सिन्धुली निर्वाचन क्षेत्र नं. २ को उम्मेदवारी तथा म र महेश्वर दाहाललाई नेपाली कम्युनिस्ट पार्टीबाट गरिएको निष्कासनको विषय आज राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ । सतहमा हेर्दा यो विषय उम्मेदवारी (टिकट) वितरणसँग मात्र सम्बन्धित देखिए पनि, यसको वास्तविक अन्तर्वस्तु पार्टी नेतृत्वको विचार, राजनीतिक दृष्टिकोण, निर्णय–प्रक्रिया, कार्यशैली र आचरणसँग प्रत्यक्ष रूपमा गाँसिएको छ ।
यो कुनै एक व्यक्तिको व्यक्तिगत असन्तुष्टि होइन, न त पद वा अवसर गुमाएको पीडाको अभिव्यक्ति मात्र हो । पार्टीलाई निजी सम्पत्तिजस्तो ठान्ने स्वेच्छाचारी, आत्मकेन्द्रित र उत्तरदायित्वविहीन नेतृत्व प्रवृत्तिविरुद्ध उठेको नेतृत्व–पङ्क्ति र सचेत कार्यकर्ताहरूको सामूहिक आवाज हो ।
विचार र राजनीतिलाई केन्द्रमा राखेर यो विद्रोह व्यवस्थित रूपमा कसैले न कसैले उठाउनै पर्ने ऐतिहासिक अनिवार्यता थियो । अनिवार्यता र आकस्मिकताको यही द्वन्द्ववाद सिन्धुली जिल्लामा व्यक्त भएको हो ।
जसरी जेनजी आन्दोलन सतहमा सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध केन्द्रित देखिए पनि, यसको वास्तविक अन्तर्वस्तु राजनीतिक दलहरूभित्र झाँगिँदै गएको विकृति–विसङ्गति, विशेषतः एमाले–काँग्रेसको दुई तिहाइ बहुमतबाट जन्मिएको अहंकार र ज्यादतीविरुद्धको युवाहरूको विद्रोह थियो, त्यसैगरी महेश्वर दाहालको उम्मेदवारीको प्रश्न पनि व्यक्तिगत असन्तुष्टि वा अवसर गुमाएको पीडाभन्दा धेरै माथि उठेको विषय हो ।
यो पार्टीको वैचारिक स्पष्टता, राजनीतिक दिशा र समग्र कम्युनिस्ट आन्दोलनको भविष्यसँग जोडिएको गम्भीर प्रश्न हो– जहाँ विचार र स्वाभिमान दुवै दाउमा छन् ।
समस्याको जरो
यस समस्याको जरो २०७९ सालको निर्वाचन प्रक्रियासँग गाँसिएको छ । त्यसबेला ‘सिन्धुली निर्वाचन क्षेत्र नं. २ मा तपाईं हार्नुहुन्छ, त्यसैले टिकट नदिइएको’ भन्ने तत्कालीन अध्यक्ष प्रचण्डको भनाइ वस्तुगत राजनीतिक मूल्यांकन, संगठनात्मक आधार र जनसमर्थनलाई पूर्ण रूपमा बेवास्ता गरेर गरिएको निष्कर्ष थियो ।
यो निष्कर्ष अवैज्ञानिक मात्र होइन, राजनीतिक रूपमा अपमानजनक पनि थियो । एक्लै प्रतिस्पर्धा गर्दा पनि जित्ने सम्भावना रहेको व्यक्तिलाई गठबन्धनमा चुनाव लड्दा निश्चित हार्ने ठहर गर्नु नेतृत्वको आत्मकेन्द्रित सोच र पूर्वाग्रहको स्पष्ट द्योतक हो ।
मैले तत्कालै यस निर्णयको प्रतिवाद गर्दै स्पष्ट शब्दमा भनेँ, “यदि यस्तो भनाइ तपाईंको व्यक्तिगत धारणा होइन भने पदाधिकारीको आकस्मिक बैठक बोलाएर औपचारिक निर्णय गरियोस ः अन्यथा म यस अपमानको कडा राजनीतिक प्रतिवाद गर्छु ।╞
तर त्यसपछि पनि निर्णय–प्रक्रियालाई सामूहिक बनाउने कुनै गम्भीर प्रयास गरिएन । परिणामस्वरूप, निर्वाचन अवधिभर तराई–मधेशका पर्सादेखि झापासम्म पुगेर पार्टीका उम्मेदवारहरूलाई सहयोग गरेँ, तर सिन्धुलीमा मतदान गर्न मात्र पुगेँ ।
