क्रान्तिकारी साथिहरूले सिन्धुली –२ मा उठाएको बिद्रोहको झन्डा लाई यतिखेर निर्वाचनको माहोल तातिरहेको बेला चियापसल देखि सामाजिक सञ्जाल सम्म एउटा रमिता देख्न पाइन्छ । यो रमितामा सबैभन्दा बढी सक्रिय र ’आक्रामक’ उही वैचारिक स्खलित व्यक्तिहरू, चरम अवसरबादी र आत्मसमर्पण बादीका भरौटेहरू देखिन्छन् । विशेष गरी आत्मसमर्पण वादीका भरौटेहरूमा देखिएको एक प्रकारको छटपटी, गालीगलौज र बिद्रोहि शक्तिप्रतिको चरम असहिष्णुताले सिन्धुली –२ मा राजनीतिको एउटा कुरुप तर मनोवैज्ञानिक पाटो उजागर गरेको छ ।
यो छटपटी कुनै राजनीतिक दर्शनको रक्षाका लागि होइन, बरु राज्यकोषबाट दोहन गर्न नपाउने स्वतन्त्रताको भय बाट उब्जिएको पराजित मानसिकता हो ।
कथित नेतृत्वको ओत र अनिश्चितताको डर देखिएकोछ । ’ राज्यकोषको दोहनको जिम्मेवारी’ र ’अनिश्चितता’ देखि उ डराएको छ । केही समयदेखि एउटै अधिनायकत्वको छहारीमा बसेका, त्यहीँको सत्ता र शक्तिको सानो अंश चाखेका आत्मसमर्पण वादी र उसका आसेपासेको लागि आज सिन्धुली –२ मा नयाँ बिद्रोहको उदय हुनु भनेको उनीहरूको अस्तित्व संकटमा पर्नु हो। उनीहरूलाई डर छ यदि पुराना संजाल भत्किए भने उनीहरूको परिचय के हुने ?
त्यसैले, उनीहरू सिन्धुली –२ का बिद्रोही उम्मेदवार र बिद्रोही साथिहरूको नीति वा एजेन्डामा बहस गर्नुको साटो व्यक्तिगत टीका–टिप्पणी र खिसीटिउरीमा उत्रिएका छन् । यो उनीहरूको शक्ति होइन, बरु भित्रभित्रै खिइँदै गएको आत्मविश्वासको उपज हो ।
शक्तिको छहारीमा आत्मसमर्पण गर्ने व्यक्ति सत्यको सामना गर्न सक्दैन, उसले शक्ति अगाडि आफ्नो नैतिकता लाई विलय गराइदिएका हुन्छ । आज आत्मसमर्पण वादी र उसका भरौटेहरूले आफ्नो विवेक र नैतिकतालाई नेतृत्व शक्ति सामु पाउमा बुझाएका छन् । उनीहरूलाई थाहा छ, उनीहरूको नेतृत्वले गल्ती गरिरहेको छ, पार्टीको दुर्गतिमा उनीहरूको पनि हिस्सा छ । तर, विद्रोह गर्ने आँट उनीहरूमा छैन ।
बरु, नेतृत्वको सबै गल्तीहरूलाई ’पार्टीको निर्णय’ वा ’महान् सिद्धान्त’ को खोल ओढाएर चोख्याउने प्रयासमा उनीहरू तल्लीन छन् । यो सामूहिक आत्मसमर्पणले उनीहरूलाई एक प्रकारको झूटा सुरक्षा त दिन्छ, तर उनीहरूको मौलिक सोच आत्मसम्मानलाई पूर्ण रूपमा समाप्त पारिदिन्छ ।
जो मानिस आफ्नो नेतृत्व गलत हुँदाहुँदै पनि त्यसैलाई सही सावित गर्न जीवन खर्चिन्छ, उसको जीवनको अन्त्य ’पीडा, भय र आक्रोश’ मा हुन्छ । निर्वाचनको परिणाम जे–जस्तो आए पनि, आफ्नै विवेकलाई बन्धक राख्ने आत्मसमर्पण वादि र उसका भरौटेहरूको अनुहारमा अहिले देखिने ’आक्रोश’ त्यसैको संकेत हो ।
यथार्थलाई स्वीकार गर्न नसक्नु र पुरानो जर्जर भत्कन लाग्दा अत्तालिनु मानवीय स्वभाव हुन सक्छ, तर विवेकशील मानिसले समयको पदचाप बुझ्न जरुरी छ ।
निर्वाचन केवल प्रतिनिधि चुन्ने प्रक्रिया मात्र होइन, यो कार्यकर्ताहरूका लागि आफ्नो नेतृत्वको दासत्वबाट मुक्त हुने अवसर पनि हो । गल्तीलाई गल्ती र सहिलाई सहि भन्न नसक्ने कार्यकर्ताहरू अन्ततः इतिहासको रद्दीटोकरीमा मिल्किनेछन् । आफ्नो नेतृत्वले गरेका अपराध र अक्षमता लाई ’महानता’ को जलप लगाउन छोडेर ऐना हेर्ने साहस गर्ने हो कि ? नत्र निर्वाचन पछिको समय केवल पछुतो र आक्रोशको एउटा लामो श्रृंखला मात्र बन्नेछ ।
लाल सलाम !
जय स्वभिमान !!
जय आत्मसम्मान !!!
(लेखक नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन)