नेपालको कम्युनिस्ट आन्दोलनको आधारभूत मूल्य भनेकै विधि–पद्धति, सामूहिक निर्णय र संस्थागत प्रक्रियाप्रतिको सम्मान हो । तर पछिल्लो समय पुष्पकमल दाहाल र माधवकुमार नेपालका गतिविधिले केन्द्रीय समितिलाई औपचारिकताको खोल मात्र बनाइँदै गएको अनुभूति हुन थालेको छ । मनपरी निर्णय लिने प्रवृत्ति तीव्र हुँदै गएको देखिन्छ ।
सतहमा यो विषय प्राविधिकजस्तो देखिए पनि यसको जरो गहिरो वैचारिक विचलनमा छ । नेतृत्वले आफैँले बनाएको नियमलाई आफूअनुकूल तोडमोड गर्न थालेपछि प्रश्न केवल प्रक्रियामाथि मात्र होइन, सम्पूर्ण राजनीतिक संस्कारमाथि उठ्छ ।
आफूले निर्माण गरेको विधि–पद्धति आफैँले उल्ट्याउनु सामान्य त्रुटि होइन; यो संगठनात्मक नैतिकताको पतनको केत हो । विधि कमजोर भयो भने व्यक्ति बलियो हुन्छ, संस्था कमजोर भयो भने गुट बलियो हुन्छ । यही बाटोले पार्टीलाई सिद्धान्तबाट विचलित गर्दै अवसरवादको दलदलमा धकेल्ने जोखिम बढाउँछ ।
यति नांगो र भद्दा केन्द्रीकरण भइरहँदा पनि झलनाथ खनालबाहेक अन्य नेताहरू मौन बस्नु केवल सहमति मात्र होइन– शक्ति सन्तुलनको भय, व्यक्तिगत भविष्यको गणित र मनोवैज्ञानिक दबाबको परिणाम पनि हो । लोभ–लालच, आस–त्रास, अतिसंशय र अतिविश्वासबाट मुक्त हुन नसक्दा नेतृत्व र कार्यकर्ता पङ्क्ति यथार्थ मूल्याङ्कन गर्न असफल हुन्छन्, र त्यसको प्रतिफल सङ्गठनात्मक विचलनका रूपमा देखिन्छ ।
मूल प्रश्न सरल छ, पार्टी विधि र सिद्धान्तअनुसार चल्ने हो कि व्यक्तिको इच्छाअनुसार? यदि समयमै आत्मसमीक्षा भएन भने विधि–पद्धतिको खिल्ली उडाउने यही प्रवृत्तिले सङ्गठनको नैतिक मेरुदण्ड नै भाँच्नेछ ।
निर्वाचन प्रक्रियामा देखिएको स्वेच्छाचारिता
२०८२ को संघीय निर्वाचनको सन्दर्भमा यो प्रवृत्ति अझ स्पष्ट रूपमा प्रकट भएको छ । प्रचण्ड–माधवको सर्कुलरअनुसार कार्यदल निर्माण गरेर सिन्धुलीमा उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाइएको थियो । निर्वाचन क्षेत्र नं. १ मा राजन दाहाल, चित्रबहादुर लुंगेली, डेकेन्द्र सुवेदी, जानुका तिमल्सिना र विजय खड्काको नाम सर्वसम्मत सिफारिस भयो भने क्षेत्र नं. २ मा पुष्पकमल दाहाल, हरिबोल गजुरेल, पानीराज बम्जन, महेश्वर दाहाल, अनिता राई र सुमन रानाको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको थियो ।
पछि पुष्पकमल दाहालले रुकुम पूर्वबाट उम्मेदवारी दिने निर्णय गरेपछि स्वाभाविक रूपमा क्षेत्र नं. २ का सिफारिस गरिएका व्यक्तिमध्येबाट कसैलाई टिकट दिनु प्रक्रियासम्मत कदम हुनुपर्ने थियो । तर जिल्ला कार्यदल र सिफारिस भएका उम्मेदवारसँग परामर्शको त कुरै छाडौँ, जानकारीसमेत नगराई क्षेत्र नं. १ बाट सिफारिस भएका राजन दाहाललाई प्रदेश कमिटीमार्फत अनधिकृत सिफारिस गराएर २०८२ माघ ४ गते सिन्धुली–२ को टिकट दिइयो । यो निर्णयले विधि र प्रक्रियाको गरिमा मात्र घटाएन– जिल्लाका नेता–कार्यकर्ताको आत्मसम्मानमाथि पनि ठाडो प्रहार ग¥यो ।
