकाको समस्या केवल शिक्षा क्षेत्रको विषय नभई सामाजिक, आर्थिक र पारिवारिक अवस्थासँग समेत जोडिएको विषय भएको उल्लेख गर्दै बहुपक्षीय सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
छलफलको निष्कर्षमा स्थानीय सरकार, विद्यालय, अभिभावक, समुदाय तथा गैरसरकारी संस्थाबीच प्रभावकारी समन्वय र साझेदारीमार्फत मात्रै नगरभित्रका शतप्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन सकिनेमा सहभागीहरू एकमत भएका थिए। सोही प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।