काठमाडौं, २५ जेठ — नेपाली बजारमा बिक्री–वितरण भइरहेको दूधमा गुणस्तरहीनता, अखाद्य रसायन तथा कृत्रिम पदार्थको प्रयोग व्यापक रूपमा भेटिन थालेपछि उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ । पछिल्ला सरकारी अनुगमन, प्रयोगशाला परीक्षण तथा विभिन्न स्थानमा भएका कारबाहीले दूधमार्फत नागरिकको भान्सामा दीर्घकालीन स्वास्थ्य जोखिम निम्त्याउने पदार्थ प्रवेश गरिरहेको संकेत दिएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ३१ वैशाखमा भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा गरेको अनुगमनका क्रममा दूधमा मिसावट गर्न प्रयोग हुने ५६ किलोग्राम डेक्स्ट्रोज मोनोहाइड्रेट, ९ दशमलव ८६ किलोग्राम माल्टोडेक्स्ट्रिन तथा ३० किलोग्राम बेकरी सर्टेनिङ बरामद गरेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले उद्योगको प्रशोधन कक्ष तथा पास्चराइजर ट्यांकबाट शंकास्पद पदार्थ फेला पारेपछि नमुना परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो । उक्त उद्योगले कृत्रिम दूध तयार गरी सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र खुला बजारमा आपूर्ति गर्दै आएको तथ्य समेत खुलेको थियो ।
यसैबीच, जेठको पहिलो साता डीडीसीले काभ्रेको पनौतीस्थित चिस्यान केन्द्रमार्फत विभिन्न सहकारी तथा फार्मबाट संकलित ३ हजार २० लिटर दूध अखाद्य ठहर गर्दै नष्ट गरेको थियो । प्रयोगशाला परीक्षणले दूधमा चिनी मिसाइएको, अस्वाभाविक गन्ध रहेको तथा न्यूनतम गुणस्तरीय मापदण्ड पूरा नभएको पुष्टि गरेको थियो । यस घटनामा कर्मचारीको समेत मिलेमतो हुन सक्ने आशंका गरिएको छ ।
बुटवल उपमहानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गरेको संयुक्त अनुगमनमा कपिलवस्तु, नेपालगञ्ज, रुपन्देहीको मर्चवारी तथा शुद्धोधन क्षेत्रबाट आपूर्ति हुने दूधमा सोडालगायत रसायन मिसाइएको पाइएको थियो । परीक्षण गरिएका १२ आपूर्तिकर्तामध्ये १० वटाको दूधमा मिसावट भेटिएको थियो भने आवश्यक फ्याट र एसएनएफको मात्रा समेत न्यून रहेको पाइएको थियो ।
हेटौंडा–२ स्थित गायत्री डेरी इन्डस्ट्रिजमा गरिएको निरीक्षणले सरसफाइको गम्भीर अभाव देखाएको छ । उद्योग परिसरमा फोहोरको थुप्रो, कामदारले सुरक्षा सामग्री प्रयोग नगरेको अवस्था तथा प्रशोधन क्षेत्रमा अखाद्य सामग्री छरिएको भेटिएको थियो ।
खाद्य विभागकी प्रवक्ता तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार दूधमा कम्तीमा ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ हुनुपर्ने कानुनी व्यवस्था भए पनि बजारका नमुनामा फ्याट २ दशमलव ५ देखि २ दशमलव ९ प्रतिशत तथा एसएनएफ ७ दशमलव १ देखि ७ दशमलव ८ प्रतिशतसम्म मात्र पाइएको छ । “दूधमा सोडाजस्ता न्यूट्रलाइजरहरू मिसाइएको भेटिएको छ,” उनले भनिन्, “मापदण्डभन्दा कम हुनु न्यून गुणस्तर हो भने यस्ता रसायन मिसाइनु दूध दूषित हुनु हो।” उनका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा मात्रै ८२ वटा मुद्दा दायर भइसकेका छन् । यस्ता कसुरमा ६ महिनासम्म कैद, ३ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार कास्टिक सोडा, डिटर्जेन्ट, युरिया, हाइड्रोजन पेरोक्साइड तथा अन्य रसायनयुक्त दूधले पाचन प्रणाली, कलेजो र मिर्गौलामा दीर्घकालीन असर पु¥याउन सक्छ । डा. शर्माले पेटको हाइड्रोक्लोरिक एसिडको सन्तुलन बिग्रँदा अपचदेखि गम्भीर रोगसम्म निम्तिन सक्ने चेतावनी दिएकी छन् । विशेषगरी बालबालिकामा यसको असर बढी हुने तथा दीर्घकालीन सेवनले क्यान्सर, एलर्जी, अल्सर र अन्य जटिल रोगको जोखिम बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ ।
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले दूधमा फ्याटको मात्रा कृत्रिम रूपमा बढाउन पाम आयल, बेकरी सर्टेनिङ, युरिया, ग्लुटेन र ग्लुकोजसम्म प्रयोग भइरहेको दाबी गरे। “यो वास्तवमा मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ र यो ठगी पनि हो,” उनले भने, “यहाँ स्वास्थ्य, पैसा र उपभोक्ताको विश्वास—तीनै तहमा ठगी भइरहेको छ ।”
महर्जनका अनुसार प्याकेटबन्द दूधभन्दा खुला वा टुप्पी बाँधेर बिक्री हुने दूध शुद्ध हुने प्रचार गरिए पनि त्यस्ता दूधमा झन् बढी जोखिमपूर्ण मिसावट पाइने गरेको छ । उनले खाद्य विभाग र स्थानीय तहको अनुगमन प्रभावकारी हुन नसकेको उल्लेख गर्दै नियमित निगरानी र कडा कारबाहीको आवश्यकता औंल्याएका छन् । दूधमा हुने मिसावटलाई नियन्त्रण गर्न राज्यका नियामक निकायले अझ कठोर र परिणाममुखी कदम चाल्नुपर्ने आवश्यकता सरोकारवालाले औंल्याएका छन् ।