यस स्वेच्छाचारी निर्णयलाई २०८२ माघ ५ गते बसेको जिल्ला कार्यदल बैठकले अस्वीकार गर्दै सच्याउन माग ग¥यो; गल्ती नसच्याए स्वतन्त्र उम्मेदवार उठाउने निर्णयसमेत गरियो । सोही आधारमा क्षेत्र नं. २ बाट मैले प्रस्तावकको भूमिका लिएपछि महेश्वर दाहालको उम्मेदवारी दर्ता भयो, जुन जिल्ला संयोजक पानीराज बम्जन समर्थक बसेर सम्पन्न गरिएको थियो ।
आज मैदानमा मूलतः दुई धार स्पष्ट छन– जिल्ला पार्टी कार्यदलको निर्णयअनुसारको उम्मेदवारी र केन्द्रबाट थोपरिएको उम्मेदवारी । यो व्यक्ति चयनको विवाद होइनः विधि र स्वेच्छाचारिताबीचको प्रत्यक्ष टकराव हो ।
ऐतिहासिक सन्दर्भ र राजनीतिक सन्देश
यो अवस्थालाई महाभारतको युद्धपूर्वको अवस्थासँग तुलना गर्न सकिन्छ । युधिष्ठिरले पाँच भाइ पाण्डवका लागि पाँच गाउँ मात्र माग्दा पनि दुर्योधनले ‘सियोको टुप्पोबराबर जमिन पनि दिन्नँ’ भन्ने अहङ्कार देखाएपछि अन्यायविरुद्ध न्यायको पक्षमा समाज उभिएको प्रसंग स्मरणीय छ । अन्ततः सत्यको विजय भयो र अन्यायको पतन भयो ।
आज वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला, डा. विद्यानाथ कोइराला र घनश्याम भूसाल जस्ता व्यक्तित्वहरूले सार्वजनिक रूपमा बोल्नुपर्ने अवस्था सिर्जना हुनु आफैँमा गम्भीर संकेत हो । इतिहासको सन्देश स्पष्ट छ– शक्ति दुरुपयोग टिकाउ हुँदैन । इतिहासको जगमा उभिएको वर्तमान र भविष्यले अन्ततः हिसाबकिताब गर्छ ।
नेपाल र चिनियाँ कम्युनिस्ट आन्दोलनमा पनि यस्ता संघर्ष नयाँ होइनन् । पुष्पलाल श्रेष्ठको वैचारिक सङ्घर्ष होस् वा चिनियाँ कम्युनिस्ट पार्टीभित्रको संघर्ष, अन्ततः सन् १९३५ मा माओत्से–तुङ र २०२५ सालमा पुष्पलाल पुनः स्थापित भए। यसले विचार र विधिको पक्षमा उभिने नेतृत्व अन्ततः टिक्ने देखाउँछ । यसको विपरीत विचार, विधि र पद्धतिविरुद्ध उभिने नेतृत्वको पतन पनि अवश्यम्भावी हुन्छ, जसको उदाहरण केशरजङ्ग रायमाझीको राजनीतिक अवसान हो ।
निष्कासन र विधिको प्रश्न
म र महेश्वर दाहाललाई गरिएको निष्कासन तथा बुद्धिमान माझी र पानीराज बम्जनलाई जिम्मेवारीबाट हटाउने निर्णयले अर्को गम्भीर प्रश्न उठाएको छ । विधि–पद्धतिको भाषण गरेर नथाक्ने माधव नेपालको अवस्था टिठलाग्दो देखिन्छ, र प्रचण्डको शैली दुर्योधनको अडानभन्दा कम प्रतीत हुँदैन ।
बिनास्पष्टीकरण निष्कासन गर्ने अधिकार कुन विधानको कुन धाराले दिएको हो ? पार्टीबाट निष्कासन गर्ने अधिकार संयोजक–सहसंयोजकलाई छ कि केन्द्रीय समितिलाई ? प्रश्न गम्भीर बनेको छ ।