यससँग सम्बन्धित सम्पूर्ण घटनाक्रमको समग्र मूल्याङ्कन गर्दा म यस निष्कर्षमा पुगेँ कि यो विषय टिकट नदिएको सीमित प्रश्न मात्र होइन । यसको मूल कारण नेतृत्वको विचार र चिन्तन प्रणालीमै निहित छ, जुन क्रमशः प्रतिशोधमुखी, स्वेच्छाचारी र असहमतिका आवाजप्रति असहिष्णु बन्दै गएको छ ।
यही प्रवृत्तिको राजनीतिक प्रतिवाद आवश्यक ठानेर मैले निर्वाचनपछिको पदाधिकारी बैठकमा सात पृष्ठको सात बुँदे प्रस्ताव औपचारिक रूपमा दर्ता गराएँ। तत्काल यो प्रस्ताव सार्वजनिक गरिनँ, तर पार्टीबाट निष्कासन गरिएको वर्तमान अवस्थामा यसलाई बाहिर ल्याउनु अपरिहार्य ठानेको छु ।
यो दस्तावेज कुनै व्यक्ति वा पदविरुद्ध लक्षित छैन । यो सात बुँदे प्रस्ताव पार्टीभित्र मौलाउँदै गएको वैचारिक रिक्तता, व्यक्तिकेन्द्रित निर्णय प्रणाली र जनवादी अभ्यासको क्षयविरुद्धको गम्भीर राजनीतिक चेतावनी हो ।
२०८२ सालको संघीय निर्वाचनको पृष्ठभूमि
आजभन्दा करिब एक महिनाअघि म १ नं. (कोशी) प्रदेशमा रहँदा पार्टी संयोजक प्रचण्डले मलाई फोन गर्नुभयो । उहाँको प्रश्न थियो, “तपाईं चुनाव लड्ने कि नलड्ने ? लड्ने भए १ नं. प्रदेशको इन्चार्ज छाडेर बागमतीमा आउनुस् । त्यहाँ राजेन्द्र राईलाई इन्चार्ज बनाउनु प¥यो ।”
जवाफमा मैले माओवादी केन्द्रको पदाधिकारीको अन्तिम बैठकमा पेस गरेको चार बुँदे लिखित प्रस्ताव स्मरण गराएँ । उक्त प्रस्तावको मूल मर्म जेनजी आन्दोलनको स्पिरिटअनुसार यसपटकको संघीय निर्वाचनमा प्रधानमन्त्री, मन्त्री तथा संघीय सांसद भइसकेकाहरूलाई पुनः उम्मेदवार नबनाई नयाँलाई अघि सार्नुपर्छ भन्ने थियो ।
साथै मैले स्पष्ट रूपमा भनेँ, ‘निर्वाचनको तयारी र उम्मेदवार छनोट निर्णायक चरणमा प्रवेश गरिसकेको अवस्थामा प्रदेश इन्चार्जको जिम्मेवारी छाडेर अन्यत्र लाग्नु कुनै पनि दृष्टिले उचित हुँदैन । चुनावी मोर्चाको अन्तिम तयारी भइरहँदा एकथान सांसदको पछि लाग्नु सङ्गठनात्मक दायित्वप्रति उदासीनता ठहर्छ ।”
अहिले फर्केर हेर्दा नेतृत्वले उक्त संवाद राम्रो मनसायले गरेको रहेनछ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ ।
यसपछि काठमाडौँमा पटक–पटक भेटघाट त भयो, तर ती भेटहरूमा मैले चुनाव लड्ने वा नलड्ने विषयमा न औपचारिक न अनौपचारिक कुनै छलफल भयो । यत्तिकैमा संघीय निर्वाचनको टिकट वितरणको ठीक पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत सिन्धुली निर्वाचन क्षेत्र नं. १ का लागि जिल्ला कार्यदलले सिफारिस गरेका राजन दाहालले क्षेत्र नं. २ को टिकट पाइसकेको जस्तो गरी सामाजिक सञ्जालमा बधाईको ओइरो लाग्न थाल्यो । यसले सरोकारवाला सबैलाई सशंकित गरायो ।
संयोजकसँगको स्पष्ट संवाद
यसै सन्दर्भमा मैले संयोजक प्रचण्डसँग छुट्टै भेटेर स्पष्ट धारणा राखेँ । मैले भनेँ, “यदि यसरी निर्णय गरियो भने यो विधि–पद्धतिको दृष्टिले मात्र होइन, निर्वाचन परिणामका हिसाबले पनि उपयुक्त हुँदैन । राजन दाहालप्रति सिन्धुली निर्वाचन क्षेत्र नं. २ का नेता–कार्यकर्ता र जनतामा गहिरो असन्तुष्टि छ । ठूलो संख्यामा कार्यकर्ता र प्रतिबद्ध जनता पार्टी छाडेर अन्य दलतर्फ गइसकेका छन्, जसका कारण हामी सबै लाग्दा पनि अनुकूल चुनावी माहोल सिर्जना गर्न कठिन देखिन्छ ।”
