शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

माैसम पूर्वानुमान

यो बर्ष कमजोर मनसुनको संकेत, गर्मी बढ्ने प्रक्षेपण ,विपद् जोखिम कायमै

बिहिवार , जेठ २८, २०८३

काठमाडौं, २८ जेठ — जल तथा मौसम विज्ञान विभागले मनसुन ऋतु २०८३ का लागि सार्वजनिक गरेको अद्यावधिक जलवायु आँकलनले देशभर सरदरभन्दा कम वर्षा र बढी तापक्रम रहने सम्भावना दोहो¥याएको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले १ जुनदेखि ३० सेप्टेम्बरसम्म (१८ जेठदेखि १४ असोज २०८३) को अवधिलाई आधार बनाएर जारी गरेको प्रतिवेदनमा यस वर्षको मनसुन अपेक्षाकृत कमजोर रहने संकेत गरिएको हो ।

महाशाखाले यसअघि वैशाख २५ गते सार्वजनिक गरेको प्रारम्भिक आँकलनमा पनि वर्षा कम र तापक्रम बढी रहने उल्लेख गरेको थियो । एक महिनापछि सार्वजनिक गरिएको अद्यावधिक विवरणले त्यस निष्कर्षलाई यथावत् राखेको छ । प्रारम्भिक प्रतिवेदनमा उच्च हिमाली क्षेत्रका केही भूभागमा सरदर वर्षा हुन सक्ने संकेत देखाइएको भए पनि पछिल्लो अद्यावधिकमा त्यो सम्भावना हटाइएको छ ।

नेपालको वार्षिक कुल वर्षाको करिब ८० प्रतिशत हिस्सा मनसुनी वर्षाबाट प्राप्त हुने भएकाले वर्षा कमीको प्रत्यक्ष असर कृषि उत्पादन, खानेपानी आपूर्ति, जलस्रोत व्यवस्थापन तथा जलविद्युत् उत्पादनमा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

विभागका अनुसार पूर्वी नेपालको तुलनामा पश्चिमी भूभागमा वर्षा कमीको सम्भावना अझ बढी देखिएको छ । कर्णाली प्रदेशका दक्षिणी क्षेत्र, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, कर्णालीका उत्तरपश्चिमी क्षेत्र, गण्डकी प्रदेशका पूर्वी भूभाग, बागमती प्रदेशका दक्षिणी क्षेत्र, मधेश प्रदेशका पश्चिमी भूभाग तथा कोशी प्रदेशका मध्य भागमा यो सम्भावना ४५ देखि ५५ प्रतिशत छ । देशका बाँकी क्षेत्रमा पनि वर्षा सरदरभन्दा कम रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

मौसम तथा विपद् अध्ययनकर्ता डा. धर्मराज उप्रेतीका अनुसार वर्षामा निर्भर कृषि प्रणाली भएको नेपालमा यस्तो अवस्थाले विशेषगरी धान खेती प्रभावित हुन सक्छ । रोपाइँ, बालीको वृद्धि र उत्पादनमा प्रतिकूल असर पर्ने जोखिम रहने उनको भनाइ छ ।

विभागको प्रक्षेपणले मनसुन अवधिभर अधिकतम तापक्रम पनि सरदरभन्दा माथि रहने देखाएको छ । कर्णालीका उत्तरी भूभाग, लुम्बिनीका दक्षिणी क्षेत्र, गण्डकीका दक्षिणी भूभाग, बागमतीका दक्षिणपश्चिमी क्षेत्र, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी भाग र कोशी प्रदेशका उत्तरपूर्वी तथा दक्षिणी क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा माथि रहने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । सुदूरपश्चिमका मध्य तथा उत्तरी क्षेत्र, गण्डकीका उत्तरपूर्वी भूभाग र कोशीका मध्य भागमा यो सम्भावना ३५ देखि ४५ प्रतिशत तथा अन्य क्षेत्रमा ४५ देखि ५५ प्रतिशत रहेको छ ।

डा. उप्रेतीका अनुसार तापक्रम वृद्धिसँगै अत्यधिक गर्मी हुने दिनको संख्या बढ्न सक्छ भने ऊर्जा र पानीको मागमा समेत उल्लेख्य वृद्धि हुन सक्छ । विभागले न्यूनतम अर्थात् राति तथा बिहानको तापक्रम पनि सरदरभन्दा माथि रहने प्रक्षेपण गरेको छ । लुम्बिनीका दक्षिणी भूभाग, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी क्षेत्र, कोशीका दक्षिणी भूभाग तथा कर्णाली, गण्डकी र बागमतीका केही क्षेत्रमा न्यूनतम तापक्रम बढ्ने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । अन्य क्षेत्रमा यो सम्भावना ३५ देखि ५५ प्रतिशतको बीचमा रहेको छ ।

यद्यपि समग्र वर्षा कम हुने अनुमान गरिए पनि विपद्को जोखिम नघट्ने विज्ञहरूको चेतावनी छ । अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)का जलविद् मनीष श्रेष्ठ भन्छन्, “समग्र रूपमा मनसुन सुक्खा हुने संकेत देखिए पनि जोखिम कम हुन्छ भन्ने होइन । छोटो अवधिमा हुने तीव्र वर्षाले गम्भीर विपद् निम्त्याउन सक्छ ।”

पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण मनसुनी वर्षाको वितरण असन्तुलित बन्दै गएको छ । कतै अत्यधिक वर्षा र कतै लामो समयसम्म सुख्खा अवस्था रहने प्रवृत्ति बढिरहेको मौसमविद्हरू बताउँछन्। बढ्दो तापक्रम, घट्दो वर्षा तथा मनसुन सुरु हुनुअघि हिमपातको स्थायित्व (स्नो पर्सिस्टेन्स) कम हुँदा प्राकृतिक जल सञ्चिति कमजोर बनेको र त्यसले नदी प्रणाली तथा भू–जल पुनर्भरण प्रक्रियामा समेत असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

इसिमोडका वरिष्ठ सल्लाहकार अरुणभक्त श्रेष्ठका अनुसार अब खडेरी र बाढीलाई अलग–अलग विपद्का रूपमा मात्र हेरेर व्यवस्थापन गर्न सकिँदैन । “खडेरी र बाढीको जोखिमलाई अब छुट्टाछुट्टै व्यवस्थापन गर्न सकिँदैन । प्रारम्भिक चेतावनी प्रणाली, छोटो अवधिका पूर्वानुमान र स्थानीय तहमा आधारित तयारीका उपायहरूलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ,” उनले भने ।

विज्ञहरूले वर्षामा निर्भर किसानलाई सिँचाइ व्यवस्थापन सुदृढ बनाउन, वैकल्पिक बाली रोज्न तथा जल संरक्षणका उपाय अपनाउन सुझाव दिएका छन्। उच्च तापक्रमका कारण बढ्न सक्ने गर्मीजन्य स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै स्थानीय तह र स्वास्थ्य निकायले समेत आवश्यक पूर्वतयारी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

प्रतिक्रिया