अनधिकृत निष्कासनको कारबाही फिर्ता लिन र मापदण्डविपरीत गरिएको उम्मेदवार चयन सच्याउन माग राखेर संयोजक र सहसंयोजकलाई मैले पठाएको पत्रको जवाफ अझै आएको छैन । पार्टीलाई निजी कम्पनीझैँ सञ्चालन गर्ने प्रवृत्तिले खतरनाक दिशातर्फ सङ्केत गर्दछ । बुद्धिमान माझी र पानीराज बम्जन केन्द्रीय सदस्य हुँदा बागमती प्रदेश कमिटीले उहाँहरूलाई जिम्मेवारीबाट हटाउने अधिकार राख्छ कि राख्दैन? यो पनि स्पष्ट हुनुपर्ने विषय हो ।
यदि व्यक्तिको इच्छालाई नै विधान मान्ने हो भने त्यो संगठन होइन, जंगली शासनको अभ्यास हो । यस्तो प्रवृत्तिले पार्टीलाई मात्र होइन, गणतन्त्र र लोकतान्त्रिक मूल्यकै उपहास गर्छ ।
विद्रोहको पृष्ठभूमि र व्यापक संकेत
विद्रोह पार्टीभित्रको होस् वा बाहिरको– त्यो सधैँ परिस्थितिजन्य हुन्छ । राजनीतिक विस्फोटका सामग्रीहरू लामो समयदेखि थुप्रिँदै आएको असन्तोष र आक्रोशको परिणाम हुन्छन् । सिन्धुलीको घटना पनि त्यसैको प्रतिफल हो– टिकट वितरणको सन्दर्भमा प्रकट भएको असन्तोषको प्रतीकात्मक विस्फोट। पार्टीले समयमै संवाद र समाधान खोजेको भए यस्तो अवस्था आउँदैनथ्यो ।
सिन्धुलीमै विद्रोह किन उत्कर्षमा पुग्यो भन्ने प्रश्नको विश्लेषण हुँदै जाला, तर यसले एउटा सन्देश भने स्पष्ट दिएको छ, स्वेच्छाचारिता, परिवारवाद र विकृति–विसंगतिप्रति देश–विदेशमा रहेका नेता–कार्यकर्ताको आक्रोश अब दबाएर राख्न सकिने अवस्थामा छैन ।
निष्कर्ष ः विचार, विधि र रूपान्तरणको लडाइँ
विचार र विधिको प्रश्न एमाले–माओवादी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माणकालदेखि नै उठ्दै आएको हो । आजको संघर्ष व्यक्ति वा पदका लागि होइन; विचार, विधि, मूल्य र राजनीतिक नैतिकताका लागि हो । समयमै उपचार र सुधार भए पार्टी सङ्गठन बलियो हुन्छ; नभए पतनको गति तीव्र हुन्छ । यतिखेर नेतृत्वले सत्यलाई तोडमोड गरेर प्रस्तुत गरिरहेको देखिए पनि इतिहासको अर्को सत्य पनि उत्तिकै स्पष्ट छ– सत्य र विधिको पक्षमा उभिनेहरू अन्ततः पराजित हुँदैनन् ।
यो वैचारिक विद्रोहको पहल प्रचण्डसँगका विभिन्न चरणका अन्तरविरोध तथा मोहन वैद्य, सीपी गजुरेल, रामबहादुर थापा, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला, ईश्वरी दाहाल (असारे काका), बाबुराम भट्टराई, विश्वभक्त दुलाल (आहुति), घनश्याम भुसाल र जनार्दन शर्मा–राम कार्कीसम्म आइपुग्दा प्राप्त अनुभव र शिक्षाबाट निष्कर्ष निकाल्दै अघि बढेको हो ।
साथै ‘पर्ख र हेर’ को नीति अवलम्बन गर्दै भूमिका निर्वाह गरिरहेका लोकेन्द्र विष्ट, कुमार दाहाल, रमेश गुरागाईं र विनोद दाहाललगायत कमरेडहरूको सुझावलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै पार्टीलाई नयाँ सिराबाट रूपान्तरण गर्ने तथा समग्र कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र ध्रुवीकृत गर्ने सङ्कल्पमा यो अभियान आधारित रहनेछ ।
पार्टी छाडेर होइन, ग्राहकबिनाको पसल खोलेर होइन, माओ र पुष्पलालका विचारका अनुयायी बनेर विजयको झन्डा गाडिनेछ । अनलाइन खवारबाट साभार ।