मैले थप स्पष्ट गर्दै भनेँ, “सिन्धुली निर्वाचन क्षेत्र नं. १ का लागि उपयुक्त पात्रका रूपमा कार्यदलले राजन दाहालको नाम सिफारिस गरेको हो, त्यसलाई यथावत् राखौँ । तर क्षेत्र नं. २ का लागि कार्यदलले सिफारिस गरेका उम्मेदवार पानीराज बम्जन वा महेश्वर दाहालमध्ये कुनै एकलाई टिकट दिनु नै यथार्थपरक र व्यावहारिक हुन्छ । दुवै निर्वाचन क्षेत्रबाट जित निकाल्ने जिम्मेवारी म लिन तयार छु । मेरो नाम पनि क्षेत्र नं. २ मा तपाईंपछि दोस्रो नम्बरमा सिफारिस भएकाले उम्मेदवार टुङ्ग्याउन कठिन हुने भयो भने पार्टीले निर्णय गरेमा म तयार हुन सक्छु, तर मेरो प्राथमिकता पानीराज बम्जन र महेश्वर दाहाल नै हुन् ।”
यति स्पष्ट तथ्य हुँदाहुँदै ‘सिन्धुली–२ नं. क्षेत्रमा हरिबोल गजुरेल उम्मेदवार हुन नमानेपछि समस्या आयो भन्ने भ्रम सिर्जना गरेर दिनलाई रात बनाउने प्रयास भइरहेको छ । यस प्रकारको गोयबल्स शैली भविष्यमा प्रयोग नगर्न म गम्भीर रूपमा सावधान गराउन चाहन्छु ।
जनवादको उपहास र जिल्ला पार्टीको प्रतिवाद
जिल्ला कार्यदल संयोजक र क्षेत्र नं. २ का लागि सिफारिस गरिएका उम्मेदवारहरूसँग कुनै सल्लाह त परै जाओस्, सामान्य जानकारीसमेत नदिई राजन दाहालको हातमा टिकट थमाउनु जनवादी केन्द्रीयताको खुला उपहास हो । यही अपमानको प्रतिवादस्वरूप ५ माघ २०८२ माघ मा जिल्ला कार्यदलको बैठक बस्यो । बैठकले निर्णय सच्याउन केन्द्रसँग आग्रह गर्ने र त्यसलाई गम्भीरतापूर्वक नलिए जिल्लाको तर्फबाट बागी उम्मेदवार उठाउने निर्णय ग¥यो ।
त्यही निर्णयका आधारमा जिल्ला कार्यदलले सिफारिस गरेका उम्मेदवारहरूमध्ये महेश्वर दाहालले ‘मुढा’ चिन्ह लिएर उम्मेदवारी दिनुभयो । उक्त उम्मेदवारीमा हरिबोल गजुरेल प्रस्तावक र जिल्ला पार्टी अध्यक्ष पानीराज बम्जन समर्थक हुनुको कारण स्पष्ट छ यो विषय केन्द्रीय नेतृत्व, पार्टी नीति र मसँग प्रत्यक्ष रूपमा गाँसिएको ,थियो ।
संघर्षको अर्थ
नेपाली कम्युनिस्ट पार्टीमा राजन दाहालबाहेक सिन्धुलीमा हैसियत भएका अरू नेता छैनन् भन्ने भाष्य निर्माण गर्ने षड्यन्त्रविरुद्ध जिल्ला पार्टीले थालेको यस संघर्षमा मैले अभिभावकत्व लिन आवश्यक ठानेर साथ दिएको हुँ। यसका केही महत्त्वपूर्ण पाटो समयक्रममा अझ स्पष्ट हुँदै जानेछन् ।
सिन्धुली जिल्ला पार्टीभित्र लामो समयदेखि केन्द्रीय नेतृत्वसँग जोडिएको अन्तरसंघर्षको संश्लेषणले मूल नेतृत्वमा रूपान्तरण सम्भव छ, छैन भन्ने कुरा स्पष्ट हुनेछ । तर अब समय साँघुरिँदै गइरहेको छ ।
आज म र महेश्वर दाहाल पार्टीबाट निष्कासित छौँ । तर हाम्रो यो विद्रोह कुनै व्यक्तिगत आकांक्षा होइन, यो पार्टी रूपान्तरण गर्ने प्रयासको एउटा कडी हो । २०६४ सालको संविधानसभा निर्वाचनमा २३८ सिट जितेको पूर्व माओवादी २०७९ सालको संघीय निर्वाचनमा काँग्रेससँग गठबन्धन गर्दा ३२ सिटमा सीमित हुनु देशी–विदेशी प्रतिक्रियावादीका कारणभन्दा बढी पार्टी र नेतृत्वका गलत क्रियाकलापको प्रतिफल हो । अनलाइन खवरबाट साभार ।